|
फाइल फोटो ।

अर्घाखाँची : सामाजिक रुपान्तरणको चर्को वकालत गरे पनि यहाँ बालविवाह अझै रोकिएको छैन। सरकारी तथा गैरसरकारी संघ-संस्थाहरूले सचेतनाका नाममा ठूलो धनराशी खर्च गरे पनि लुम्बिनी प्रदेशमा बालविवाहका घटना सार्वजनिक भैरहेका हुन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पहाडी जिल्लामै बढी बालविवाह देखिएको छ। प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन्‌। ती मध्ये २७ वटा बालविवाह १६ देखि १८ वर्ष उमेर समुहले गरेका छन्।

प्रदेशअन्तर्गतका जिल्लामध्ये प्युठानमा बढी बालविवाह हुने गरेको देखिएको छ। जहाँ तीन वर्षमा १९ वटा बालविवाहका घटना भएका छन्। सार्वजनिक नभएका घटना निकै हुनसक्ने प्रहरीको अनुमान छ।

दाङ दोस्रो स्थानमा रहेको छ। दाङमा १३ वटा बालविवाहका घटना भएको तथ्याङ्कले देखाएको छ। तीन वर्षको अवधिमा बढी बालविवाह भएका जिल्लाको सूचीमा बाँके तेस्रो स्थानमा छ। बाँकेमा आठवटा घटना भएका छन्। अर्घाखाँचीमा तीन, गुल्मीमा दुई र कपिलवस्तु, रुकुम पूर्वमा र रुपन्देहीमा एक/एक वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ।

नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए। प्रहरीमा दर्ता भएका घटनाका मात्र आफूहरूले सार्वजनिक गरेको उनले बताए।

बालविवाह गर्नेहरूको तथ्याङ्क अध्ययन गर्दा जातीय आधारमा सबैभन्दा बढी ब्राह्मण-क्षेत्री रहेका छन्। सोही समुदायका बालबालिकाहरू बढी पीडित भएको देखिन्छ। बालविवाहको तथ्याङ्क हेर्दा ब्राह्मण क्षेत्री समुदायका १६ वटा बालविवाहका घटना भएका छन् भने जनजातिका पनि १६ वटै बालविवाहका घटना दर्ता भएका छन्।

दलित समुदायमा नौ तथा मधेसी समुदायमा आठवटा बालविवाहका घटना भएका छन्। अनुसन्धान गर्दा अधिकांश घटना आर्थिक लोभलालचदेखि आफन्तको दबावमा भएको देखिएको प्रहरीले जानकारी दिएको छ। मधेसका कतिपय समुदायमा बालविवाहको प्रचलन रहेको भनिएपनि त्यहाँका अधिकांश घटना ढाकछोप गर्ने गरिएको प्रहरीको अनुमान छ।​

बालविवाह विरुद्ध प्रहरी अभियान

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बालविवाह विरुद्ध १५ दिने सचेतना अभियानको थालनी गरेको छ। समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका सबै जिल्ला र प्रहरी इकाइहरूमा त्यस्तो अभियान शुक्रबारदेखि सुरु गरिएको हो।

स्थानीय सरकार तथा विभिन्न संघ-संस्थाको समन्वयमा प्रहरीले शुक्रबारदेखि कात्तिक २८ गतेसम्म सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारले जानकारी दिए।

प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन हुने अभियानमा मातहतका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५/५ वटा कार्यक्रम सञ्चालन गर्ने भएका छन्। त्यस्तै, वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम सञ्चालन गरिनेछन्।

कार्यक्रम अन्तर्गत प्रहरी चेक पोष्टहरूमा सचेतनामूलक ब्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २/३ जनाको समूहमा अभियानबारे जानकारी गराउने प्रदेश प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.