|

काठमाडौं : काठमाडौं-तराई-मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। 

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई÷मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो।

कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टिगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिए। उनले आयोजनाको चालु आर्थिक वर्ष २०८०-८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको पनि जानकारी दिए।

कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको यस द्रुत मार्गमा जम्मा लम्बाइ १०.०५५ किलोमिटर हुनेगरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ। त्यस्तै १२.८८५ किमी लम्बाइ हुनेगरी ८९ स्थानमा पुल निर्माण हुनेछ।

६ वटामध्ये ३ वटा सुरुङ निर्माणको क्रममा रहेको र ३ वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडि बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए। उनका अनुसार ८९ पुलहरू मध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र ४ वटा जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ। कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुत मार्ग २०८३ साल चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.