दूतावास भन्छ : द्विपक्षीय वार्ता उपलब्धिमुलक

|

काठमाडौं : भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाले नेपालमा राजनीतिक भेटघाट तीव्र बनाएका छन्। बिहीबार बिहान काठमाडौं ओर्लिएका उनले नेपालीमा आफ्ना भनाइ राख्दै दुई देशबीचको सम्बन्ध सुधारमा जुट्ने बताएका थिए।

उनले काठमाडौं आइपुगेपछि बिहीबार दिउँसो समकक्षी परराष्ट्र सचिव डा. भरतराज पौड्यालसँग भेटवार्ता गरेका छन्। उनीहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

परराष्ट्र सचिवस्तरीय बैठक सकिएपछि भएको भेटवार्तालाई भारतीय दूतावासले उपलब्धीमूलक भनेको छ। नेपालको भूमि अतिक्रमण गरेपछि चर्किएको विवादलाई साम्य पार्ने भारतीय प्रयासबीच विदेश सचिव श्रृंगला नेपाल आएका हुन्। 

बिहीबारै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि श्रृंगलाले भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताबारेमा दुई पक्षले केही खुलाएका छैनन्। 

गत कात्तिक १९ गते भारतीय सेना अध्यक्ष  एमएम रनवानेले नेपालको भ्रमण गरेका थिए। त्यसपछि रअका प्रमुख सामन्त गोयल पनि काठमाडौं आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि नेपालमा चर्को विवाद भएको थियो। 

यी सबै श्रृंखलालाई भारतले नेपालसँग बिग्रिएको सम्बन्ध सुधारको कोसिसका रुपमा व्याख्या गरिएको थियो। यहीबीचमा बिहीबार नेपाल आएका श्रृंगलाले पनि त्रिभुवन विमानस्थलमा नेपालीमै बोल्दै नेपाल-भारतको सम्बन्ध अझै मजबुत हुने बताएका छन्। 

उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग दुई देशबीचको छलफल हुने बताएका थिए। 'भोलि नेपाल-भारत मैत्री सम्बन्ध बारे भर्चुअल गफ हुनेछ',  उनले भने, 'म नेपालको गोरखा जिल्ला पुग्नेछु।'  

जहाँ भारतले ५० हजार घर बनाउने योजना अन्तर्गत ४० हजार घर निर्माण भइसकेको र त्यसको निरीक्षण गर्ने कार्यक्रम छ। यसको अलवा भारतको योजना नेपालको शिक्षा क्षेत्रको विकास पनि रहेको उनले बताए।

बैठक उपलब्धिमुलक

यसैबीच काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार सम्पन्‍न नेपाल-भारत विदेशसचिवस्तरीय बैठकलाई उपलब्धिमूलक भनेको छ। 

'विदेश सचिवद्वय हर्षवर्द्धन श्रृंगला र भरतराज पौड्यालबीच उपलब्धिमुलक भेटघाट भयो, जसमा उहाँहरूले द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र आपसी हितका मुद्दाहरूमा छलफल गर्नुभयो,' दूतावासले भनेको छ। 

दुई दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेशसचिव श्रृंगला बिहान काठमाडौं आइपुगेका हुन्। काठमाडौं उत्रिएलगत्तै उनी नेपाल-भारत विदेशसचिवस्तरीय बैठकमा सहभागी भए। त्यसपछि उनी राजनीतिक भेटघाटमा सक्रिय भएका हुन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै साँझ ५ बजे भेटवार्ता गर्दैछन्। त्यसपछि शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग साँझ ६ बजे शिष्टाचार भेटको कार्यक्रम छ।

प्रधानमन्त्री-राष्ट्रपति भेट

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। उच्‍च स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहीबार राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।

भारतीय विदेश सचिव श्रृंगलाले नेपालको राजनीतिक भेटघाट गरिरहेका बेला प्रधानमन्त्री राष्ट्रपतिबीचको भेटघाटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। श्रृंगलाले पराराष्ट्रमन्त्री ज्ञवालीलाई आजै सिंहदराबारमा भेट गरिसकेका छन्।

नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश गरेको १९ पृष्ठ लामो प्रस्तावपछि पछिल्लो समय नेकपामा दुई अध्यक्षबीच संवादसमेत हुन सकेको छैन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.