|

धनकुटा : गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेपालमा राजनीतिक र संवैधानिक संकट चुलिएको छ।

कार्यपालिकाले व्यवस्थापिका भंग गरेपछि यो विषय न्यायपालिकामा पुगेको छ र आ-आफ्नो पक्षमा निर्णय हुनुपर्ने भन्दै नेकपाका दुई समूहले न्यायपालिकामाथि नै दबाब थोपरिरहेका छन्‌। निर्वाचन आयोग पनि विभाजित सत्तारूढ दल विवादको घानमा परेको छ। 

प्रतिनिधिसभा विघठन भएपछि प्रतिपक्ष दलहरूले आन्दोलन गर्नु नौलो कुरा होइन। तर, दुई फ्याक भएको सत्तारुढ दलका समूहले निरन्तर सडकमा शक्ति प्रदर्शन गरिरहेको छ।

प्रदेश १ का दुई ठाउँमा शनिबार नेकपाको नामबाट दुईवटा कार्यक्रम भए, जहाँ एउटै नाम झण्डा प्रयोग भएका थिए। प्रदेश १ को राजधानी विराटनगरमा नेकपाको केपी ओली पक्षले जनसभा र संखुवासभामा नेकपाको प्रचण्ड नेपाल समूहले विरोध कार्यक्रमको आयोजना गरेको थियो।

दुवै कार्यक्रममा एकले अर्कालाई गर्नुसम्म गाली गरे। ओली पक्षले ताजा जनादेशको पक्षमा जनसभा र प्रचण्ड माधव समूहले प्रतिनिधि सभा पुन:स्थापना पक्षमा भन्दै विरोध सभा गरेको हो।

पक्ष र विपक्षमा भइरहेका कार्यक्रमले छुट्टै र अचम्मलाग्दो माहोल बनाइरहेको छ। एउटै पार्टीको झण्डा र ब्यानर बोक्ने अर्को पक्षमाथि कटु छेडछाड र तिरस्कार भावको जात्रा लगाइएको छ। 

नेकपा औपचारिक रुपमा त विभाजन भएको छैन। तर, एकले अर्कोलाई प्रतिगामी भन्दै आलोचना गर्ने, खुइल्याउने काम गरिरहेको छ। झण्डै एक महिनायता दुवै नेकपा यसरी खुलेर आलोचना अनि बदख्वाइँमा उत्रिएका छन्‌ कि अब दुई पक्षले दोषारोपण गर्न बाँकी केही छैन।

नेकपा २ धारमा विभाजन भएपछि दिनहुँ ४-५ ठाउँमा आमसभा र विरोध प्रदर्शन तथा शक्ति प्रदर्शन हुने गरेको छ। प्रधानमन्त्री समेत रहेको केपी शर्मा ओलीले एउटा समूहको नेतृत्व गरेका छन्‌ भने पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले अर्को समूहको नेतृत्व गरेका छन्‌।

तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीच एकता भई बनेको नेकपा अहिले औपचारिक रूपमा फुट्न मात्र बाँकी छ। तर, यो पार्टी विभाजनको दिशा तत्कालीन एमाले र माओवादीबीच हुँदैछैन। एमालेको नेतृत्व सम्हालिसकेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रचण्ड समूहमा छन्‌। पूर्वमाओवादीका केही प्रमुख नेताहरू ओलीको कित्तामा उभिएका छन्‌। 

ओली पक्षको जनसभामा होस्‌ या प्रचण्ड नेपाल समूहको विरोधसभा, वा देशका कुनै पनि कुनामा एक पक्षले अर्को पक्षलाई गर्ने गरेको गालीको उत्तर उति नै खेर वा भोलिपल्टसम्म भएपनि आइहाल्छ। ओलीले त प्रचण्ड मात्र हैन, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराई हुँदै रामकुमारी झाक्रीसम्मलाई गालीगलौज गर्दै आइरहेका छन्‌। प्रचण्ड पनि ओलीसहित त्यस समूहतिर लागेका केही पूर्व माओवादी नेतामाथि समेत खनिइरहेका छन्‌।

​प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलन : प्रधानमन्त्री ओली

शनिबार विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी पनि दिए।

उनले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यस विपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरे। देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै ओलीले चुनाव वैशाखमै हुने उनको दाबी थियो।

कुनै कारण प्रतिनिधि सभा पुन:स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने प्रधानमन्त्री ओलीले दाबी जिकिर गरे।​

उनले सिद्धिएका प्रचण्डलाई आफूले सिङ हालिदिएको र आफूले लगाइदिएको सिङ बढेपछि प्रचण्डले आफूलाई सिध्याउन लागिपरेको आरोप लगाए।

प्रचण्ड-माधव पक्षले काठमाडौंमा गरेको सभामा प्रचण्डले ‘केपी जी देख्नु भो सभा कस्तो हुँदो रहेछ’ भनेको कुरालाई इंगित गर्दै ओलीले विराटनगरमा सभा हेर्न आउन आग्रह गरे। 

सभामा उपस्थित आफूनिकट नेता-कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले पनि सम्बोधन गरेका थिए। उनीहरूले पनि प्रचण्ड-माधव समूहको आलोचना गरेका थिए। 

संसद पुन:स्थापना हुन्छ - माधव नेपाल

संखुवासभाको खाँदबारीमा नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको विरोध सभामा सो समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चाँडै संसद्‌ पुन:स्थापना हुने दाबी गरे‌।

उनले ओलीले 'श्री ३' बन्न संसद्‌ विघटन गरेपनि त्यो पुन:स्थापना भएरै छोड्ने दाबी गरेका हुन्‌। संसद्‌ पुन:स्थापना भएपछि ओलीको हालत पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तो हुने नेपालले दाबी गरे।

पूर्वप्रधानमन्त्री नेपालले ओलीले चालेको असंवैधानिक कदमको विरुद्ध जनताले आन्दोलन थालिसकेको बताउँदै प्रतिगमन सच्याउन आफूहरू लागिपरेको बताए।

अहिले दल, नागरिक समाज, बुद्धिजीवी, युवा, किसान र विद्यार्थीले आन्दोलन गरिरहेका कारण ओलीको सत्ता चाँडै ढल्ने नेपालले दाबी गरे। लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उनको तर्क थियो। 

'जिन्दावाद' र 'मुर्दावाद' एकै ठाउँमा

विराटनगरको सडकमा 'केपी बा-आइ लभ यु,’ 'केपी बा जिन्दावाद’ का नारासहित कार्यकर्ता भित्रँदै गर्दा सोही सडकमा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ता भने प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजीसहित कालो झण्डा लिएर देखापरेका थिए।

विद्यार्थी र कार्यकर्ताहरूले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन। कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.