त्यो दशैँ, यो दशैँ, हजुरआमा र हामी

|

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे,शत्रुक्षयं राघवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने 

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे !

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ! सूर्य पुत्रझैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् भनेर दिने आशीषमा पनि हजुरआमा यसपटक कोरोनाबाट बच्नु नै यी सबै आशिष प्राप्त गर्नु हो।

यो दशैँ  त्यो दशैँ  जस्तो हुँदैन। ल्यापटपमा जुम खोलेर पारिवारिक भेला गराउंदै गरेको नातिले बिचमा हजुरआमालाई यति कुरा भन्न भ्याई हाल्यो।

   ॐ जयन्ती मङ्गलाकाली,

   भद्रकाली कपालिनी

   दुर्गा क्षमा शिवाधात्री

   स्वाहा स्वधा नमोऽस्तुते।

   फुपूहरूलाई दिने आशिष पनि अब कोरोनामाथि विजय प्राप्त गरेर यो जीवन र जगतको रक्षा गर्नुपर्छ भनेर दिनुपर्ने भो हजुरआमा, नातिले दशैँ को प्रसंग छोडेको छैन।

   हामीलाई थाहा छ समयको मापन पश्चिमाहरुले जिससक्राइष्ट भन्दा पहिले र जिससक्राइष्ट भन्दा पछि गरेर विभाजित गरेका छन्। आफ्नो उमेरको याद गर्दा बचपन, युवा र बिहेपछि भनेर छुट्टयाउन सक्छौँ। नोकरीको सेवा अवधि र अवकाशपछि...यस्तै गरी समयको विभाजन हुने गर्दछ हाम्रै जीवनमा। अहिलेको दशैँ  त्यसैगरी त्यो दशैँ  यो दशैँ  अर्थात् विगतका दशैँ लाई जसरी उत्सवमय बनाउँथ्यौं अहिले त्यो अवस्था छैन कोरोनाको कारणले।

मानिसको स्वभाव अचम्मको हुन्छ, एउटा आदत बसेपछि त्यहि नै परम्परा बन्न पुग्दछ र परिस्थिति जस्तोसुकै आओस् उसले पुरानै परिपाटी खोज्दछ। चाहन्छ नयाँ नयाँ परिवर्तन तर आदत कायम रहन्छ पुरानै।

जानकारी र बुद्धिको धेरै विकास भएको ठान्दछ। तर समय अनुसार प्रतिकूलता र अनुकूलतामा विवेक पुर्याउन सक्दैन। जबजब प्रतिकूलता आइपर्छ आफूलाई संयम स्थिर राख्न सक्दैन। समझको विकास, विवेकको प्रयोग र सजगताको अभ्यास अनि धैर्यताको पाठ कोरोना कहरको समयले सिकाएको छ।

दुर्गा शक्तिको पहिचान

दुर्गा शक्तिको आराधनाले जस्तासुकै सङ्कट र प्रतिकूल परिस्थितिहरु पनि सहज हुन्छन् र मानव जातिको लागि कल्याणको मार्ग खुल्छ भन्ने सतानत विश्वास रही आएको छ।

अहिलेको कोरोना महामारीबाट बच्न संयमित हुनु जत्तिको आराधना अर्थात् सजगता अरू के होला? मन्दिर र मूर्तिमा खोज्ने शक्ति र भक्ति अब आफ्नै विवेकमा खोज्नुपर्ने समय आएको छ।

नकारात्मक शक्तिहरुलाई परास्त गरेर सकारात्मक ऊर्जा प्राप्त गर्ने दुर्गा शक्तिलाई अहिलेको अवस्थामा भौतिक दूरी, स्वस्थ शरीर, शान्त मन र सहजतापूर्वकको व्यवहार कसरी कायम राख्ने त्यसमा जोडदिनु नै सकारात्मक हुनु हो।

नव दुर्गाको नौ अवतार अनि हातमा भएका विभिन्न अस्त्रहरूको अर्थ सिधै असुररूपी व्यक्तिलाई हत्या गरेको नभई व्यक्तिभित्रै रहेका असुररूपी अपराध, अन्याय र बेहोसीलाई परास्त गर्नु हो। नवदुर्गा अवधिको समय प्रत्येक व्यक्तिभित्र रहेको देवत्व, दिव्य चेतना जागृत गराउने एउटा अवसर पनि हो।

व्यक्तिको जीवनमा अराजकता, अन्यौलता, कमजोरीपना, भय, नैराश्यता जागृत भएको कारण प्रायजसो अस्थिरता र अन्सतोषमा जीवन गुज्रिरहेको भेटिन्छ। प्रत्येक व्यक्तिभित्र असुरको गुण मात्र छिपेको छैन देवत्वको स्वभावपनि लुकेर बसेको छ भन्ने कुरालाई जागृत गराउनको लागि देवीहरुको, दुर्गा शक्तिको महिमालाई परम्परादेखि महत्वकासाथ हेरिंदै आइएको हुनुपर्दछ।

