|

बैतडी : अगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा ९ मतदानस्थल थप गरिने भएको छ।

पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा गरी ९ वटा मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

मतदाता संख्या बढी भएको र भौगोलिक रूपमा टाढा रहेको मतदान स्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। उनका अनुसार पुर्चौडी, सिगास र डिलाशैनीमा २/२ र मेलौली, पाटन र पञ्चेश्वर गाउँपालिकामा १/१ मतदानस्थल थप गरिने भएको हो।

पुर्चौडी-२ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चौडी १० को गलेश्वर माध्यमिक विद्यालय कटपते, सिगास ६ को नौला आधारभूत विद्यालय बत्थी, सिगास ९ को निरपाल आधारभूत विद्यालय चुवा, डिलाशैनी ५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी ७ को डिलाशैनी मावि खेती गाउँमा मतदानस्थल थपिने भएको जिल्ला निर्वाचन अधिकारी फुयाँलको भनाई छ।

यस्तै, मेलौली ७ मा मणिलेक मावि केशरपुर, पाटन १ को भुवनेश्वर आवि लदौली र पञ्चेश्वर ६ को आम्पुर मावि विजुललाई पनि नयाँ मतदान स्थलका रूपमा थप्न सिफारिस गरिएको छ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदान स्थलहरूलाई थप गर्ने निर्णयसहित निर्वाचन आयोगलाई सिफारिस गरेको हो । 

२ वटा मतदानस्थल सार्ने निर्णय 

जिल्लाको २ वटा मतदान स्थललाई सार्ने निर्णय पनि भएको छ।

दोगडाकेदार गाउँपालिका ४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदान स्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदान स्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको छ। 

वि.सं. २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनको बेला १२० मतदानस्थल रहेकोमा ९ वटा थप हुँदा बैतडीमा अब अब १२९ वटा मतदानस्थल रहनेछन्। 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेका थिए।

सरकारले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछिको विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।

सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचन आयोगले निर्वाचन तयारी गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.