|

म्याग्दी : बेनी नगरपालिका–४ सिंगा र आगेबगरमा ६ करोडको लगानी हरियाली ग्रुपले संचालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा पालिएका कालिज यस क्षेत्रका लागि आकर्षणको गन्तव्य भएका छन्। 

धौलागिरि क्षेत्रमै पहिलोपटक हरियाली ग्रुप प्रालि म्याग्दीले जिल्लामा व्यावसायिक रुपमा कालिजपालन व्यवसाय सुरु गरेको हो। काठमाडौंको दक्षिणकालीमा रहेको एभरेष्ट वाइल्ड लाइभ एग्रो रिसर्च प्रालिले उत्पादन गरेको रिङनेक प्रजातिको कालिजको चल्ला प्रतिगोटा एक हजार तीन सय ५० रुपैयाँका दरले खरिद गरी ल्याएर कालिजपालन थालिएको हरियाली ग्रुप प्रालिले जनाएको छ।

५० लाख रुपैयाँ लगानी रहेको फार्ममा अहिले सानाठूला गरी कुल ९ सय वटा कालिजहरू रहेका प्रालिको ‘ए’ ब्लक इन्चार्ज भगवान् खड्काले जानकारी दिए।
१० रोपनी क्षेत्रफलको जग्गामा पालिएको कालिजको प्रतिगोटा तीन हजार पाँचसय रुपैयाँदेखि चारहजार रुपैयाँसम्म मूल्य तोकिएको ‘ए’ ब्लक इन्चार्ज खड्काले बताए।

सिङ्गामा उत्पादन भएको कालिजको मासु हरियाली ग्रुपसहित सदरमुकाम बेनीबजार, पश्चिम म्याग्दीको दरबाङ, छिमेकी जिल्ला पर्वत र बागलुङका बजारसम्म बिक्री वितरण हुने उनले बताए। 

ग्रुपले कालिजको भाले मासु खान र पोथीबाट अण्डा उत्पादनका लागि पालिएको बताएको छ भने अहिले ४ महिनाको भएकाले ६ महिना पुगेपछि बिक्री वितरण सुरु गर्ने भएको छ। 

नमुना फर्म स्थापना गरी कालिज पालेको हरियाली ग्रुपले पोथी कालिजबाट उत्पादन भएको अण्डालाई ह्याचिङ गरेर जिल्लाको गाउँगाउँसम्म पु¥याइने इन्चार्ज खड्काले बताए।

कालिजको एउटा पोथीले २० देखि ४० वटासम्म अण्डा उत्पादन गर्ने भएकाले चल्ला उत्पादन गरी कालिज व्यवसायलाई समूहको प्रमुख आम्दानीको स्रोत बनाउने योजना समेत रहेको जनाइएको छ।

हाइप्रोफाइल व्यक्तिको लगानी 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, अन्तराष्टिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की, कृषि वैज्ञानिक मदन थापालगायत उच्च ओहोदाका व्यक्तिहरुको अवधारणा र लगानीमा खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समूहकृत पद्धतिमा व्यावसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो। फार्ममा स्थानीय समेत ६१ जनाको लगानी छ।

कृषिको आधुनिकिकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणालाई ‘हरियाली मोडल’ नाम दिइएको छ। यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.