भौतिक होइन भक्तिको दशैँ  

दशैँ  भन्नासाथ नयाँ नयाँ पहिरन, मिठा मिठा परिकार, भोजभतेर, जमघट जस्ता भौतिक सुख र साधनप्रति ध्यान दिने प्रचलन छ। वर्ष दिनमा एकपटक पर्ने दशैँ को छुट्टि मिलाएर यि कार्यमा रमाउनु अस्वाभाविक अवश्य छैन र पनि बुझ्नुपर्ने कुरा चाहिँ व्यक्तिको स्वभाव र पहिचान के ले दिन्छ त्यो जान्नु हो।

प्रेम, श्रद्धा, स्नेह, कल्याणका गुण पनि व्यक्तिभित्रै छन्। घृणा, द्वेष, असन्तोष, लोभ, मोह पनि व्यक्ति भित्रै छिपेको छ। ‘अहिंसा परमो धर्म’ भनेर सारा प्राणीको रक्षा गर्ने देवीले कुनै प्राणीको हत्या, हिंसा गर्ने संकेत पक्कै दिएकी हुन्नन्। ‘तिमीहरु भित्र रहेको असुररुपी तत्वलाई परास्त गर’ यही नै देवी शक्तिको प्रेरणा र सन्देश हो।

देवीको अष्टभुजामा भएका हतियारहरुले दिन खोजेको संदेश हो व्यक्तिमा प्रेम, जागरण, कल्याणकारीता, सहयोग, ज्ञान, प्रज्ञा, ध्यान र धैर्यतारूपी हतियारहरू छन् र तिनलाई प्रयोग गरेर जीवनलाई सार्थक बनाउन सक्नुपर्दछ। आफ्नो आत्मसत्ताको पहिचान, स्वबोध र दिव्य चेतना जागृत नहुँदासम्म पूजा आराधना र शक्तिपिठको दर्शनले मात्र आन्तरिक रूपान्तरण नआउने हुँदा पर्व, मान्यता र पूजाआजाको मर्म के हो बुझ्न सक्नुपर्दछ।

   दशैँको जीवनशैली  

जसरी शारिरीक शक्ति प्राप्त गर्नको लागि हामीलाई उत्तम भोजन चाहिन्छ त्यसैगरी, मानसिक शान्तिको लागि उत्तम विचारको आवश्यक पर्दछ। शरिरको लागि सात्विक, शक्ति दिने भोजन उत्तम हो भने, मस्तिष्कको भोजन सकारात्मक विचार हो। हामी जस्तो विचार गर्छौं त्यस्तै भावदशा विकसित हुन्छ।

जस्तो भावदशा बन्छ त्यस्तै कर्म गर्न पुग्छौं। त्यसैले हाम्रो भोजन यस्तो होस् जसले स्फूर्ति र ताजगी प्रदान गरोस्। विचारका तरंग यस्ता होउन् जसले आन्तरिक शान्ति र सुख प्राप्त होस्। नवरात्रि भरी मिठा मिठा परिकार बनाएर परिवारजनलाई खुवाउनुमा मात्र सिमित गर्यौं भने त्यो कर्मकाण्ड बन्दछ।

यो कोरोनाकालको दशैँ मा हामी संकल्प गर्न सक्छौं- नवदुर्गाभरी म सात्विक अर्थात् शरिरलाई हित गर्ने भोजन ग्रहण गर्छु। जुन भोजनले, जुन सोचले आत्माको शक्तिलाई पनि बृद्धि गर्दछ त्यसलाई अपनाउने कोशिस गर्छु।

घर बाहिर निस्केर रमाइलो गर्ने परिस्थिति छैन त्यसैले घरभित्र रहेर आफ्नै स्वास्थ्यको बारेमा चिन्तन गर्छु। आफ्नो भित्र, आफ्नो अन्तरआत्माको आवाज र इच्छालाई बुझ्ने कोशिस गर्दछु। भित्रबाट शान्त, सरल, धैर्यवान, प्रज्ञावान, इमान्दार बन्नेछु। नकारात्मक विचारको चिन्तन गर्नेछैन।

सबैसंग मिठो बोल्छु, कसैलाई हिंसा हुने कार्य गर्दिन, कसैप्रति घृणा गर्ने छैन। कसैको बारेमा गलत र नकारात्मक सोच्ने छैन। स्वयंमा आनन्दित र प्रफुल्लित रहनेछु, प्रेम बाँड्नेछु, परोपकारका कार्य गर्नेछु, ध्यान-साधनमा डुब्नेछु। यो भन्दा उपयुक्त व्रत, संकल्पना र चेतना जागृतिको आयाम अरू के होला ?

