ट्राफिक प्रहरी निर्घात कुटिए, हिंसात्मक झडप

|

काठमाडौं : 'वर्षा र सहकालका देवता’रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौं युवा पुल्चोकमा उत्रिँदा तनाव भएको छ। निषेधाज्ञा लत्याउँदै पुल्चोकमा जम्मा भएको समूहलाई हटाउन प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ।

विश्‍वभर फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भएको थियो। र युवाहरु रथ यात्राको साइत जाने भन्दै सडकमा उत्रिएका थिए। 

झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको वाटर क्यान तोडफोड गरे भने एकजना ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गरे। कुटपिटमा संलग्‍न नौ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। 

यता महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटो जात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। 

'हामीले कुनै पनि मानवीय क्षति हुन नदिई सामान्य तरिका अपनाएर रथयात्रा गर्न आएका मानिसलाई हटायौँ', उनले भने। ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टले बताए। 

वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्ने देखी पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताए। रथ यात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए। ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छौं भन्‍ने नाराका साथ युवा सडकमा उत्रिएका देखिन्थे । ती युवा सडकमा उत्रिएर करीब २० पाइला रथ यात्रासमेत गरे । 

 यसअघि पनि कोभिड–१९ का कारण पटक पटक  लोकेश्वरको रथयात्रा अन्योलमा परेको थियो ।  आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण भएको रथमा विराजमान गराइएको थियो । 

 हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याएर भोटो जात्रा गर्ने चलन छ । यस वर्ष भने महामारीका कारण  मच्छिन्द्रनाथको भोटोजात्रा कहिले सम्पन्‍न हुन्छ भन्‍ने कसैलाई पनि जानकारी छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.