|

धनगढी : हरेक वर्ष 'हाम्रो संस्कृति र हाम्रो पहिचान नेपाल' नामबाट पाँच दिनसम्म धनगढीमा गौरा महोत्सवको आयोजना गर्ने देउडा गायक सुरत रावत (डोटेली कान्छा) यो वर्ष भने घरभित्रै छन्। कोरोनाका कारण कैलालीमा भएको निषेधाज्ञाले उनी यसपालि गौरामा घर बाहिर निस्कन पाएका छैनन्।

डोटेली कान्छाले भने, ‘कोरोना महामारीले संस्कृतिमा ठूलो प्रभाव पारेको छ, सामूहिक रुपमा मनाउने गौरा यो वर्ष घरभित्रै सीमित भयो।’ गौरा मनाउन नपाउँदा आफू दुखी भएको अनुभव उनले सुनाए। ‘बाँचे वर्षैपिच्छे मनाउँला गौरा, घरमै बसौं सुरक्षित रहौं’ भन्दै उनले घरबाटै परम्परागत तरिकाले गौरा मनाउन सुझाव दिए। 

सामूहिक रुपमा मनाइने गौरा पञ्चमीका दिनबाट सुरु हुने गर्छ। गौराको पहिलो दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्छन्। हरेक वर्ष पञ्चमीका दिनबाटै सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा महोत्सवहरु सुरु हुने गर्थे।

तर यो वर्ष सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा लगायत जिल्लामा पूर्ण तथा आंशिक रुपमा जिल्ला प्रशासन कार्यालयहरूले गरेको निषेधाज्ञाले गौरा सुनसान बनेको छ।

वरिष्ठ देउडा गायक दल बहादुर बोगटीले कोरोनाले गौरा प्रभावित भएकाले घरबाटै भए पनि सुदूरपश्चिमको मौलिक संस्कृति जगेर्नाको निम्ती सबैले लाग्नुपर्ने बताए। ‘अरु वर्षको जस्तो भिडभाड नगरौं, घरबाटै रमाइलो, बाँचे अर्को वर्ष मनाउली गरौं।’ बोगटीले भने, ‘सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गरौं, महामारीमा बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो, सुदूरपश्चिमको मौलिक संस्कृति लोप हुनु हुदैन्।’ वर्षैपिच्छे धनगढी रंगशालामा हुने गौरा तथा देउडा महोत्सवलाई स्मरण गर्दै उनले यो वर्ष सबैलाई भिडभाड नर्गन र घरभित्रै बस्न सुझाए। 

कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते राति १२ बजेदेखि १४ गतेसम्म राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाकै कारण कैलाली सुनसान बनेको छ। सुदूरपश्चिमको महत्तवपूर्ण पर्व यसपालि खल्लो भएको उनले बताए।

हरेक वर्ष गौरामा सबैभन्दा बढी किनमेल हुने गरेकोमा यो वर्ष शून्यमा झरेको व्यापारीहरूको भनाइ छ। गौरा पर्वको लागि भनेर बजारमा लुगाकपडा आयात भएको भए पनि निषेधाज्ञाका कारण सामान किनमेल गर्न पाएका छैनन्। स्थानीय रेवती जोशीले भनिन्, ‘सधैं गौरामा बुवाले नयाँ लुगा किन्दिनुहुन्थ्यो, यो वर्ष त नयाँ लुगा किन्नसम्म पाइएन।’

संस्कृतिविद प्राध्यापक डा.टिएन जोशीले यसपालि गौरा घरभित्रै सीमित भएको बताए। निषेधाज्ञा कारण घर बाहिर निस्कन नपाए पनि सबैले आ–आफ्नै तरिकाले घर घरमै गौरा मनाइरहेका छन्।’ उनले भने, ‘गौरा सुदूरपश्चिमको मौलिक र ठूलो पर्व हो, यसलाई जगेर्ना गर्नु सबैको दायित्व हो।’

सुदूरपश्चिमबाट गौरामा पहिलो पटक पिएचडी गरेका जोशीले गौरा के हो ? भन्ने प्रश्नमा यसरी सुनाए। छोटकरीमा

​हिमालयकी पुत्री पार्वतीले पौराणिक कालमा शिवजीलाई नै वर पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर, कष्टपूर्ण तपस्या गरिन्, त्यसको परिणामस्वरुप महादेवलाई पति पाइन्। त्यो कुरा पुराणमा उल्लेख छ। त्यसै पुराणलाई आधार मानेर यो गौरा पर्व भारतको कुमाउ गड्वालबाट नेपालको सुदूरपश्चिममा भित्रिएको हो।

गौरा पर्व पौराणिक कालदेखि मनाउँदै आइएको छ, गौरा खासगरी महिलाहरुको चाड हो। महिलाहरुमा पनि बाहुन, क्षत्री र ठकुरी जातका विवाहित महिलाले मात्रै यसको वर्त बस्छन्ह। रेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्ठमीसम्म यो पर्व मनाइन्छ। पञ्चमीका दिन विवाहित महिलाले निराहार व्रत बसेर 'फाग' गाउँदै तामाको भाडामा गहुँ, केराउ, गहत, मास र गुरौजलगायत पञ्च अन्न अर्थात् बिरुडा भिजाइन्छ। महेश्वर (महादेव) को पूजा गरी बिरुडा राख्ने कार्य गरेर गौरा सुरु हुने गर्छ। 

जोशीका अनुसार गौरालाई षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को प्रतिमा बनाएर पँधेरामा राखेर पूजा गर्ने र विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी दुवो–धागो धारण गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी खाना खाने प्रचलन छ।

यस्तै सप्तमीका दिन गौरालाई विवाहित महिलाले निराहार दिनभर ब्रत बसेर आफ्नो परिवार लगायत आफन्तको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको छ।

अष्टमीका दिन आएर निराहार ब्रत बसेकी महिलाले गौरा राख्ने ठाउँमा पञ्ज वनस्पतिले बनाएको गौराको प्रतिमालाई रेशमको कपडामा बेरेर महेश्वरको प्रतिमा नजिकै गौराको फाग सृुनाएर कथा गाउने र पूजा गर्दै महेश्वरको प्रतिमालाई टाउकोमा राखेर नाच्दै देउडा लगायत खेलाउँदै रमाइलो गर्ने प्रचलन छ। 

गौरा पर्वको महत्वपूर्ण दिन भनेर अष्टमीलाई मानिने गरिन्छ। अष्टमीमा महिलाले बिहानै स्नान गरेर पञ्ज वनस्पतीबाट बनेको गोरा देवीको प्रतिमा र महेश्वरको प्रतिमालाई घरबाट बाहिर ल्याएर आँगनमा फाग गीत गाउँदै टाउकामा राखेर नाच्ने गरिएको छ।

यसै अवसरमा गौराको पहिलो दिन भिजाएको पाँच अन्नबाट बनाएको बिरुडाबाट गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ। अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने प्रचलन रहेको उनले बताए। ब्रत बसेका महिलाले अठेबालीका दिन गौराको प्रतिमालाई टाउको राखेर नचाउने र पुरुषले भने धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.