सन्दीपको सम्भावना कति?
सन्दीपको सम्भावना कति?
काठमाडाैं : यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ।
दिल्लीले आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा बैंग्लोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो। दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण छ। जुन टिमले यो म्याच जित्छ ऊ टोली ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ।
दिल्ली र बैंग्लोरलाई प्लेअफ पुग्न यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले यस खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा छ। उसको १४ अंक छ।
समान खेलमा समान अंक जोडे पनि श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली तेस्रो स्थानमा रहेको छ। यस खेलको विजेताले प्लेअफमा स्थान बनाउने छन्। तर, पराजित हुने टिमको प्लेअफ यात्रा लिग चरणको अन्तिम खेलले मात्र तय गर्नेछ।
लिग चरणको अन्तिम खेलमा प्लेअफ पुगिसकेको मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ।
अन्तिम खेलमा मुम्बईले जित निकालेमा दिल्ली र बैंग्लोरबीचको खेलमा पराजित हुने टिमसमेत प्लेअफमा पुग्नेछ। हैदराबाद विजयी भएमा नेट रेन रेटका आधारमा शीर्ष चारमा पुग्ने टोलीको टुंगो लाग्नेछ।
यसै सिजन दुईबीचको पहिलो भेटमा दिल्लीले बैंग्लोरलाई हराएको थियो। बैंग्लोरमाथि दुबईमा दिल्लीले ५९ रनको जित निकालेको थियो।
दिल्ली त्यही जितलाई कायम राख्ने योजनामा समेत हुनेछ। बैंग्लोर भने अघिल्लो भेटमा बेहोरेको हारको बदला लिन चाहन्छ।
दुवै टिमको प्रदर्शन
दिल्ली क्यापिटल्सले यस सिजनमा राम्रो सुरुवात गरेको थियो। कुनैबेला लाग्थ्यो दिल्ली सहजै प्लेअफको लागि क्वालिफाइइ हुनेछ। तर, पछिल्लो चार खेलमा पराजयको सामना गरेपछि दिल्ली अब प्लेअफमा पुग्न संघर्ष गरिरहेको छ।
दिल्लीले आफ्नो टोलीमा ठूलो परिवर्तन ल्यायो। लिगको ३८औं खेलमा पञ्जाबविरुद्ध पराजित भएसँग उसको हारको श्रृंखला सुरु भयो। कप्तान श्रेयस अय्यरले डेनियल सामको नाम प्लेइङ–११ राखेका थिए। त्यहाँबाट दिल्लीको हार र टोलीमा परिवर्तनको श्रृंखला सुरु भएको थियो।
उसका अनुभवी ओपरन शिखर धवन पछिल्लो केही खेलमा सुरुवातमै ‘आउट’ भइरहेका छन्। जसका कारण युवा खेलाडीहरूमा रन बनाउने दबाब छ।
यता बेंग्लोरको अवस्था पनि दिल्लीको जस्तै छ। तीन खेलअघि उसलाई सीधा प्लेआफमा पुुग्न केवल दुई अंक चाहिएको थियो। तर, हारको ‘ह्याट्रिक’ पछि बेंग्लोर प्लेअफमा पुग्न पनि संघर्ष गरिरहेको छ।
चेन्नई सुपर किंग्सको हारसँगै बेंग्लोरका विस्फोटक ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सको ब्याटबाट रन बनिरहेको छैन। चेन्नईविरुद्ध कोहलीले ४३ बलमा ५० रन बनाएका थिए। जसमा एक चौका र एक छक्का सामेल थिए। डिभिलियर्सले ३६ बलमा ३९ रन बनाएका थिए।
मुम्बईविरुद्ध कोहलीले ९ र डिभिलियर्सले १५ रन मात्रै बनाउन सकेका थिए। हैदराबादविरुद्ध कोहली र डिभिलियर्सले क्रमशः ७ र २४ रन मात्रै बनाएका थिए।
हेड–टू–हेड
हालसम्म यी दुई टोलीहरूबीच २४ खेल खेलिएका छन्। जसमा बेंग्लोर १४ र दिल्ली ९ पटक विजयी भएको छ। तर, २०१९ देखि दिल्लीले बेंग्लोरसँग एक खेल पनि गुमाएको छैन। २०१९ मा पहिलो खेलमा दिल्ली ४ विकेट र दोस्रो खेलमा १६ रनले विजयी भएको थियो।
सन्दीपको सम्भावना कति?
लिग चरणको अन्तिम म्याचमा पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना कम छ।
विदेशी कोटाबाट खेलिरहेका खेलाडीले पछिल्लो म्याचमा प्रदर्शन सन्तोषजनक नगरे पनि आज पनि उनीहरूलाई नै दिल्लीले दोहोर्याउने सम्भावना छ।
अघिल्लो म्याचमा अक्षर पटेलको स्थानमा मौका पाएका प्रवीण दुबेले आज पनि खेल्ने सम्भावना छ। डेब्यु म्याचमा विकेटविहीन रहे पनि दुबे बलिङका साथै ब्याटिङ पनि गर्न सक्छन्।
आजको खेल जित्नैपर्ने दबाबमा रहेको दिल्ली बलियो प्लेइङ–११ का साथ मैदान उत्रिने छ। यसो हुँदा लगातार बेन्चमा बसिरहेका सन्दीपलाई आज पनि दिल्लीले मौका दिने सम्भावना कमजोर छ।
यदि आज सन्दीपले मौका नपाए उनी यो सिजभर बेन्चमै सीमित हुनेछन्। दिल्लीले १३ म्याच खेल्दा उनी कुनै पनि खेलमा अन्तिम–११ को हिस्सा बन्न सकेका छैनन्।
दिल्लीले आज निकै परिर्वतन गरेको अवस्थामा चाहिँ सन्दीपले मौका पाउन सक्छन्। एनरिक नोर्टजेले यही सिजनमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्दै इतिहास रचेका थिए। तर, उनको प्रदर्शन पनि पछिल्लो म्याचमा सन्तोषजनक छैन। कागिसो रबाडा र नोर्टजे नचल्दा दिल्ली निरन्तर पराजित भइरहेको छ।
प्रदर्शन खराब भएपनि दिल्लीले नोर्टजे र रबाडाको विकल्प खोज्ने सम्भावना निकै कम छ। यद्यपि, शिमरोन हेटमायर र मार्कस स्टोइनिसमध्ये एकलाई चाहिँ आज दिल्लीले विश्राम दिन सक्छ। यी दुबै खेलाडीको पछिल्लो खेलमा खास प्रदर्शन रहन सकेको छैन।
स्टोइनिस र हेटमायरमध्ये एकलाई विश्राम दिएर दिल्लीले बेन्चमा बसिरहेका एलेक्स क्यारी, सन्दीप लामिछाने, किमो पउल र डानियल साम्समध्ये एक खेलाडीलाई प्रयोग पनि गर्न सक्छ।
दिल्लीको सम्भावित प्लेइङ ११
शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, रविचन्द्रन आश्विन, एनरिक नोर्टजे, शिमरोन हेटमायर/सन्दीप लामिछाने, कागिसो रबाडा र प्रवीण दुबे
बेंग्लोरको सम्भावित प्लेइङ–११
देवदत्त पाडिक्कल, जोश फिलिपी, विराट कोहली (कप्तान), एबी डिलियर्स, इशरु उडाना, क्रिस मोरिस, गुरकितमान सिंह, वासिङ्टन सुन्दर, नवदीप सैनी, मोहम्मद सिराज र युजवेन्द्र चहल
तपाईंको ईमेल गोप्य राखिनेछ ।