|

काठमाडौं : रामेछापकी संगीता कक्षपति अघिल्लो वर्षको दशैँमा गाउँ जान पाइनन्। चक्रपथमा बस्दै आएकी यस वर्षको दशैँ मान्न गाउँ पुगिसकेकी छिन्‌। त्यसो त कोरोना महामारीको डर पनि छ।

बुधबार बिहानै गोंगबु नयाँ बसपार्कमा गाडी कुरिरहेकी उनको मुहार उज्यालो देखिन्थ्यो। भनिन्‌, ‘पोहोर दशैँमा पनि गाउँ गइन। आमाले यस वर्ष चाही जसरी आउनु भन्नुभयो। त्यसैले यसवर्ष गाउँमै दशैँ मनाउने भनेर गाउँ जान लागेकी हुँ।’

दशैँ शहरमा भन्दा गाउँमै रमाइलो हुने उनको अनुभव छ। ‘शहरमा त के दशैँ? गाउँमा पो दशैँको रमझम हुन्छ,’ उनले सुनाइन्‌, ‘त्यसैले दशैँको बेला गाउँ नै प्यारो लाग्छ।’ उनले कोरोना संक्रमणबाट बच्नलाई मास्क लगाएकी र साथमा सेनिटाइजर पनि बोकेकी थिइन्‌।

गाउँ पुगेपछि घरमै बसेर दशैँ मनाउने उनको योजना छ। ‘अब गाउँ गएपछि बाहिर हिँडडुल गर्दा कोरोना फैलिन्छ कि भन्ने डरले घरमै बसेर दशैँ मनाउँछु। पहिला जस्तो यस वर्ष दशैँमा त्यतिधेरै रमाइलो चाहिँ नहोला,’ उनले थपिन्‌। 

बसको यात्राले गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता 

नुवाकोटका रामकुमार सुनार बुधबार गाउँ गए। तर, बसमा यात्रा गर्नु परेकाले गाउँमा गएर कोरोना लागे फैलिन्छ की भन्ने चिन्ता उनमा छ। उनले भने, ‘बसमा यात्रा गर्दा भीडभाड हुन्छ। आफूले नै गाउँमाकोरोना फैलाइन्छ कि भन्ने डर छ।’ मास्क,पञ्जा लगाएर यात्रा गरेका उनी बताउँछन्‌।

‘शहरमा परिवार छैन, त्यसैले दशैँ गाउँमा नै रमाइलो लाग्छ,’ उनले भने, ‘कोरोना कहरबीच पनि गाउँमै जाने योजना बनाएँ। घरमै बसेर दशैँ मनाउने सोच बनाएको छु।’ उनका अनुसार अघिल्लो वर्षमा टिकट पाउँन सकस हुन्थ्यो। तर, यस वर्ष सजिलैसँग बसको टिकट पाए। 

बसपार्कमा भेटिएका लमजुङका दीपेश घर्ती पनि गाउँ जाँदैछन्‌। तर, उनमा कोरोनाको डरत्रास पनि छ। ‘पहिला ढुक्कले दशैँ मनाउन गाउँ जान पाइन्थ्यो,’ उनले भने, ‘यो पाला जताततै कोरोनाको त्रास छ। त्यसलै अहिले त गाउँ जाँदा पनि कोरोना लगिन्छ की भन्ने चिन्ता छ। सेनिटाइजर, मास्क र पन्जा भने लगाएको छु।’ शहरमा भन्दा गाउँमै रमाइलो हुने भएकाले दशैँ मान्न जान लागेको उनले बताए।​

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र लोह्त्से बहुउद्देश्यीय प्रा.लि संयुक्त व्यवस्थापन समितिद्वारा सञ्चालित महाकाली बहुउद्देश्यीय प्रालि टिकट काउन्टरका कर्मचारी भीम बहादुर लामाका अनुसार यस वर्षको दशैँमा गाउँ जाने यात्रुहरू त्यति धेरै छैनन्। त्यसैले बसहरूमा पनि खासै चाप छैन। सबै स्वास्थ्य मापदण्ड पूरा गरेर बस सञ्चालन गर्ने गरेको उनको भनाई छ।

पाँच लाख भन्दा बढी यात्रु बाहिरिए

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामप्रसाद यादवका अनुसार असोज १ गतेदेखी २८ गतेसम्म पाँच लाख १४ हजार ९२९ जना मानिस उपत्यकाबाट बाहिरिएका छन्‌। सरकारले तोकेको मापदण्ड अपनाए/नअपनाएको बारे नियमित अनुगमन गरिरहेको उनले बताए।

यादवले भने, ‘उपत्यकाबाट बाहिरिने नाकामा कडाइका साथ सवारीसाधनले स्वास्थ्य मापदण्ड अपनाएका छन कि छैनन् भनी चेकजाच गर्छौं मापदण्ड अपनाएनन् भने त्यहीँ रोकेर कारबाही गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.