मंसिर ४ को सहमतिमा टेकेर अघि बढ्ने गरी सुझाव

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले बनाएको कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिँदैछ। साताअघि बनाइएको कार्यदल विवाद समाधानका उपायसहितको सुझाव दिने गरी प्रतिवेदन लेखनमा जुटेको छ। 

तर महासचिव विष्णु पौडेल नेतृत्वको उक्त कार्यदलले अझै केही विषय टुङ्ग्याउन बाँकी रहेको कार्यदल सदस्य जनार्दन शर्माले बताएका छन्। थाहा खबरसँगको संक्षिप्त कुराकानीका क्रममा उनले कार्यदलको प्रतिवेदनका विषय वस्तुमाथि गहन छलफल भइरहेको जानकारी दिएका छन्। 

'अहिले हामी छलफलकै क्रममा छौँ। केही विषयवस्तु टुंगाउन बाँकी छन्', उनले भने, 'ती बिषयमा छलफल गरिरहका छौँ, चाँडै अन्तिम टुंगोमा पुग्दैछौँ।'

विवाद समाधानका लागि मध्यमार्गी बाटोको विकल्पमा सहमति जुटिरहेको स्रोतले जनाएको छ। शुक्रबार कार्यदल सदस्य भीम रावल अछामका बाढी पीडितलाई राहत लिएर गएकाले छलफल हुन सकेको थिए। तर, रावल अछामबाट फर्किएपछि प्रतिवेदनलाई पूर्णता दिने काममा कार्यदल जुटिसकेको छ। 

प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी छ।

कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ। अर्कातिर र दाहालले पार्टीको पूर्ण अधिकार लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ।

ओलीले यसअघि जस्तै एकलौटी निर्णय लिन नपाउने, पार्टी एकताको काम टुंगोमा पुर्‍याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने लगायत विषयमा प्रतिवेदनमा समावेश भएको स्रोतको दाबी छ।  

ओलीको दुवै पदबाट राजीनामा माग भएपछि टसमस नहुने देखिएपछि दाहाल नेपाल समूहले पार्टीको नीति र सहमतिअनुसार अघि बढेमा तत्काल दुवै पदबाट राजीनामा दिनु नपर्ने पक्षमा पुगिसकेको छ। 

समस्या समाधानका लागि ओली दाहाल पटक पटक वार्ता बस्दा समेत सहमती जुट्न नसकेपछि गत शुक्रबारको बैठकले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरूका भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसालको कार्यदल गठन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.