|

सोलुखुम्बु : स्वास्थ्यकर्मीको लापरवाहीले शनिबार बिहान एक नवजात शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ व्यारेक टोलकी २५ वर्षीया रेणुमाया विश्वकर्माले जन्म दिएको शिशुको ज्यान गएको छ।

समयमै चिकित्सकले ध्यान नदिदा शिशुको मृत्यु भएको रेणुमायाका श्रीमान मनोजले आरोप लगाए। मनोजका अनुसार बेथा लागेपछि रेणुलाई शनिबार बिहान करिब साढे तीन बजेतिर अस्पताल भर्ना गरिएको थियो। ‘चिकित्सकले सुत्केरी हुने समय चैत १६ गते तोकेको भए पनि बिहान बेथा लाग्यो। श्रीमतीलाई निक्कै गाह्रो भएपछि चिच्याउँदै डाक्टर साब बोलाइदिनुहोस् भने’ मनोजले भने,‘एक जना सिस्टरले तपाई बाहिर जानुहोस् भनेर हप्काउनुभयो।’ 

बच्चा अड्किएकोले सिस्टरले हातले तानेर निकाल्दा त्यसको असरले बच्चाको ज्यान गएको उनले बताए। समयमै चिकित्सक आएको भए घटना नहुने उनले सुनाए। जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख शानी शेर्पाले भने चिकित्सकको लापरवाहीका कारण नवजात शिशुको मृत्यु नभएको दाबी गरिन्।

सुत्केरीसमेत मधुमेहको बिरामी भएकाले बच्चामा त्यसको असर देखिएको उनले बताइन्। ‘बच्चा जन्मदा सकुशल भएपनि धड्कन कम हुँदा कृत्रिम स्वासप्रश्वासको माध्यमबाट केही घण्टा बचाउन सफल भयौं’ शेर्पाले भनिन्,‘नवजात शिशुको हृदयघातका कारण मृत्यु भएको हो।’
     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.