|

म्याग्दी : बिहीबार म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन 'फिल्टर'लाई नि:शर्त रिहा गर्न नेकपा माग गरेको छ।

नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्‍बन्धित पक्ष नै हुने चेतावनी दिएका छन्।

वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै घोर आपत्ति जनाएका हुन्।

‘२०७७ फागुन १३ गते हाम्रो पार्टीका मुस्ताङ इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिको रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर आपत्ति एवम् खेद प्रकट गर्दछ,' विज्ञप्तिमा लेखिएको छ, 'कम्युनिस्ट आन्दोलनमा समर्पित एक इमान्दार कमरेड फिल्टरको बिना सर्त रिहाइको माग गर्दछौं। अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने जानकारी गराउँदछौँ।’

पक्राउ गरेपछि अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको थियो। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए।

‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो’, उनले भने, ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि हुनुहुन्थ्यो।’

एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा पुन संलग्न भएको प्रहरीको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.