उन्‍नत जातको बिउ दिएको कम्पनीको दाबी, धान नफले जिम्मेवारी लिने

|

कैलाली : धनगढी उपमहानगरपालिका–६ जालीका किसान दीपेन्द्र कुँवरले ५ कट्ठामा धान लगाएका छन्। कृषि कार्यालयबाट धानको बिउ ल्याएर रोपे । अरूका जमिनमा रोपेको धान पाकेर काट्नुपर्ने भइसक्यो । उनले रोपेको धान भने अझै पसाउनु (बाला लाग्नु) छैन।

गत वर्ष पनि बिउमा ठगिएका उनले यस वर्ष भने कृषि कार्यालयको सिफारिसमा बिउ लगाएका थिए। तर यसपालि पनि धानमा बालै लागेन।  ‘गत वर्षको मेहनतपनि उस्तै खेर गयो, यस वर्ष पनि अहिलेसम्म फुलेको छैन।’

जालीकै धनुलाल चौधरीको पनि एक बिघामा लगाइएको धानको हालत यस्तै छ। पञ्चशक्ति सिड कम्पनीबाट बिउ ल्याएर रापेका चौधरी नराम्ररी ठगिए। ‘बहुगुणी जातको धान लगाएको, वरिपरिका सबैको पाक्न लाग्यो, मेरो खेतमा भने अझै पसाएको छैन, कतै ढिलो फुल्ने जातको बिउ हो कि भनेर सधैं खेतमा पानी लगाइरहेको छु।’ उनले धान पसाउने आसमै दैनिक ३० लिटर डिजेल खर्च गरेर खेतमा पानी लगाइरहेका छन्। 

चौधरीले पीडा पोख्दै भने, ‘अरु रोजगार केही छैन, खेतकै भरमा जीवन गुजारा गरेका छौं, वर्षभरि मिहिनेत गरेर धान नफले भोकै मरिन्छ कि भन्ने डर छ।’ वर्षैपिच्छे बिउबाट आफूहरु ठगिने र धान उत्पादन नहुने गरेको गुनासो छ उनीहरुको।

स्थानीय आसाराम चौधरीले झन्डै १० कठ्ठामा रोपेको धानको पनि बाला निस्कने छाँटकाँट छैन। गत वर्ष गरिमा धानले ठगिएका किसान यस वर्ष राम्रो धानको बिउ रोप्ने सोचमा थिए। धानको बाला निस्केर झुल्ने हुँदा पनि बाला लाग्ने सुरसार नै छैन।  

जाली, बिजुली, जाई लगायत गाउँका थुप्रै किसानको समस्या पनि उस्तै छ । गत वर्ष कात्तिकसम्म कुर्दासमेत गरिमा धानको बाला नलागेपछि किसानले ठूलो घाटा बेहोर्नुपरेको थियो। यस वर्ष पनि भदौ सकि नै लाग्दासम्म धान नफुलेपछि किसान तर्सिन थालिसकेका छन्। धनगढीमै बिउ उत्पादन गरिरहेको पञ्चशक्ति बिउ कम्पनीले उन्नत जातको बिउ भन्दै बिक्री गरेको थियो। उक्त कम्पनीले वितरण गरेको धानको बिउ अहिलेसम्म नफूलेपछि किसान मारमा परेका हुन्। 

बिउ उत्पादन कम्पनीको लापरबाहीले कैलालीका किसान भोकै बस्नुपर्ने अवस्था आउने देखिएको छ। काट्ने बेला भइसक्दा पनि खेतमा धान फुल्छ कि भन्ने आसमा अझै पनि किसानहरु खेत धाइरहेका छन्। धाएका मात्र हैनन्, मोटरबाट पानी तानेर खेतमा लगाइरहेका छन्। धान नफलेर घाटामा मात्रै हैन, धान फल्ने आसमा व्यर्थको लगानी गरिरेहका  छन्।  

हामीले उन्नत जात नै दिएका हौं : बिउ उत्पादन कम्पनी

पञ्चशक्ति बिउ उत्पादन कम्पनी प्राविधिक राजेन्द्र कुजेडाले किसानलाई उन्नत बिउ वितरण गरेको दाबी गरे। उन्नत बिउमा केही प्रतिशत खराबी आउनु स्वाभाविक भएको उनको तर्क छ। ‘सबै बिउ एकनासको हुनुपर्छ भन्ने भ्रम सिर्जना भएको छ, उनले भने, ‘त्यही कारण किसानलाई डर लागेको हो, त्यस्तो गुणस्तरहीन भन्ने छैन।’

उनले एउटा बिउ लगेर अर्को बिउ पर्ने भन्ने नभएको पनि बताए। ‘यस वर्ष मौसममा परिर्वतन भएका कारण केही खराबी देखिएको हो,’ कुजेडाले भने, ‘गुनासो आएको ठाउँमा कम्पनीले लगातार निरीक्षण गरिरहेको छ।’ बिउमा खराबी भएर उत्पादन नभएको कुरा बिउ परीक्षण गराएर मात्रै पत्ता लगाउन सकिने उनले बताए।

बाला नलागे र नफले उत्पादन कम्पनी कम्पनी जिम्मेवार

कम्पनीका अध्यक्ष विष्णु बुर्लाकोटीले पञ्चशक्ति बिउ कम्पनीले अन्नबालीको बिउ उत्पादन गरेर सुदूरपश्चिमका सबै जिल्लामा बिक्री वितरण गरिरहेको बताए। 
तरकारी, मकै र गहुँको बिउ देशभर पठाउने गरेको पनि उनले बताए। 

उनले धानको बिउमा समस्या देखिएको स्थानमा कम्पनीको तर्फबाट नियमित अनुगमन भइरहेको बताए। यस वर्ष छिटो र धेरै पानी परेकाले उत्पादनमा केही कमी आएको उनले तर्क गरे। 

जात अनुसार ढिलोचाँडो पाक्ने भएकाले पनि सबै धान पाक्ने उनले दाबी गरे। यदि धान उत्पादन नभए र बिउमा कमजोरी भए कम्पनीले जिम्मेवारी लिने पनि उनले आश्वासन दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.