|

अर्घाखाँची : सुत्केरी अवस्था आराम गर्ने र स्याहार-सुसार पाउने बेला हो। सुत्केरीले आफ्नो र बच्चाको निकै ख्याल गर्नुपर्ने बेला हो। 

तर, गुल्मीको धुर्कोट गाउँपालिका-७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनीसँगै श्रीमान् ३३ वर्षीय मनिराम घिमिरेलाई प्रहरीले चार दिन अघि बहुविवाह मुद्दामा बुटवलबाट गिरफ्तार गरेर हिरासतमा राखेको हो। 

मनिरामकी जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि उनीहरूलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको थियो।  यतिखेर नवजात शिशुसहित बाबुआमा गुल्मी प्रहरीको हिरासतमा छन्।

दिउँसोमा रमिता भुसाल सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङ्गणमा बस्छिन्। सुत्केरी भए देखिको रगत अझै रोकिएको छैन। हिरासतमा खानपान र स्वास्थ्यमा समेत समस्या भएकाले बाहिर बस्ने व्यवस्था मिलाइदिने गरी समन्वय गरिदिन उनले आग्रह गरेकी छिन्। 

हिरासतमा विभिन्न आरोपका व्यक्तिहरू आउने/जाने क्रम भएकाले आमाछोरालाई चिसोसँगै कोरोना संक्रमणको डर उत्तिकै छ। दिउँसोमा बच्चासहित बाहिर बसेकी रमिताको दृश्यले प्रहरीमा पुग्ने जो कसैको मन विचलित हुन्छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जेठी श्रीमतीले उजुरी दिएपछि उनीहरूलाई बुटवलबाट गिरफ्तार गरिएको जानकारी दिएका छन्‌। उनले चिसो र संक्रमणको डर भएपनि मुद्दाअनुसार हिरासतमै बस्नुपर्ने बताए। कानूनको प्रकृयाबमोजिम आफूहरूले छिटोभन्दा छिटो अदालतमा पेश गर्न खोजिरहेको उनको भनाइ छ।

नवजात शिशुसहित सुत्केरी महिला हिरासतमा रहेकाले कानूनी प्रकृयामा बिलम्ब नगर्न र मातृशिशु स्वास्थ्यमा गम्भीर हुन सरोकारवालाहरूले प्रशासनलाई आग्रह गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.