प्रधानमन्त्रीको 'भ्यु टावर' देखि जनप्रतिनिधिसम्मले अवरोध गर्दै

|

विराटनगर : ​रुट विवाद बढेपछि मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) निर्माण शुरूवाती चरणमै रोकिएको छ। सरकारले तीन वर्षअघि नै यो राजमार्ग बनाउने घोषणा गरेको थियो। 

इलाम,झापा,मोरङ र सुनसरी जिल्लामा कहाँबाट राजमार्ग लैजाने भन्नेमा विवाद भएकोले सडक निर्माणको काम रोकिएको हो। फिल्ड सर्भेको काम सम्पन्न भएपनि यी चार जिल्लामा रुट विवाद अझै कायम छ। जसकारण सडक निर्माण नै रोकिन पुगेको हो।

स्थानीयले पूर्वको धरानबाट झापासम्म १२० किलोमिटर सडक निर्माणका लागि आयोजनाले गरेको फिल्ड सर्भेअनुसार काम गर्न नदिने अडान लिएका छन्‌। सोहीकारण झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपाल जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको पूर्वी खण्ड रेखाङ्कनकै विवादमा फसेको छ।

धरानदेखि झापासम्मको डीपीआर बनेपनि विभिन्न खण्डमा विवाद भएपछि सडक निर्माणको काममा अन्यौलता छाएको छ। 

सबैभन्दा बढी विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा देखिएको छ। मदन भण्डारी सडकले दमकमा पूर्वपश्चिम राजमार्ग छुन्छ।

यही राजमार्गबाट उत्तरतर्फ प्रधानमन्त्रीकै अग्रसरतामा ‘भ्यु टावर’ पनि बन्दैछ। अब यही भ्युटावर आसपास पर्नेगरी मदन भण्डारी राजमार्ग बनाउन तयारी भएको भन्दै माथिल्लो भेगमा स्थानीयले विरोध शुरू गरेका छन्।

स्थानीयले यो आयोजनाको साविक रेखाङ्कनअनुसार काम थालिए धेरै घरमा क्षति हुने भन्दै विकल्प खोज्न आग्रह गरेका छन्‌।

​मोरङको केराबारी, लेटाङ र मिक्लाजुङ, झापाको शान्तिनगर (दमक) र सुनसरीको धरान क्षेत्रमा धेरै समस्या देखिएको छ। धरान–झापा करिब १२० किलोमिटर खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) दुई वर्ष अघि नै बनेको थियो।


मधुमल्ला बजार हुँदै पश्चिम उत्तर जोडने लेटाङ जोडने सडक​।

सरकारले २०७५ जेठमा राष्ट्रिय आयोजना घोषणा गरेको यो राजमार्गको लागि पहिलो पटक आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो।

कुल १२ सय किलोमिटर लम्बाइको प्रस्तावित राजमार्गलाई १० खण्डमा विभाजन गरेर निर्माण सम्पन्न गर्ने सरकारको योजना छ।

रेखाङ्कनमा लफडै-लफडा

मोरङको केराबारी, लेटाङ र मधुमल्लाका स्थानीयले गत वर्ष भएको सडक सर्वेविरुद्व संघर्ष समिति नै गठन गरेका छन्। सम्बन्धित पालिकाले पनि स्थानीयको मागमा समर्थन गरेका छन्। यसले गर्दा आयोजनाको ठेक्का आह्वान प्रकृया रोकिएको छ।


मोरङ टाँडीस्थित चारकोसे झाडी वनक्षेत्र, मदन भण्डारी राजमार्ग यही वनक्षेत्र छिचोल्दै विस्तार गरिनेछ।

आयोजनाले मधुमल्ला, लेटाङ र केराबारी बजारका धेरै घर हटाउने गरी सर्भे गरेको स्थानीयको भनाइ छ। लेटाङ नगरपालिका र केराबारी गाउँपालिकाले पनि पुनः रेखाङ्कन हुनुपर्ने निर्णय गरेका छन्।

मधुमल्ला बजार रहेको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राई अब स्थानीय सरकारको सहयोगमा पुनः रेखाङ्कन हुनुपर्ने बताउँछिन्। ​ लेटाङका मेयर शंकर राई बीच बजारबाट नभई दाँया–बाँयाबाट सडक लैजानुपर्ने बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा पनि राजमार्गको रेखांकनको विरोध भइरहेको छ।