हजुरआमाले नबुझ्ने भर्चुअल टीका

कोरोना संक्रमित र मृत्यू हुनेको संख्या बढ्दै जाँदा घर-घर पुगेर आफन्तजनबाट टिका थाप्ने माहोल त यसपटक पटक्कै छैन। युवाहरूले यसलाई आत्मसात गर्दै भर्चुअल मिटिंग राखेर आफ्ना आमाबा र ज्येष्ठ मान्यजनलाई कसरी दशैँ  मनाउने भन्ने जानकारी गराउने काम गरिरहेका छन्।

यो वर्षको दशैँ  जमघट गरेर पहिलेको जस्तै गर्न थाल्यौं भने हामीले दशा निम्त्याउने छौं हजुरआमा। हामीसँग भएको यो प्रविधि र साधन छ नि हजुरआमा, यस्तै महामारी र संकटमा परिवारलाई नजिक बनाउने माध्यम बनेर आएको छ। यसलाई हामीले उपयोग गर्दै एक आपसमा संचार र संवाद गर्नुपर्छ। घरमा नै भेट्न आएनन् भनेर चित्त दुखाउने होइन के, यो ल्यापटपबाट सबैको अनुहार देखिनेगरी कुराकानी, सरसल्लाह गर्ने हो।

त्यसैले टीकाको साइतमा जुम खोल्ने, रोलक्रमअनुसार मान्यजनले जुमबाटै टीका र आशिष दिने, यही गर्नुपर्छ भन्ने नातिको सुझाव सुन्नेबित्तिकै हजुरआमाले आफ्नो भाव व्यक्त गर्नुभो- ल त नि, टाढा भएका त आउन्नौ, नजिक भएका तिमीहरू त टीका थाप्न आउनुपर्छ भो, ल्यापटपमै आँखा टाँसेर फुपूहरूसँग कुरा गर्नुभो।

कति मान्यता र परम्परालाई महामारीले तबसम्म बुझाउन सक्दो रहेनछ जबसम्म आफैं त्यो महामारीको संक्रमणमा परिन्न। मनले पुरानै दशैँ  सम्झाईदिन्छ, पुरानै चलन याद गराउँछ। चाहेर पनि परिवर्तन हुन दिँदैन। अवसर र चुनौतीसँग गुनासो गर्ने होइन त्यसलाई कसरी प्रयोग गर्ने त्यो सोच विकसित गर्दै जानुपर्छ।

कोरोनाले गर्दा अनलाईन व्यवसाय, अनलाईन भुक्तानी, भर्चुअल मिटिङको माध्यमबाट कामहरू सहज भएका छन् भने दशैँ को टिका पनि भर्चुअल नै गर्नुपर्छ। संक्रमणबाट बच्नु र निरोगी रहनु अहिलेको लागि चुनौती बनेर आएको छ।

शरद ऋतुको न्यानो घाममा हजुरआमाको छेउमा बसेर नातिले दिएको यो निर्देशन र सुझाव अलिअलि बुझे झैँ गरी हजुरआमाले सहमति जनाउनु भयो-“महामारी त पहिले नि आयो भन्थे, यसरी कम्प्युटरमै टिका लगाउन पर्नेगरी चाहिँ आएको थिएन। नब्बे सालको भूकम्प, हैजाको महामारी, औलोको डर भन्दा पनि त्रासदीपूर्ण यो कोरोना भन्ने भाइरस ज्याद्रो नै पो रहेछ।

फूलपातीको दिन सेल त पकाउली नि तेरी आमाले? तुलसीको मठमा नरिवल फोरेर अष्टमीको पूजा गर्नुपर्छ नि! गाडी, मोटरसाईकललाई पूजा गर्ने राता, पहेंला ध्वजा पनि नल्याउने हो यसपटक? यसपटक बाहिर निस्केर भिडभाडमा जाने अवस्था नै छैन हजुरआमा ! जे छ घरमा त्यसैले काम चलाउने हो। दिनदिनै संक्रमितको संख्या बढ्दै गईरहेको छ त !

ल ल तिमीहरूकै कुरा मान्ने त हो नि मैले अब ! जमरामा पानी त दिइराखेका छौ नि ? यसपटक कोहि नआउने भएपछि त्यतिका जमरा नराखेको भएपनि हुनेरहेछ। मौनतामा त्यो दशैँ  र आफ्ना छोरीबेटी, ज्वाईंचेला, नातिनातिना आएको कल्पना गर्दै बोल्नुभो हजुरआमा-“हेरौंला नि त यो दशैँ  कस्तो हुन्छ !”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.