|

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लगाउँदै ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नै वैधानिक भएको फैसला गरेको छ।

सर्वोच्चले वैधानिकता ऋषि कट्टेललाई मात्रै दिएन, २०७५ साल जेठ ३ गते एकता गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि अलग-अलग पार्टी बनाइदिएको छ। सर्वोच्चको फैसला अनुरुप दुई पार्टी मिलेर बनेको नेकपा अब साविककै एमाले र माओवादीको अस्तित्वमा विभाजित भएको छ।

सोमबार साँझ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बसेर आफ्नो पुरानै पार्टीमा फर्किने घोषणा गरिसकेका छन्‌। अब जनताले नेकपालाई दिएको दुई तिहाइको सरकार के हुन्छ? पार्टी फुटाएर गएका एमाले नेताको कसरी व्यवस्था हुन्छ? र सत्ता समीकरण कसरी बन्छ? भन्नेबारे संविधान सभा अध्यक्ष तथा नेकपा (एमाले)का नेता सुवास नेम्बाङसँग रेडियो थाहा सञ्चारमा गरिएको कुराकानीको अंश :

तपाईंहरू एमाले बन्नुभयो, हैन त?

सर्वोच्च अदालतको फैसलाले हामीलाई पुरानै अवस्थामा पुर्‍याएको छ। सूर्य चिह्न धारण गर्ने एमाले र हँसिया हथौडा भएको माओवादी पुरानै अवस्थामा फर्किएका छौं। अब हामी एमाले भयौं। अब आ–आफ्नो पार्टीमा फर्केर पुरानै जिम्मेवारीका साथ काम गर्नेछौं। 

पार्टी छाडेर गएकाहरूलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? 

हामी एकताबद्ध भएर जानुपर्छ भन्थ्यौँ। हामीले कसैलाई कारबाही गरेका थिएनौं। अझै पनि हामी हार्दिकतापूर्वक स्वागत गर्छौं।

हाम्रो एकतालाई सर्वोच्च अदालतले हराइदियो। हामीलाई संसद पुनर्स्थापनामा पनि अदालतले हरायो। त्यसलाई पनि स्वागत नै गर्‍यौं। ऋषि कट्टेलको मुद्दामा पनि हामीले हार्‍यौं। ​यसले हामीलाई पुरानै अवस्थामा फर्किन बाध्य बनाएको छ। 

फेरि एकताको सम्भावना छ त?

हामी एकताका लागि प्रयास गर्नेछौं। दुई पार्टीबीचको एकता ऐतिहासिक थियो र पीडादायी पनि बन्यो।

अहिले सर्वोच्च अदालतको आदेश मानेर अघि बढ्नु बाहेक केही पनि छैन। अब एकता गर्दा खाली एकताका लागि एकता गर्दैनौं। झगडा गर्दा पनि पद र प्रतिष्ठाका लागि, मिल्दा पनि पद र प्रतिष्ठाका लागि मात्र गर्दैनौं।

एकताका लागि निरन्तर प्रयासमा हुनेछौं।

अब त ४४ प्रतिशतको सरकार भयो, प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ त?

राजीनामाको कुरा गर्ने प्रधानमन्त्रीको अधिकार हो। संविधान र कानुनको प्रश्न हैन।

संविधानको पालना गर्ने प्रधानमन्त्री ओलीले संसदको अधिवेशन डाक्नुभयो। संसदमा फेस गर्छु भन्नुभयो। अहिले राजीनामा दिने प्रश्नै उठ्दैन।

पार्टीमा फर्किएर माधव नेपाल समूहले फ्लोर नै छाड्यो भने के हुन्छ? 

पार्टीमा फर्किएका साथीहरूले पार्टीको निर्णय मान्नुहुन्छ। त्यो कुरा माधव नेपाल र झलनाथ खनालले नै हामीलाई सिकाउनुभएको हो। नमानी सुखै छैन, मान्नै पर्छ।

अविश्वास प्रस्ताव आए पार्टीको निर्णयअनुसार अघि बढ्छौँ। 

माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने के गर्नुहुन्छ? 

सर्वोच्च अदालतको फैसलापछि अब पुष्पकमल दाहाल 'प्रचण्ड'को पार्टी के बन्छ, उहाँले के गर्नुहुन्छ, त्यो हेर्नुपर्छ। उहाँहरूले विश्वासको मत फिर्ता लिए प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत लिनुहुन्छ। 

अब फेरि मध्यावधि चुनावमा जाने हो? 

प्रधानमन्त्री ओलीले हिजो संसद विघटन गर्दा विरोध भयो। अहिले संसदमा त्यसको परिणाम देखिन थालेको छ।

सम्मानित सर्वाेच्च अदालतले आदेश दिँदा कार्यान्वयन गरेर प्रधानमन्त्री ओलीले संसद बोलाउनुभयो। तर, त्यसले थप जटिलता ल्याएको छ। पहिलो बैठकमै समस्या देखा परेका छन्।

हाम्रा जिम्मेवार नेताहरूले यसलाई सुझबुझका साथ टुंगोमा पुर्‍याउनुहुन्छ। सकभर हामी संसद टिकाउने प्रयासमा हुनेछौं। हामी त सर्वोच्च अदालतको आदेश मानेर अगाडी बढौं भन्ने चाहन्छौं । हामी तुरुन्तै विघटनमा जाऔं भन्दैनौँ। 

दुई तिहाइ दिँदा त केही भएन, अब कसरी चुनाव गएर जनतालाई बुझाउनुहुन्छ? 

हो, हामीलाई जनताले दिएको दुई तिहाई बहुमत थाम्न सकिएन। त्यसमा आत्मालोचना गर्नुपर्छ।

त्यहीअनुसार हामी जनतामा जान्छौं, आफ्ना एजेन्डा जनतालाई बुझाउँछौँ। अब जनतालाई आफ्नो हिसाबकिताब दिन्छौं। आफ्नो खातापाता बुझाउँछौँ। जनताले नै मूल्यांकन गर्नुहुन्छ।

अबको सत्ता समीकरण कस्तो बन्छ त? 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'हामीलाई पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षमा बस भनेर जनताले आशीर्वाद दिएको छ, त्यसैले हामी प्रतिपक्षमै बस्छौँ' भन्नुभएको छ।

तर पनि हामी छलफलमै छौं। जनता समाजवादी पार्टीसँग पनि निरन्तर सम्पर्कमै छौं। माओवादीले अब के गर्छ भन्नेमा निर्भर रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.