मधुमल्ला र लेटाङ जोड्ने सडकमा पर्ने कसेनी चौक​।

बजारबासीको विरोधमा सम्बन्धित स्थानीय तहदेखि प्रदेश र संघीय सांसदसम्मले समर्थन जनाएका छन्। प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने घनश्याम खतिवडा यो राजमार्ग चुरेको फेदी हुँदै जानुपर्ने बताउँछन्। ‘सडक नपुगेका क्षेत्रका जनतालाई हेरेर यो राजमार्गको परिकल्पना गरिएको हो’, उनी भन्छन्, ‘त्यसकारण पुनः रेखांकन गर्नुपर्ने देखियो।’

उता सुनसरीको धरानमा पनि समस्या देखिएको छ। रेखांकनविरुद्व गठित संघर्ष समितिले प्रस्तावित मदन भण्डारी राजमार्गबीच धरानबाट नभई तीनकुनेबाट ‘बाइपास’ गरेर लैजान माग गरेको छ।

रेखाङ्कनअनुसार १४० फिट चौडा प्रस्तावित राजमार्ग धरानको वडा नं ८, १०, १९, १८ र १७ हुँदै जान्छ। यही कारण यी वडाबासीले २०७२ चैतदेखि घरजग्गा किनबेच गर्न, बनाउन र बैंकिङ कारोबार गर्न पाएका छैनन्। धरान उप–महानगरपालिकाले यी वडाहरूको सडक मापदण्ड साविककै ७२ फिट कायम गर्ने निर्णय गरेको छ।

२५०० भन्दा बढी घर भत्कने

हालको रेखाङ्कन कायम भएको अवस्थामा प्रस्तावित मदन भण्डारी राजमार्गका लागि पूर्वका तीन जिल्लामा मात्र २५०० भन्दा बढी स्थानीयको घर भत्काउनुपर्ने अनुमान छ। धरानमा सबभन्दा बढी १५ सय घर भत्कने धरान उप–महानगरपालिकाले जनाएको छ।

त्यस्तै, केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले आयोजनाले सडक छेउका ४०० भन्दा बढी स्थानीयको घर भत्काउने गरी रेखाङ्कन गरेको बताए। उता लेटाङ र मिक्लाजुङमा क्रमशः ३०० र १०० घर भत्किने अनुमान छ। त्यस्तै, दमक क्षेत्रमा १०० हाराहारी स्थानीयको घर परेको छ।


लेटाङ बजार क्षेत्र ।

प्रस्तावित राजमार्गमा घर परेका स्थानीयले संघर्ष समिति बनाएर मुख्यमन्त्री शेरधन राईदेखि प्रधानमन्त्री ओलीसम्मको ध्यानाकर्षण गराएका छन्। यो राजमार्गको लागि पुनःरेखाङ्कन हुनपर्ने सबैको माग छ।

आयोजना प्रमुख भन्छन् : शुरूमै समस्या भयो

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठ यो राजमार्ग घोषणा हुनुअघि नै सडक विभागले सर्भे गर्दा कुनै विरोध नभएको, तर अहिले निर्माण चरणमा लैजान खोज्दा विवाद निम्त्याइएको बताउँछन्। ​शुरूवाती चरणमै विवाद देखिइँदा काम गर्न समस्या भएको उनको भनाई छ।


झापाको दमक र मोरङको मधुमल्ला जोड्ने मावा खोला पुल ।

चुरे पहाड छोएरै जाने गरी डीपीआर भएपनि वातावरणीय विनाश धेरै हुने देखिएपछि रुटलाई अलि तल झार्न खोजिएको पनि श्रेष्ठले बताए। सडकका काममा रेखाङ्कन विवाद भए पनि पुलहरूको काम भने अगाडि बढेको उनले बताए।

‘राजमार्गलाई जताबाट लगेपनि विवादरहित ढंगले काम गर्न सकिने अवस्था छैन’, उनी भन्छन्, ‘स्थानीय तहहरूले पनि राजमार्ग निर्माण निर्माण सम्बन्धमा बोली फेरिरहने परिपाटीले समस्या थपेको छ।’

रेखांकनमा विरोध भए पनि यो खण्डको २६ वटा पुलको ठेक्का साविक रेखाङ्कनको आधारमा लागेर मुल्याङ्कन भइरहेको जानकारी उनले दिए।


मदन भण्डारी सडकले जोडने मधुमल्ला बजार क्षेत्र​।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.