६ महिनामा पनि भएन पिसिआर परीक्षण, भगवान् भरोसामा सबै सशस्त्र

|

धनगढी : शनिबार त्रिनगर सीमा नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरीका जवान भारतबाट आएका नेपालीलाई गन्तव्यतिर पठाउन व्यस्त थिए। थाहाखबरकर्मीले ती सशस्त्र प्रहरी जवान नजिकै गएर ‘सर तपाईंले अहिलेसम्म पिसिआर परीक्षण गराउनुभयो त भनी सोध्दा उनले सुरुमा ‘अस्ति भर्खरै मात्रै’ रेडिमेड उत्तर दिए। 

हामीले उनलाई फेरि सोध्यौं, त्यसपछि भने उनले एकचोटि आरडिटी मात्रै गरेको जवाफ दिए। भन्सार गेट नजिकै भारत आउने र जानेहरूको तथ्यांक संकलन गरिरहेका एक प्रहरी अधिकृतलाई पनि हामीले यसैगरी सोध्यौं। 

उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हामीलाई मिडियामा बोल्ने अधिकार त हुँदैन, तैपनि ठूलो जोखिममा काम गरिरहेका छौं, हाम्रो परीक्षण हुनुपर्ने हो तर अहिलेसम्म भएको छैन।’ उनले गुनासो पोखे, ‘पहुँच भएकाहरु पिसिआर चेक गराउँछन् होला ? हामीले त अहिलेसम्म एकचोटि पनि पिसिआर चेक गर्न पाएका छैनौं।’ 

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि भारत सरकारले गरेको लकडाउनपछि त्यहाँ रहेका नेपाली धमाधम नेपाल फर्किरहेका छन्। जसका कारण सीमामा अन्य क्षेत्रभन्दा कोरोना जोखिम बढी छ।  

नेपालमा पनि लकडाउन भयो, केही समयसम्म नल्याइएका नेपाली ल्याउन थालियो। लकडाउन अवधिमै भारतबाट फर्किनेहरूको लर्को लाग्न थाल्यो। उनीहरुको व्यवस्थापनका लागि सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाएको थियो। नाकामा खटिएको ६ महिनासम्म पनि सुरक्षाकर्मीले भने एकचोटि पनि पिसिआर परीक्षण गर्न पाएका छैनन्।  

हालसम्म कोरोना संक्रमण देखिएका मध्ये ९५ प्रतिशत भारतबाट आएका नागरिक रहेका हुन्। तर सरकारले भने सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सुरक्षाप्रति बेवास्ता गरिरहेको छ। 

पछिल्लो समय सरकारले सुदूरपश्चिमका दुई नाका कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डा चौकीबाट मात्रै नेपालीहरु भित्रिन पाउने भनेको छ । गौरीफन्टा नाकाबाट अधिकांश नागरिक आउने गरेका छन् । सुदूरपश्चिमका नौ वटै जिल्ला, प्रदेश ५ र कर्णाली प्रदेशका नागरिकहरु पनि यही नाका हुँदै आइरहेका छन्।  
यसरी सीमा क्षेत्रको ‘फ्रन्टलाइन’मा रहेर काम गर्ने सुरक्षाकर्मीले पनि ६ महिनामा एकचोटि समेत पिसिआर जाँच गराउन पाएका छैनन्। 

सीमा सुरक्षा बल त्रिनगर भन्सारका सशस्त्र प्रहरीका डिएसपी भोला प्रसाद कुसुवाले आफूहरु ठूलो जोखिम मोलेर काम गरिरहेको सुनाए । उनले भने, ‘एउटा मास्कको भरमा काम गरिरहेका छौं, फ्रन्टलाइनमा खटिने सशस्त्र प्रहरीलाई ठूलो जोखिम छ।’ 

उनले अहिलेसम्म कुनै प्रहरीमा पनि त्यस्तो किसिमको लक्षण नदेखिएको भने बताए । कुसुवाले भने, ‘एकचोटि तीन÷चार महिनाअघि आरडिटी भएको थियो, सबैको नेगेटिभ आयो, त्यसपछि अहिलेसम्म कुनै परीक्षण भएको छैन, भगवानको कृपाले अहिलेसम्म कसैलाई केही भएको छैन।’  

त्रिनगर भन्सारमा मात्रै झण्डै ९५ जना सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका छन्। उनीहरुमध्ये कसैको पनि पिसिआर परीक्षण सरकारले गरेको छैन। अहिले सुदूरपश्चिममा चार ओटा पिसिआर मेसिन सञ्चालनमा छन् । प्रदेशमा दैनिक दुई हजार हाराहारी संख्यामा पिसिआर परीक्षण भइरहेको छ। 

यता सशस्त्र प्रहरी कैलालीका प्रमुख एसपी दीपेन्द्र कुँवरले आफू नयाँ भएकोले परीक्षण भए नभएको बारे खासै जानकारी नभएको प्रतिक्रिया दिए। उनले पिसिआर परीक्षणका लागि कुनै लक्षण नदेखिएकोले पहल नगरिएको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.