डडेल्धुरा : बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या घटनाका आरोपित राजेन्द्र बोहराविरुद्ध अर्को बलात्कारको घटना दर्ता भएको छ।
हिरासतमै रहेका बेला आरोपित बोहोरामाथि गाउँकै १३ वर्षीया बालिकाले जाहेरी दिएकी हुन्। उनले आफूमाथि बोहराले गत २९ साउन बेलुकी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा आइतबार जाहेरी दिएकी हुन्।
बालिका सम्झना कामीको ७ असोज बुधबार साँझ बलात्कारपछि हत्या भएको थियो। शव हत्या भएको अवस्थामा भेटेपछि प्रहरीले शव र खिकालाकै शंकास्पद राजेन्द्र बोहोरालाई ८ असोजमा चैनपुर ल्याएर अनुसन्धान थालेको थियो।
हत्या गरिएकी बालिकाका बाजेले ८ असोजमै जिल्ला प्रहरी कार्यालयमा कार्यालयमा जबरजस्ती करणी गरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दरखास्त दिएका थिए।
घटनामा संलग्न रहेको आशंकामा बझाङ जिल्ला अदालतबाट आरोपित बोहोरालाई हिरासतमा राख्न म्याद थप अनुमति पनि दिएकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
‘उनीविरुद्ध आज जवरजस्ती करणी गरेको भन्दै हामी कहाँ जाहेरी परेको छ', उनले भने, 'उनीमाथि थप अनुसन्धान भइरेहको छ।'
सम्झनाको बलात्कारपछि हत्या भएको खुलेको छ। जिल्ला अस्पताल बझाङमा गरिएको पोस्टमार्टमबाट बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो।
जिल्ला अस्पतालले शनिबार साँझ प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोर्टमा सम्झनाको बलात्कारपछि हत्या भएको उल्लेख छ। घटनामा संलग्नताको आशंकामा पक्राउ परेका त्यही ठाउँका बोहराविरुद्ध तथ्य फेला पारिसकेको डिएसपी खड्काको दाबी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।