|

डडेल्धुरा : अहिले मकैको सिजन छ। यो सिजनमा गाउँघरमा मकै सहजै पाइन्छ। तर, सहरमा भने यो पाउन सहज छैन। धेरैजसोलाई पोलेको मकै पनि पर्छ। 

कोरोना भाइरसका कारण अहिले स्थानीय प्रशासनले डडेल्धुरामा आशिंक रूपमा निषेधाज्ञा गरेको छ। निषेधाज्ञा गरेकै कारण थुप्रैको रोजीरोटी गुमेको छ। अहिले साँझ बिहानको छाक टार्न यहाँका महिलाले संघर्ष गरिरहेका छन्। 

भीमदत्त राजमार्गको सडक छेउमै स–साना टिनका छाप्रा राखेर मकै पोलेर बेच्नेहरु भेटिन्छन्। बिहानदेखि साँझसम्म निरन्तर रूपमा बलेको आगोमा सुरु हुन्छ, अमरगढी नगरपालिका–१० की बलुदेवी साउँदको मकै पोल्ने दैनिकी।

विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ। दिनभरि काम गरेर घरखर्च चलाइरहेकी उनलाई आजभोलि भने घर खर्च धान्न निकै समस्या भएको छ। घर खर्च धान्न र परिवारमा रहेका लालाबाला पाल्न उनी एका बिहानै भीमदत्त राजमार्गको सडक छेउमा पालेको मकै बेच्न पुग्ने गरेकी छन्।

दैनिक मजदुरी गरेर घर खर्च चलाइरहेकी साउँदलाई आजभोलि मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ। आफैं परिश्रम गरेर पसिनाको कमाइ खानुको मज्जा उनलाई थाहा छ। सुदूरपहाडको ‘हिल स्टेसन’का रूपमा चिनिने डडेल्धुराको भीमदत्त राजमार्गमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो पोलेको मकै बेच्छिन्। अरूको बारीबाट १० देखि १५ रुपैयाँ प्रतिगोटा किनेर ल्याएको मकै उनले २० देखि २५ रुपैयाँमा बेच्ने गर्छिन्। 

‘बाहिरबाट मकै खरिद गरेर बेच्दा नाफा कम हुन्छ। तर, आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ,’ साउँदले भनिन्, ‘कोरोनाले सताएको समयमा मकै बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ। तर, घरमा भएको मकै बाँदरले खाइदिन्छ।’

साउँद जस्तै सो सडक क्षेत्रमा थुप्रै महिलाले मकैको व्यापार सुरु गरेका छन्। अहिले उनी जस्तै थुप्रै महिलाको ‘मकै एक जिन्दगी’ बनेको छ। पहिले साउँदले मात्रै मकै बेच्ने गरेको भए पनि अहिले मकै बेच्ने महिलाको तछाडमछाड नै देखिन्छ।

३÷४ वर्षअघिदेखि यो पेसा गर्दै आएको भए पनि विगतका वर्ष जस्तो व्यापार यो वर्ष कोरोनाका कारण हुन नसकेको अमरगढी–१ मालमकी डम्बरी दियालले बताइन्। सडक छेउमै मकै बेच्ने गरेको देखेर यात्रुहरू आफैं गाडी रोकेर मकै किन्न आउने गरेका उनी बताउँछिन्। 

‘घरमा रोजगारी गर्ने कोही छैनन्। साँझ बिहान खाना खान पनि समस्या हुने गरेको छ,’ दियालले भनिन्, ‘दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेका छौँ, रहर नहुँदा नहुँदै पनि बाध्यताले यो काम गरिरहेका हौँ।’ प्रहरी आएर मास्क, स्यानेटाइजर प्रयोग गरेर मात्रै काम गर्नु भनेर जाने गरेको उनी बताउँछिन्। 

‘बाहिर यति ठूलो रोग फैलिरहेको छ। हामीहरूलाई पनि डर त हुन्छ। तर, भोको पेटले काम नगरी मान्दैन। त्यही भएर काम गरिरहेका छौँ,’ उनेले पीडा पोखिन्।आफ्नो बारीको खेती जंगली जनावरले खाइदिने गरेको अर्की स्थानीय तुलसी दियालले बताइन्। अरू समयमा दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउने गरे पनि लकडाउनका कारण काम नपाएर मकै बेचिरहेको उनको बाध्यता छ। 

‘साँझ ५ बजे आएकी थिएँ। अब राति ८ बजे घर जान्छु। घर परिवार सन्तुष्ट त छैनन्। तर, पेट पाल्न मकै पोलिरहेकी छु। स्थानीय सरकारले कतै काम गर्ने वातावरण मिलाइदिए हुन्थ्यो,’ उनी आशा गर्छिन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.