पहाडी जिल्लामा भारी बर्षा : मौसम विभाग

|

कैलाली : सुदूरपश्‍चिम प्रदेशका पहाडी जिल्लाहरुमा मंगलबार रातिदेखि परेको अविरल वर्षाले ठूलो धनजनको क्षति गरेको छ। प्रदेशका अछाम, बाजुरा र बझाङमा बाढी पहिरोबाट बुधबार २ बजेसम्म १० जनाको मृत्यु भएको छ। १२ जना भन्दा बढी बेपत्ता भएका छन्।

भदौको सुरुमै पहाडी जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरो र नदी कटानका घट्ना बढ्दै गइरहेका छन्। अत्यधिक वर्षाका कारण सुदूरपश्चिममा ठूलो  जनधनको क्षति भएको छ।

अछाम

अछामको रामारोशन गाउँपालिका-५ कैलाश खोलाको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ। गाउँपालिका-५ सैनिबजारबाट बेपत्ता भएका १७ जना मध्ये ६ जनाको शव फेला परेको र बाकी ११ जना बेपत्ता रहेको सुदूरपश्‍चिम प्रहरी प्रवक्ता (एसएसपी) मुकेश सिंहले जानकारी दिए।

हराएका मध्ये ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा र दुई जनाको शव मंगलसेन नगरपालिका-३ लमतणा र सेरीमा भेटिएको एसएसपी सिहंले बताए। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहातको लागी नेपाली सेनाको हेलीकेप्टर सुर्खेतबाट घटना स्थल पुगेको छ। 

बझाङ

मंगलबार रातिको भारी वर्षासँगै आएको पहिरोमा परेर बझाङमा दुई जनाको मत्यु भएको छ। जिल्लाको बुगंल नगरपालिका-५ मिडीमा आएको पहिरोमा दुई जनाको मृत्यु र तीनजना घाइते भएको प्रदेश प्रहरी प्रवक्ता सिहंले जानकारी दिए। 

मृत्यु हुनेमा स्थानीय १४ वर्षीय सचिन ताम्राकार र बुगंल नगरपालिका-४ का दमन ओखेडा रहेका छन्। 

बाजुरा

मंगलबार रातिको अविरल बर्षाकै कारण बाजुरामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका-१ का मीनबहादुर बुढाकी ३ वर्षीय छोरी सुमिका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको छ। 

उनकी ५ वर्षीया दिदी बिनिता बुढा र ६५ वर्षीया हजुरआमा नन्दादेवी बुढा घाइते प्रहरीले जनाएको छ। 

यस्तै बुढीनन्दा नगरपालिका बढीगाढ खोलामा आएको बाढीमा बगेर नगरपालिका-६ की ७५ वर्षीया भिनु लुहारको मृत्यु भएको छ। जिल्लाको उत्तरी क्षेत्रमा बाढीले ठुलो धन जनको क्षति गरेको छ। 

पहाडी जिल्लामा भारी बर्षा

मंगलबार साँझदेखि सुदूरपश्‍चिमका विभिन्न भागमा परेको वर्षाको आँकडा हेर्दा सबैभन्दा बढी पानी अत्तरीया (७७.३ मिलिमिटर) मा परेको छ। डडेल्धुरामा (३२ मिलिमिटर) र डोटीमा (६८.१६ मिलिमिटर) वर्षा भएको तथ्याङ्क छ। 

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान फिल्ड कार्यालय अत्तरियाका सहायक प्रमुख सिगंल चौधरीका अनुसार गएराति सुदूरपश्‍चिमा पहाडी जिल्लाहरुमा भारी बर्षा भएको छ। 

‘पहाडी जिल्लाहरुमा नेटवर्कको समस्या भएकोले तथ्याङ संकलन गर्न सकेका छैनौँ, मनसुन नसकिएकोले बर्षा बढ्दै गएको हो,’ उनले भने, ‘समग्र बर्षा आँकडा केही कम भए पनि पहाडी जिल्लाहरुमा बढेको अनुमान गर्न सकिन्छ।’ 

चौधरीले मनसुन सकिन दुई साता लाग्ने भएकोले सचेत रहन आग्रह गरे।  विश्वव्यापी जलवायु परिवर्तनका कारण बिस्तारै जलवर्षाको समय चक्र पनि परिवर्तन हुन थालेको छ। पहिले साउनको प्रारम्भतिर पर्ने ‘मध्य वर्षा’ अब साउनको अन्त्यबाट बल्ल सुरु भएर भदौमा हुने गरेको छ। केही वर्षयता बाढी, पहिरो र डुबानका घटना साउनको अन्त्यदेखि भदौ १५ का बीचमा हुँदै आएका छन्। 

सुदूरपश्‍चिमका तराईका जिल्ला कैलाली कञ्चनपुरमा साउनको मध्यतिर आएको बाढीले ठुलो धनजनको क्षति गरेको थियो। कैलालीको भजनीमा तीनजनाको बाढीले बगाएर ज्यान गएको थियो भने सयौं परिवार विस्थापित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.