|

मकवानपुर : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा खुसियाली मनाइएको छ।  

अदालतको फैसलाकै दिन मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा दीपावली मनाएका हेटौंडाका नागरिकले आज बुधबार नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान  गरेको उत्सवर्‍याली तथा सभामा खुशी साटासाट गरे। 

हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माविको प्रांगणमा भेला भएका नेकपा नेता, कार्यकर्ता तथा संसद् पुनर्स्थापनाको पक्षमा खुशी बाँड्न भेला भएकाहरूले हेटौंडा बजार परिक्रमा गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक 'कु' भन्दै विरोध जनाए।

उनीहरूले 'यो जित कसको? जनताको', 'सर्वोच्च अदालत धन्यवाद', 'नेकपा हाइहाई', 'केपी ओली बाईबाई' जस्ता नारा लगाएका थिए। चन्द्रसूर्य अंकित नेपालको झण्डा तथा पार्टीको चुनाव चिह्नसहित रातो टीका लगाउँदै र्‍याली निकालेका थिए। 

र्‍याली हेटौंडाको कान्तिलोकपथ, मानसचोक, हेडम्बीहाइट, पिपलबोट, बुद्धचोक हुँदै हेटौंडा–४ को मुख्य चोक मानिने सीमाचोकमा आएर सभामा परिणत भएको थियो। 

सभामा नेकपा केन्द्रीय सदस्य एवं पार्टी मकवानपुर सहइन्चार्ज कुमारी मोक्तानले असंवैधानिक रुपमा चल्न खोज्ने तानाशाह धेरै दिन टिक्न नसक्ने बताइन्। साथै उनले संघर्ष जारी रहेको पनि बताइन्। 

नेकपा मकवानपुर अध्यक्ष एवं बागमती प्रदेशसभाका सदस्य मुनु सिग्देलले सर्वोच्चको फैसलाले जनताको जित र प्रतिगमनको हार भएको बताइन्। उनले बाटो बिराएकालाई प्रचण्ड–माधव नेतृत्वको मूल पार्टी नेकपामा फर्कन आग्रह गरिन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.