|

म्याग्दी : जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख रुपैयाँ गुमाएका म्याग्दीका एक युवा गाउँमा नै फर्केर बाख्रापालन सुरु गरेका छन्।

बेनी नगरपालिका–२ खबराका ३४ वर्षीय कर्णबहादुर खड्काले साउदी अरब, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको ८० लाख रुपैयाँ अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रापालन सुरु गरेका हुन्।

चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछि अमेरिकाको सपना बिर्सिएर गाउँकै व्यवसायमा खड्का रमाएका हुन्। खड्काले खाडी मुलुकमा  कमाएको पैसाले बेनी र पोखरामा गरी तीनवटा घडेरी जोडेका थिए। खाडी मुलुकबाट फर्केपछि अझ बढी कमाउने लोभमा उनले तीनवटै घडेरी बेचेर अमेरिकाका लागि प्रयास गरे।

तर‚ प्रयास सफल भएन। बोर्डरबाटै फर्कनुपर्‍यो। अमेरिका हिँडेका कर्णबहादुरलाई मेक्सिकोमा पुगेपछि समस्या सुरु भयो। त्यहाँबाट तीन पटकसम्म अमेरिका छिर्ने उनको प्रयास असफल भयो। त्यसपछि उनी आफ्नै गाउँ फर्किए र सुरु गरे बाख्रापालन।

‘म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो, अनि त्यहीबाट फर्काइदियो,’ उनले भने, ‘राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ।’ गैरकानुनी रूपमा मेक्सिको हुँदै अमेरिका छिर्न लाग्दा उनी पक्राउ परेका थिए। त्यहीबाट नै उनलाई नेपाल फर्काइयो। अमेरिकाको सुन्दर सपना देख्दा ८० लाख रुपैयाँ सकियो। रित्तो हात फर्कन पर्‍यो। त्यसपछि भने कर्णबहादुरले आफ्नै गाउँमा पशुपालन गर्न थाले। 

सुरुमा कुखुरापालनबाट व्यवसाय थाले। तर‚ यो व्यवसायबाट सोचेजस्तो भएन। कमाइको साटो उल्टो घाटा भयो। उनले हार मानेनन्। पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रापालन गर्न थाले। खड्काले सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी १५ लाख रुपैयाँको लगानीमा बाख्रापालन थालेको बताए।​दिप्सन कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सुरु गरेको व्यवसायमा अहिले  ४० वटा लोकल र बोयर क्रस जातका बाख्रा छन्। 

अमेरिका जाने रहरमा त्यति धेरै पैसा गुमे पनि खड्काको आशा भने मरेको छैन। गाउँमा नै पौरख गरेर अमेरिका जाने लहडमा गुमेको पैसा कमाउने र आफ्नै माटोमा केही गरेर देखाउने दृढ इच्छा शक्ति लिएर उहाँ व्यवसायमा खटिरहेका छन्।

खड्काले भने ‘पैसा नै सबैथोक हो जस्तो लाग्थ्यो तर, त्यस्तो होइन रैछ, आत्मसन्तुष्टि र पारिवारिक खुसीले जीवनमा धेरै महत्व राख्दो रहेछ, यो कुरा मैले गाउँमा फर्केर पशुपालन व्यवसाय सुरु गरेपछि थाहा पाएँ।’

धान रोप्ने खेतमा घाँस खेती 

खड्काले बाख्रलाई खुवाउन आफूले भात खाने २२ रोपनी खेतमा जैघाँस र डाले घाँस लगाएका छन्। उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँसका बिरुवाहरू लगाएका हुन्।

खाली जग्गामा सुपरेरियर, रायखन्यु, ईपिल–ईपिल, सुडानलगायत डाले घाँसका बिरुवा लगाएको उनले बताए। धान रोप्ने खेतमा घाँस खेती गर्ने र घाँसको उत्पादन बढाउने उनको योजना छ। १५ रोपनी जग्गा आफ्नै र ७ रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेका खड्काले घाँसको बिउ उत्पादन गरी बिक्री गर्ने समेत बताए।

बाख्रासँगै भैंसी पनि 

खड्काले व्यावसायिक बाख्रा पालनसँगै दूध बिक्री गर्नका लागि दुईवटा मुर्रा जातका भैँसी पनि पालेका छन्। उनले दैनिक ६ लिटर दूध म्याग्दी सदरमुकाम बेनी बजार तथा गाउँमै बिक्री गर्दै आएको थाहाखबरसँग बताए। अहिले प्रतिलिटर दूधको बजार मूल्य एक सय २० रुपैयाँ रहेको छ। उनले महिनामा २० हजारभन्दा बढी दूध बिक्रीबाट आम्दानी गर्दै आइरहेको जानकारी दिए। 

व्यावसायिक बाख्रा पालन र भैंसीपालन खड्काले उत्पादन गर्न सकेमा त्यसको बिक्री वितरणका लागि बजारको समस्या नभएको बताए। व्यापारीहरू गोठमै बाख्रा खरिद गर्न आउने गरेको बताउँदै उनले उत्पादनतर्फ ध्यान दिएको जानकारी दिए। अहिले ४० ओटा बाख्रा पालेका उनले त्यसलाई बढाएर १ सयसम्म पुर्‍याउने योजना रहेको सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.