प्रचण्ड-नेपालको गुनासै गुनासा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बाह्रौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेर शक्ति केन्द्रित गरेको भन्दै नेकपा भित्रको प्रचण्ड-नेपाल समूह असन्तुष्ट देखिएको छ।

स्थिर सरकारको नारा लिएर २०७४ फागुन ३ गते गठन भएको ओली सरकारले बाह्रौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको हो। सरकार सञ्चालनमा सुरुबाट सरकारमा रहेका मन्त्रीहरु थोरै मात्रै रहेका छन्। 

पछिल्लो सयममा प्रधानमन्त्री ओलीले कार्यशैलीलाई लिएर दाहाल–नेपाल समूहले पटक–पटक असन्तोष व्यक्त गर्दै आएको छ। तर, बाह्रौं पटकको मन्त्रिपरिषद् पुनर्गठनको बेलामा पनि प्रधानमन्त्री ओलीले आफु निकटका नेताहरुलाई मात्रै सरकारमा ल्याएको गुनासो दोहोर्याएका छन्। 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले असन्तुष्टि जनाएका हुन्। 

मन्त्रिपरिषद् पुनर्गठन गर्दा अध्यक्ष दाहालले भदौ २६ को स्थायी कमिटीको निर्णयअनुसार अपवादबाहेक सबै मन्त्रीहरु फेर्नुपर्ने पक्षमा थिए। तर, प्रधानमन्त्री ओलीले रिक्त रहेको तीन मन्त्रालयमा मात्रै नियुक्ति गरेर दुई मन्त्री हेरफेर गरिदिए। 

को–को हटे, को–को आए? 

प्रधानमन्त्री ओलीले बाह्रौं पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा हालसम्म ११ जना मन्त्रीहरुलाई सरकारबाट बिदाइ गरेका छन्। भने अहिलेसम्म नयाँ १२ जना मन्त्रीलाई सरकारमा मौका दिएका छन्। 

प्रधानमन्त्री ओली सरकारबाट शेरबहादुर तामाङ, लालबाबु पण्डित, मातृका यादव, गोकर्ण विष्ट, चक्रपाणि खनाल, रघुवीर महासेठ, गोकुल बाँस्कोटा, डा. युवराज खतिवडा, थममाया थापा, उपेन्द्र यादव, इस्तियाक राई मन्त्रीबाट विदा भएका छन्। 

यस्तै, भानुभक्त आचार्य, शिवमाया तुम्वाहाङ्फे, वसन्त नेम्बाङ, रामेश्वर राय यादव, योगेश भट्टराई, लेखराज भट्ट, पार्वत गुरुङ, घनश्याम भुषाल, हृदयेश त्रिपाठी, विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ सरकारमा आएका छन्। 
 
कहिले कहिले भयो पुनर्गठन? 

दुई तिहाई नजिकको ०७४ फागुन ३ मा गठन भएको ओली सरकारले त्यही १४ गते पहिलोपटक पुनर्गठन गरेका थियो। सरकारलाई दुई तिहाइमा पुर्‍याउन तत्कालीन समाजवादी पार्टीलाई सरकारमा ल्याएका थिए। 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री दिएर दुई तिहाईको सरकार ओलीले बनाएका थिए। मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रियालाई निरन्तरता दिँदै उपप्रधानमन्त्रीसहित ईश्वर पोखरेललाई २०७५ जेठ १८ गते सरकारमा लगेका थिए। तर, बाह्रौं पटकको मन्त्रिपरिषद् पुनर्गठनबाट पोखरेललाई मन्त्रालय मुक्त गरेर उनलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सुम्पिएका छन्। 

प्रधानमन्त्री ओलीले सरकार गठन भएपश्चात श्रृखंलाबद्ध रुपमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै आइरहेका छन्। ओलीले दोस्रो पटक ०७४ को १४ फागुन, तेस्रो पटक ०७४ को २ चैत, चौथो पटक ०७५ को १८ जेठ, पाँचौ पटक ०७५ को १८ साउन, मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।  

यस्तै, छैटौँ पटक ०७५ को १६ फागुन, सातौं ०७६ को १५ साउन, आठौँ पटक ०७६ को ४ मंसिर, नवौँ पटक ०७६ को ५ फागुन, दशौँ पटक ०७६ को ८ फागुन, एघारौँ ०७६ को १० फागुन, बाह्रौं पटक ०७७ मा २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। 

विवादास्पद अभिव्यक्तिपछि कानुन मन्त्रालयबाट शेरबहादुर तामाङको राजीनामा पछि २०७५ साउन १८ मा भानुभक्त ढकाललाई कानुन मन्त्रालयमा प्रवेश पाए। यस्तै, तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएपछि पर्यटन मन्त्रालयमा योगेश भट्टराई भित्रिएका थिए। 

यस्तै, दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए। यी बाहेक प्रधानमन्त्री ओलीले सरकार बीचमा केही मन्त्रीहरुको मन्त्रालय समेत हेरफेर गरेका छन्। 

दुई तिहाईको शक्तिमा ओली

नेकपाभित्र गुटको राजनीति सक्रिय छ। पार्टीभित्र गुटबन्दी हाबी भइरहेको अवस्था छ। तर, प्रधानमन्त्री ओलीले सरकारमा आफू निकटका दुई तिहाई बहुमत पुर्‍याएको नेकपाकै नेताको आरोप छ। 

बुधबार गरेको पुनर्गठनमा पनि तत्कालिन माओवादी केन्द्र निकट कोही नपरेको भन्दै अध्यक्ष दाहालले असन्तुष्ट जनाइरहेका छन्। सरकारमा प्रधानमन्त्री ओली निकटका १६, दाहाल निकटका ४, नेता नेपाल निकटका २ जना र दुई स्पष्टसँग गुट नछुटिएका छन्। 

सरकारमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री कार्यालयका इश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, परराष्ट्र प्रदीप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङ, कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फे, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, भूमि पद्माकुमारी अर्याल, खेलकुदमन्त्री जगतबहादुर विक, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल रहेका छन्। 

यस्तै, महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ, सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, उद्योग राज्यमन्त्री मोतिलाल दुगड, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रहेका छन्। 

यस्तै अध्यक्ष दाहाल निकटका उर्जा मन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगर गरेका छन्। तर, गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट दाहाल निकटका भएपनि पार्टीभित्रको पछिल्ला दिनमा सिर्जित विवादमा प्रधानमन्त्री ओली निकट भएको दाहाल पक्षको आरोप छ। 

सरकारमा वरिष्ठ नेता नेपाल निकट कृषिमन्त्री घनश्याम भुषाल र पर्यटनमन्त्री योगेश भट्टराई मात्रै रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.