जनकपुरधाम : कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममै निषेधाज्ञा जारी गर्नुपरेको छ। सोमबार मध्याह्नबाट निषेधाज्ञा जारी भएपछि जनकपुरधाम बजार क्षेत्र यतिबेला सुनसान छ।
जनकपुरधाममा जहिल्यै भिडभाड हुन्छ। झन् प्रदेश २ को अस्थायी राजधानी भएदेखि चहलपहल ह्वात्तै बढेको छ। तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले जानकी मन्दिर पनि सुनसान बनेको छ। मन्दिरको ढोका बन्द गरिएको छ। सर्वसाधारण मन्दिर बाहिरैबाट पूजापाठ गर्न थालेका छन्।
मुख्यमन्त्री र मन्त्रीहरुको निवास तथा मन्त्रालय रहेको मधेस भवनमा समेत आज चहलपहल देखिएको छैन। मुख्यमन्त्री कार्यालयका चार कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि भएपछि कर्मचारी बाहेकलाई मधेस भवनमा प्रवेश रोकिएको छ।
मन्त्रालय वा निवासबाट फोन आएपछि मात्र कर्मचारी बाहेकलाई भित्र प्रवेश गर्नदिने भनेर निर्देशन आएको सुरक्षार्थ खटेका एक प्रहरीले बताए। जनकपुरधाम बजारका अधिकतम पसल बन्द छ। पेट्रोल पम्प, खाद्यान्न पसल र औषधि पसलहरु मात्र खुला छन्। खुलेको पसलहरुमा भने सुरक्षा सतर्कता अपनाइएको देखिँदैन। साना होटलहरु मात्र बन्द भएको छ। केही बैंक तथा वित्तीय संस्थाहरु पनि संचालनमा रहेको छ।
प्रादेशिक अस्पतालका दुई डाक्टरसहित १८ जनामा कोरोना पुष्टि भएको र निषेधाज्ञा जारी भएपछि अस्पताल क्षेत्रमा भिडभाड कम भएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।