आश्वासन सफलतामा परिणत हुँदा विगत भुले

|

काठमाडौं : आइतबार दिउँसो धुलिखेल अस्पताल जान तरखर गर्दै थिइन् ठूलीमाया तामाङ। चाबहिलस्थित कुटुबहालका ठूलीले आइतबार मेलम्चीको पानी वितरण गरिने भन्ने सुनेकी त थिइन्, तर उनलाई यकिन भने लागेको थिएन।

तर, २० वर्षदेखि मेलम्चीको पानी आउने भन्दाभन्दै नआएपछि उनलाई यो कथाजस्तै लागेको थियो। 

पानी आउँछ भन्ने विश्वास भने उनलाई पूरै थिएन। होस पनि कसरी। २०४७ सालमै काठमाडाैंमा मेलम्चीको पानी आउने चर्चा गणतन्त्र आएको पनि यतिका वर्षपछि मात्र सार्थक भयो। गणतन्त्रपछिका हरेक सरकारले पटक–पटक कहिले दसैं तर कहिले नयाँ वर्षमा मेलम्चीको पानी आउने रटान लाउन भने छोडेको थिएन। तर गत आइतबार भने साँच्चिकै मेलम्चीको पानी चाबहिलस्थित उनी बसेको घरमा आयो।  

सरकारले बेलाबेला दिने आश्वासन सुन्दा सुन्दा पछिल्लो समय भने ठूलीले चटक्कै मेलम्ची पानी भुलिसकेकी थिइन्। तर आइतबार दिउँसो मेलम्चीको पानी झरेपछि भने उनी हर्षित मात्र भइनन्, अपत्यारिलोझैं मानिन्। ‘कोठा गएर धारा खोल्दा पानी आइरहेको रहेछ,’ उनले हाँस्दै भनिन्, ‘जति हतार गरे पनि त्यही रहेछ, पहिला मेलम्चीको पानीले नुहाउँछु भनी खुसीले नै नुहाएर अस्पताल गएँ।’ 

उनका अनुसार साढे दुई बजेदेखि झण्डै डेढ घण्टासम्म उनको धारामा पानी आएको थियो। मेलम्ची पानी आउन थालेपछि विगतमा भोगेका चरम अभाव विस्तारै पूर्ति हुँदै जाने उनलाई विश्वास लागेको छ। 

‘पहिला त सुन्दरीजलको पानी हप्तामा एकचोटि आउँथ्यो, पानी राति आउँथ्यो। कहिले त्यो पनि आउँदैन थियो, खानलाई जारको पानी ल्याउँथ्याैं। लुगा धुन ट्यांकरको पानी ल्याउने गरेका थियाैं। अब त यो समस्या हट्ला नि!’ उनी आश्वस्त भइन्। 

चाबहिल, गौरीनगरका माधव राज सेढाईले पनि दुई दशकपछि मेलम्चीको पानी आफ्नै धारामा झर्दा खुसीले गदगद् भए।

‘यो त बडो खुसीको कुरा हो, मान्छेले एउटा योजना राखेपछि एक न एक दिन पूरा हुँदो रहेछ भन्ने आज प्रमाणित भयो, मैले त यो पानी दिनेलाई भन्दा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धन्यवाद दिन्छु, किन भने उहाँको यो गुरु योजना हो नि,’ सेढाईले मुसुक्क हाँस्दै भने। 

पानीको धेरै समस्या भोगेका उनी पानी झरेपछि भने सबै समस्या समाधान हुनेमा ढुक्क भए। 

चाबहिलका अर्का नमिता अधिकारीले पनि पिउनयोग्य पानी आएको भन्दै खुसी व्यक्त गरिन्। भनिन्, ‘हिजो तीन बजेतिर पानी आएको थियो, पानी सफा र मिठो छ, काकाकुल भएको बेला पानी आउँदा एकदमै खुसी लागेको छ।’ 

उनले रातको १० बजेसम्म नै मेलम्ची पानी आएको पनि जानकारी दिइन्। तालिकाअनुसार नै पानी दिइराख्नुपर्ने उनको माग छ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आइतबारबाट वितरण थालिएको थियो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा लगायतले एकसाथ चुच्चेपाटी महाँकाल चौरमा भण्डारण गरिएको पानीको चाबी (पानीको भल्ब) खोलेर वितरण शुभारम्भ गरेका थिए।

एक धारामा दैनिक एक हजार लिटर पानी आउने 

निर्देशक शाक्यले एक धारामा दैनिक एक हजार लिटर पानी दिइने जानकारी दिए। उनका अनुसार केयुकेयलमा दुई लाख ३० हजार ग्राहक छन्। ‘उकालो, ओरालो भएको ठाउँमा एक हजार लिटरभन्दा बढी पनि पानी आउन सक्छ,’ उनले भने, ‘एक घरमा १० जना आश्रित छन भने प्रति व्यक्तिले प्रतिदिन सय लिटर पानी पाउँछन्।’ उनले पछि विस्तारै पानी वितरण वृद्धिदर गर्दै जाने बताए। पानी वितरण तालिका हेर्न फेसबुक एप पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

उनका अनुसार ग्राहकले मोबाइलको प्ले स्टोरमा गई ‘कयुकेयल एप’ भन्ने एप डाउनलोड गरेर जानकारी लिन सकिने छ। ती एपबाट गुनासो पनि गर्न सकिने छ। पानीको महसुलसमेत नबढाएको उनले जानकारी दिए। १० हजार लिटर पानी बराबर एक सय ५० रुपैयाँ लिँदै आइएको छ।

सन् २००१ मा ३७ अर्ब रुपैयाँ बजेट विनियोजन गरी यो आयोजना निर्माणको काम आधिकारिक रूपमा सुरु भएको थियो। तर, विभिन्न सरकारी र ठेकेदारको लापरबाहीका कारण समयमै पानी आउन सकेको थिएन।

पानी वितरण तालिका

यो पनि

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.