|

डडेल्धुरा : हिलाम्य ग्रामीण सकड। हिलोमा फस्नै लागेको मोटरसाइकल। टाउकोमा हेलमेट, कानमा मोबाइल र घाँटीमा झुण्ड्याएको ‘स्याम्पल कलेक्सन’ गर्ने भाँडो (क्यारियर बक्स)।

यो दृश्य डडेल्धुराको नवदुर्गा गाउँपालिकाको पोखरा–बेलापुर सडक खण्डको हो। हिलाम्य सडकमा मोटरसाइकल कुदाउने व्यक्ति हुन् स्वास्थ्यकर्मी प्रेम साउँद।

उनी नवदुर्गास्थित चामा स्वास्थ्य चौकीमा कार्यरत छन्। देशमा कोरोना संक्रमणको जोखिम बढेसँगै पहाडी जिल्लाका स्वास्थ्यकर्मीले हिलो, पहिरो र बाढीको जोखिम मोलेर काम गर्दै आइरहका छन्। यसैको एक उदाहरण हुन् साउँद।

ग्रामीण क्षेत्रका कच्ची हिलाम्य सडकमा एक्लै खाली हात हिँड्न त हम्मेहम्मे हुन्छ भने फोर आइस प्याक क्यारियर बक्सभित्र कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाबलाई घाँटीमा झुण्ड्याएर हिँड्नुपर्ने यहाँका स्वास्थ्यकर्मीको रहर होइन बाध्यता छ।

केही दिनअघि नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी साउँद हिलाम्य सडकमा जोखिम मोलेर ४७ जनाको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन्।

संकलन गरिएको स्वाब राख्न गाउँपालिकामा आइस प्याक अथवा डिप फ्रिज नभएको र सबै स्थानमा स्वाब राख्न नसकिने हुँदा जोखिम मोलेरै भए पनि डडेल्धुरा अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको साउँद बताउँछन्।

एक जना ल्याब असिस्टेन्टको भरमा नवदुर्गा गाउपालिका ५ वटै वडामा स्वास्थ्यकर्मी साउँदले स्वाब संकलन गर्दै आएका छन्। आइतबार मात्रै उनले वडा नं. ४ मा १९ जनाको स्वाब संकलन गरेका छन्। गाउपालिका सबै वडामा स्वास्थ्यकर्मी भए पनि नवदुर्गा गाउँपालिकाको स्थानीय व्यक्ति भएकाले स्वाब संकलनका लागि उनी सबै वडामा पुग्ने गरेका छन्। 

उनले भने, ‘जागिर खाएको पनि ७÷८ वर्ष भयो। नवदुर्गा गाउँपालिकाकै स्थानीय भएकोले सबै वडामा स्वाब संकलनका लागि सहयोग गरिरहेको छु।’

साउँद कार्यरत नवदुर्गा गाउँपालिका ५ स्थित चामा स्वास्थ्य चौकीमा रहे पनि उनले केही दिनअघि हिलोमा जोखिम मोलेर बोक्दै गरेको स्वाव भने मणिलेक स्वास्थ्य चौकीमा संकलन गरिएको थियो। 

वर्षातको समयमा सडकहरु जम्मै हिलाम्य अवस्थामा रहेका छन् सबै ठाँउमा एम्बुलेन्स जान सक्ने अवस्था छैन। त्यसकारणले पनि संकलन गरिएको स्वावलाई जसरी पनि डडेल्धुरा अस्पताल पु¥याउनुपर्ने हुन्छ। वर्षा निरन्तर भइरहेको छ। बाटाघाटा हिलाम्य छन्। जस्तोसुकै अवस्था भए पनि संकलित स्वाब डडेल्धुरा अस्पताल पुर्‍याउनु नै पर्ने हुन्छ।

‘कयौं स्थानमा मोटरसाइकल हिलोमा फस्दा अन्य व्यक्तिसँग सहयोग मागेर हिलोबाट पार गराउनुपर्ने हुन्छ यो सबै गाउँपालिकाभित्र कोरोना संक्रमण फैलिन नदिन लागि परिरहेको छु,’ उनले भने, ‘१०/१२ वर्ष पहिले घर छोडेर कोही बसाइँ सरेका त कोही भारतमा नोकरी गरी उतै बसोबास भएका व्यक्ति पनि कोरोनाका कारण गाउँ फर्किएका छन्। उनीहरुका घरहरु जीर्ण अवस्थामा रहेका छन्। अरुको घरमा बास बसाउदा कोरोना संक्रमण हुने डर भएकाले पनि जतिसक्दो चाँडो स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरेका छौं।’

‘केही पहिले स्वाब संकलन गर्ने भनियो, तर पिपिसेट लगाएर स्वाब संकलनका लागि तयार भएको थिएँ, तर प्रशासनले रोक्न लगाएको कुराप्रति चित्त दुखेको छ,’ गुनासोसमेत साउँदले गरे।

‘क्वारेन्टाइन बसेको सात दिनपछि मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भन्ने जानकारी समयमै नगराउँदा आफूले लगाएको पिपिसेट खोल्नुपर्यो’, उनले थपे, ‘तर आजभोलि भने क्वारेन्टाइनमा ७ दिन पुगेका व्यक्तिको मात्रै स्वाब संकलन गर्ने गरेका छौं।’

स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार नवदुर्गा गाउँपालिकामा ५८ जना संक्रमित छन्। जसमध्ये ५६ जना डिस्जार्च भइसकेका छन्। त्यहाँ सक्रिय संक्रमितको संख्या २ छ।

फोटो । संकलन गरिएको स्वाब मोटरसाइकमार्फत ढुवानी गर्दै स्वास्थ्यकर्मी साउँद।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.