|

धनगढी : २०५७ सालमा कैलालीका विभिन्न स्थानमा चोरी गरी २० वर्षदेखि फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले भदौ ९ गते उनीहरुको घरबाटै पक्राउ गरेको छ।

डाकाचोरी मुद्दामा फरार लम्कीचुहाका कर्मराज थापालाई अदालतले आठ ओटा डाकाचोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार एक सय ५३ रुपैयाँ जरिवाना तोकेको थियो। 

उनीसँगै प्रहरीले स्थानीय कर्मराज थापा, भगत चौधरी, गुनसिंह कठरिया, टीकाराम चौधरीलाई पक्राउ गरेको छ। चारै जनालाई २०६१ सालमा जिल्ला अदालत अदालतले १ सय ७० वर्ष कैद सजाय सुनाएको थियो। 

अदालतले सजाय सुनाएपछि उनीहरु लामो समयदेखि भारतमा लुकेर बसिरहेका थिए। कोरोना महामारीले भारतमा लकडाउन भएसँगै चारै जना नेपाल फर्किए। अनि समात्न सफल भयो प्रहरी।

लकडाउन अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई ठूलो सफलता मिलेको छ। वर्षौंदेखि भारतलगायत तेस्रो मुलुकमा लुकीछिपी बसेका र लकडाउन भएसँगै नेपाल फर्किएका अपराधीलाई धमाधम पक्राउ गरिरहेको छ। 

२०६८ सालमा धनगढीका एक स्थानीयलाई कुटपिट गरी हत्या मुद्दामा फरार धनगढीका सुवर्ण श्रेष्ठलाई प्रहरीले ९ वर्षपछि लकडाउन अवधिमै पक्राउ गरेको छ। उनी भारतमा लुकेर बसेका थिए, भारतमा लकडाउन भएसँगै उनी नेपाल फर्किएका थिए। श्रेष्ठलाई प्रहरीले धनगढीबाटै समातेको हो। श्रेष्ठलाई थप प्रक्रियाको लागि अदालतमा बुझाइसकेको प्रहरीले जनाएको छ। 

यस्तै जबरजस्ती करणी मुद्दामा फरार लम्किचुहा नगरपालिका–४ का दीर्घराज कोइरालालाई पनि प्रहरीले लकडाउन अवधिमै पक्राउ गरेको छ। उनी लामो समयदेखि भारतको दिल्लीमा लुकेर बसेको र लकडाउनमा घर फर्किएपछि असार १८ गते घरबाटै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

कैलाली प्रहरीले लकडाउन अवधिमा मात्रै अदालतबाट कैद तथा जरिवाना सजाय तोकेका १६ जना, अदालतबाट फैसला नभएको तर फरार ७ जना र अनुसन्धान क्रममा चालु मुद्दामा फरार २४ जनाभन्दा बढी अपराधीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता (डिएसपी) प्रतीक विष्टले जघन्य प्रकृतिका लामो समयदेखि पक्राउ गर्न नसकिएका र भारतलगायत तेस्रो मुलुकमा लुकेर बसेकालाई लकडाउनमा नेपाल फर्किएपछि पक्राउ गर्न सफल भएको बताए। 

डिएसपी विष्टले भने, ‘अहिले हामीले फैसला कार्यान्वयनलाई प्राथमिकता दिएका छौं, फरार प्रतिवादी पक्राउ गन विशेष टिम बनाएर परिचालन गरेका छौं, लामो समयदेखि लुकेर बसेका अपराधी खोजतलास गर्दा पक्राउ परेका छन्।’ 

उनले अधिकांश संख्यामा भारत लुकेर बसेका र लकडाउनमा फर्किएकाहरू रहेका बताए। कैलालीमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ पर्नेको संख्या निकै बढेको छ। 

लकडाउन र निषेधाज्ञाले फरार प्रतिवादी पक्राउ गर्नमा ठूलो सहयोग पुगेको बताए। उनले भने, ‘भारत सजिलै आवतजावत गर्न नसकिएको अवस्थामा, भारतका लुकेर बसेको अवस्थामा भारतमा समस्या परेर नेपाल फर्किएकाले पक्राउ गर्न सजिलो भएको हो, सफलता राम्रै मिलेको छ।’ 

लकडाउनमा जबरजस्ती करणीका घटना पनि बढे

लकडाउनको अवधिमा जबरजस्ती करणीका घटना पनि बढेको उनले बताए। मान्छेहरु काम नभएर किसिमका आपराधिक घट्ना बढेको उनको दाबी छ। 
भारतलगायत तेस्रो मुलुकबाट मान्छेहरु धमाधम नेपाल आइरहेकाले सुरक्षा चुनौती बढेको विष्टले बताए। यस्तै लकडाउनमा घरेलु हिंसा र साइबर अपराध पनि बढेका उनले बताए। 

लकडाउन अवधिको साउन महिनामा मात्रै ज्यान मार्ने उद्योगमा १३ मुद्दा, कर्तव्य ज्यानमा १, फुटकर ज्यानमा ५, बिष सेवनबाट ९, झुन्डिएर २३, साधारण चोरी १३, जबरजस्ती करणी १५, बालविवाह बहुविवाह ८, बोक्सी आरोपमा २, ठगी मुद्दामा ३  र मानव बेचबिखनमा १ मुद्दा जिल्ला प्रहरीका कार्यालय कैलालीमा दर्ता भएका छन्। 

प्रहरीलाई जोखिम पनि

महामारीको समयमा प्रहरीलाई जोखिम बढ्दै गएको र प्रहरीहरूमा पनि संक्रमण बढ्दै गएको प्रहरी प्रवक्ता विष्टले बताए। यस्तो समयमा प्रहरीले थप सक्रियता देखाउनुपर्ने र सावधानीका उपाय अपनाएर काम गरिरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.