|

धनगढी : भदौ २२ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भयो । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टलाई उद्धत गर्दै ‘हिरासतको थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको र उनले आत्माहत्या गरेको’ भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भयो। 

त्यही समाचार धनगढीबाट सञ्चालित दिनेशखबरमा पनि प्रकाशित भएको थियो। उक्त समाचारको विषयलाई लिएर शुक्रबार दिनेश सञ्चारगृहमा १५÷२० जनाको समूहले सह–सम्पादक जनक विष्टलाई कुटपिट गरे। उनीहरुले कार्यालयमै रहेका व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुव्र्यवहार गरेका थिए।

यसरी समाचार कक्षमै पुगेर पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग गर्दै धनगढीका पत्रकार आन्दोलित भएका छन्। पीडित पक्षले कुटपिट गर्नेविरुद्ध किटानी जाहेरी दिएको २ दिन हुन लाग्दासमेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै नेपाल पत्रकार महासघं कैलालीले चरणबद्ध आन्दोलनको सुरुवात गरेको छ।

आन्दोलनअन्तर्गत आज पहिलो दिन पत्रकारहरूले धनगढीको पार्क मोडबाट जिल्ला प्रशासनसम्म ¥याली निकालेका छन्। जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूले कोणसभा गर्दै पत्रकार कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका थिए। ¥यालीमा पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली अध्यक्ष जगत साउँदलगायत ४० भन्दा बढी पत्रकारको सहभागिता थियो। 

मृतकका परिवार पनि आन्दोलित

यस्तै प्रहरी हिरासतमा मृत्यु भएका युवकका परिवार र स्थानीय पनि न्यायको माग राख्दै धनगढीमा आन्दोलनमा उत्रिएका छन्। हिरासतमा मृत फेला परेका विकको हत्या गरिएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।

उनीहरूले न्यायको माग राख्दै आइतबार जिल्ला प्रहरी कार्यालय गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। आन्दोलनमा ‘प्रहरी तेरो पाराले दुःख पाए साराले, प्रहरी लापरबाही बन्द गर, के ज्यानको मूल्य छैन ? लगायतका प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका थिए। 

विकको आँखा, शरीरका विभिन्न भागमा निलडाम तथा घाउ देखिएकोले परिवारले हत्या नै भएको दाबी गर्दै आएको छ भने प्रहरीले आफ्नै सर्ट खोलेर शौचालयमा आत्महत्या गरेको बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.