पूर्वएमालेको गुटमा खेलेर प्रचण्डले पार्टी फुटाउने धन्धा गरेको आरोप

|

हेटौंडा : नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डले नेकपामा अस्थिरता पैदा गरेको बताएका छन्। शनिबार हेटौंडामा आयोजित मकवानपुर जिल्ला भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले तत्कालिन एमालेका गुटमा खेलेर प्रचण्डले पार्टी फुटाउने धन्धा गरेको आरोप लगाएका हुन्।

उनले पार्टी एक हुँदा देखि नै चुनाव चिन्हबाट प्रचण्डले अस्थिरताको भ्रूण जन्माएको संकेत दिए पनि तत्कालिन नेकपा एमालेले कम्युनिष्ट एकताको लागि चुनाव चिन्हमा अड्कन नहुने भन्दै  सहेको बताए।

तर अस्थिरताको भ्रुण विकसित भएर प्रचण्डले यो स्थितीमा ल्याएको बताए। पोखरेलले तत्कालिन एमालेमा रहेको माधव नेपाल पक्षहरुले केपी ओलीको लोकप्रियता र काम प्रति अवरोध गर्ने काम गर्दै आए पनि एमाले बलियो अवस्थामा हुँदा प्रचण्डले नेकपा एकता भएपछि उक्त गुटगत विषयमा घुसपैठ गरेको आरोप लगाए।

पोखरेलले भने, ‘अहिले माधव नेपाल पक्षको  कुण्ठा र प्रचण्ड पक्षको ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्तिको मिलन भएको हुँदा आधिकारिक नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र चुनाव चिह्न सूर्य नै हुन्छ।’

सरकार सञ्चालनमा दोस्रो वरीयताका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपाल पक्षले जहिले पनि बखेडा झिक्ने गरेको पोखरेलले बताएका छन्। उनले सबै क्षेत्रमा केपी शर्मा ओलीलाई नेकपाको अर्को पक्षले असहज बनाएपछि बाध्य भएर जनतामा सामु न्यायको लागि गएको बताए। जनताले अब हुने चुनावमा अन्तिम फैसला गर्ने र यसको विकल्प नरहेको पोखरेलले दाबी गरेका हुन्। 

प्रचण्डले आरोप पत्र फिर्ता लिए एकताको कदम

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा एकता हुने अझै दुई वटा आधार देखाएका छन्। प्रचण्डले पेस गरेको आरोप पत्र फिर्ता लिए एकताको कदम बढ्न सक्ने उनले बताएका छन्। 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य काशिनाथ अधिकारीले निष्ठा र देशप्रेमका लागि राजनीति गर्दा प्रचण्ड–नेपाल पक्षले जनताको सपनामाथि तुसारापात गरेको बताए।

जनताले ५ वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम गर्न जनमत दिए पनि गर्न नदिएकाले संसद विघटनको अवस्थामा आइपुग्नुपरेको उनको भनाइ थियो। विधि र पद्धतिको कुरा गर्ने नेकपा प्रचण्ड–नेपाल पक्षले जनता र कार्यकर्तालाई धोका दिएका पनि उनको भनाइ थियो। 

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री दावा लामाले केपी ओलीको नेतृत्व छाडेर जाने प्रचण्ड–नेपाल समूहलाई नेकपाको भेलले भारत कटाइदिने दाबी गरेका छन्।

मन्त्री लामाले केपी ओली नै मुलधारको नेतृत्व भएको बताए। उनले भने, ‘हाम्रो पितापुर्खाको भनाइ छ, संकटमा नआत्तिनू,दुखमा नमात्तिनू तपाईंहरु सतिसाल भएर उभिनुभएको रहेछ, अब मकवानपुरको यो कार्यकर्ताको भेलले ,ओली नेतृत्वको यो भेलले उहाँहरुलाई राप्ती खोलाको बोर्डर मात्र हैन, भारत कटाउँछ। भारत मात्र हैन बंगालको खाडी पुर्‍याउँछ।'

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले जनताको बलबाट स्थापित लोकतन्त्र र संविधान बचाउनकै निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताए। कार्यक्रममा ओली पक्षधर नेकपाका केन्द्रीय नेतादेखि स्थानीय स्तरसम्मका नेताको उपस्थित थियो। 

ओली नेकपा अध्यक्षमा श्रेष्ठ

ओली समूहले नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट निष्कासन गरेको छ। शनिबार हेटौँडा भएको जिल्ला भेलाबाट नेकपा ओली समूहका जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले मुनु सिग्देल र प्रेम बहादुर पुलामीलाई क्रममा उनीहरुलाई निष्काशन गरिएको जानकारी दिएका थिए। 

सिग्देल तत्कालीन एमालेको नेपाल पक्षबाट जिल्ला अध्यक्ष भएकी थिइन्। यस्तै पुलामी प्रचण्ड निकट प्रदेश सांसद हुन्। पार्टी एक हुँदा सचिव माओवादीको भागमा परेकोले उनले सचिव पद पाएका थिए। ओली समूहले नेकपा मकवानपुरको जिल्ला अध्यक्षको जिम्मेवारी एकलाल श्रेष्ठले दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.