|

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइबारदेखि गौरा पर्व सुरु भएको छ। पञ्चमीका दिन अर्थात आज बिहानै स्नान गरी महिलाहरूले घर-घरमा बिरुडा राखेका छन्। 

बिरुडा राख्न घरको एक कोठामा गाईको गोबरले लिपिन्छ। तामा र पित्तलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा पनि गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिंगारिन्छ। धुप बत्ती बाली पञ्चअन्न (गहुँ, मास, गहत, गोरस र कलौ) भिजाएर राखेर भगवन महेश्वरको आह्वान गरिन्छ। यसैलाई बिरुडा राख्ने भनिन्छ। 

बिरुडा राखिएको दिन महिलाले माङ्गलिक गीतहरू गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनुका साथै पञ्च वनस्पति (धान, साँउ, तील, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने गर्छन्‌। त्यसपछि बिरुडा मङ्गल गीत गाउँदै बिरुडा घरमा ल्याएर राख्नेगर्छन्। विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ। 

सप्‍तमीका दिन महिलाले दिनभर व्रत बसी आफ्नो परिवारको सुख, समृद्धि र चिरायु कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताए। 

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ। अष्‍टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राख्छन्‌। त्यसपछि आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन्। यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ। 

आफन्तलाई प्रसादका रूपमा बिरुडा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको स्थानीय कृत बहादुर बिष्टले बताए। 

पूजा गरिसकेपछि पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनले जानकारी दिए। गौरा पर्वमा नयाँ कपडा लगाउनुका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता साकाहारी पकवान खाने गरिन्छ। यो पर्व सुदूरपश्चिम सहित भारतको कुमाउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ।

कोरोना महामारीले ​गौरा पर्व प्रभावित

सुदूरपश्चिममा महान पर्वको रुपमा मनाइने गौरा यस वर्ष कोरोना महामारीले प्रभावित बनेको छ। सुदूरपश्चिम लगायत देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासनहरुले सामुहिक रूपमा गौरा नमनाउन आग्रह गरेका छन्। 

बुधबारदेखि भदौ १४ गतेसम्म जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ। यस्तैऽ सुदूरपश्चिमका कैलाली डडेल्धुरा, बैतडी, डोटी लगायतका जिल्लाहरुमा पनि प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरिरहेका छन्।

प्रशासन कार्यालयहरूले सामूहिक रूपमा मनाउँदा संक्रमण फैलिने जोखिम रहेकाले नागरिकलाई घरभित्रै गौरापर्व मनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.