|

काठमाडौं : गत वर्ष माघ पहिलो साता नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमण देखियो। त्यसपछि गत भदौ, असोज कात्तिकमा नेपालमा संक्रमण तीव्र गतिमा फैलिएको थियो।

तर हाल संक्रमण घट्न थालेको स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक अपडेटबाट थाहा हुन्छ। तर कोरोना दोस्रो लहरको जोखिम नेपालमा उच्च रहेको स्वास्थ्यविद्हरू बताउने गर्छन्। ​

असअघि पनि  भारतमा संक्रमण बढ्दै गएको केही समयपछि नेपालमा संक्रमण तीव्र बढेको थियो। जसले गर्दा नेपाल पुनः कोरोनाको उच्च जोखिममा परेको विज्ञहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका सरकारले अहिल्यै ध्यान नदिए पुनः संक्रमण फैलिने र दोस्रो लहर सुरु हुने बताउँछन्।

उनले भने, ‘भारतमा संक्रमण बढेसँगै हामी दोस्रो लहरको उच्च जोखिममा परिसकेका छौँ, यो अवस्थामा सरकारले सीमा नाकामा एकदमै कडाइ गर्नुपर्ने देखिन्छ, नभए हामी दोस्रो लहरको क्षति बेहोर्न तयार हुनुपर्छ।'

कोरोनाको महामारी फैलिनुअघि जस्तै मानिसको जीवनशैली सुरु भइसकेको छ। मास्क, सामाजिक दूरी अनिवार्य गरिए पनि यसतर्फ मानिसको ध्यान विस्तारै कम हुँदै गएको छ।

‘हाम्रोमा जोखिम हुने भनेको भारतमा संक्रमण बढेपछ‍ि नै हो, अब भारतमा रहेका नेपाली फर्कन्छन्, उनीहरूलाई राम्रोसँग निगरानीमा राखिएन भने पुनः संक्रमण फैलिन्छ, उताबाट आएका र लक्षण भएका बिरामीलाई उच्च निगरानीमा राख्नुपर्छ।'

भर्खरै कोरोना संक्रमण अलि कम भएको बेलामा पुनः दोस्रो लहर आयो भने नियन्त्रण गर्न गाह्रो हुने मरासिनी बताउँछन्। त्यसैले अहिले नै सीमानामा चिकित्सकसहित टोली राखेर निगरानी गर्नुपर्ने डा मरासनीको सुझाव छ। हामी पुनः एकदमै जोखिममा परिसक्याैं', उनले भने। 

पहिलो सकिएर दोस्रो लहर सुरु हुन एकपटक भाइरस फैलावट पुनः उच्चतम विन्दुमा पुग्ने सम्भावना हुने हुँदा बेलैमा सचेत रहनुपर्ने बताइन्छ।

यता भारतमा संक्रमण पुनः फैलिएपछि नेपालीहरू धमाधम स्वदेश फर्कँदै छन्। त्यसैले सिमानामै उनीहरूको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। भने, ‘हामीले पछिल्लो दिनमा भारतमा संक्रमण बढ्दै गएपछि उताबाट आउनेका लागि सीमामै ३ दिनदेखि एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेका छौँ।' गड्डाचौकी नाकामा एन्टिजेन्ट परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको समेत उनले जानकारी दिए।

भारतमा पछिल्लो दिन संक्रमण बढ्दै गएपछि महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रिकालीन कर्फ्यू जारी भइसकेको छ।

महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरातलगायत राज्यमा पछिल्लो समय संक्रमित संख्या बेस्सरी बढ्न थालेका छन्। ती ठाउँहरूमा अहिले चहलपहलमा कडाइ गरिएको छ।

भारतमा शनिबार मात्रै ४० हजार ९ सय ५३ कोरोना संक्रमित थपिएका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.