निर्णायक बनेपछि नेतृत्वको दाबी गर्दै जसपा

|

काठमाडौं : यतिबेला नेपाली राजनीति निकै गर्माएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर गठबन्धनको सरकार बनाउने विषयले राजनीति तात्दै गएको छ। 

ओली नेतृत्वको सरकार ढालेर कांग्रेस-माओवादी केन्द्र-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको सरकार बनाउने पहल भइरहेको छ। गठबन्धनको सरकार बनाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहल गरिरहेका छन्। 

यद्यपि माओवादीले ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। गठबन्धनको सरकारको टुंगो नभएसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने मनस्थिति बनाएको छ। 

यता ओलीलाई हटाएर आफ्नो नेतृत्वको सरकार बनाउने निर्णय गरेको कांग्रेसले पनि अलमलमा परेको छ। जसपाले आफ्नो निर्णय लिन नसक्दा गठबन्धनको सरकार अलमलमा परेको देखिन्छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पहल गरिरहेका छन्।

पाटीले आधिकारिक रुपमा निर्णय गरेको भए पनि सभापति देउवाले अझै स्पष्ट रुपमा सरकारको नेतृत्व लिन खुलेका छैनन्।  नेता पौडेलले प्रधानमन्त्रीको देउवाको विकल्प अरु सोच्न सकिने भन्दै जसपा अध्यक्ष महन्थ ठाकुरलाई आइतबार उनको निवास हात्तीवनमा पुगेर भेटवार्ता गरे। 

उनले आफ्नो सरकार गठबन्धनको विषयभन्दा आफ्नो एजेण्डा प्रमुख रहेको नेता पौडेललाई जवाफ फर्काए। 

त्यसो त जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्न थालेको छ। विकसित घटनाक्रमले गठबन्धनको सरकार निर्माणमा निर्णय बनेपछि जसपाले प्रधानमन्त्रीको दाबी गरिरहेको छ। जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष ठाकुरको नाम भावी प्रधानमन्त्रीको रुपमा चर्चा चल्न थालेको छ। 

यद्यपि, गठबन्धनको सरकार बनाउने या ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्ने विषयमा जसपामा दुई धारमा छ। संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा छन्। भने, अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई सहयोग गर्ने पक्षमा सहमति नजिक छन्। 

यो खेमाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा एमालेसँग कार्यदल नै बनाएर निरन्तर छलफल गर्दै आइरहेको छ। 

'समर्थन फिर्ता लिनू'

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर दोधारे चरित्र देखाएको भन्दै कांग्रेस र जसपाले शंका व्यक्त गरिरहेको छ। तर, एमालेले भने माओवादीले दिएको समर्थन फिर्ता लिएमा पनि केही असर गर्ने टिप्पणी गर्दै आइरहेको छ। 

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राष्ट्रको लोकप्रिय, बढी बिक्ने बहुत लोकप्रिय भन्ने अखबार काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैन। प्रधानमन्त्रीको राजीनामा मागियो भनेर। आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा? माग्यामाग्यै छ त। मागेपिच्छे म कसरी दिन सक्छु? एकदिन एउटा राजीनामा हुन्छ। एउटाले मात्र माग्दैन, एक दिन माग्दैन। मागेको मागेकै छ। हटाउन न त। समर्थन फिर्ता लिइदेऊ भन्छु त्यो पनि लिँदैन। अनि राजीनामा माग्छ। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

त्यसो त ओलीको विश्वासपात्र गोकुल बाँस्कोटाले पनि प्रतिनिधि सभाको बैठकमा बोल्दै समर्थन फिर्ता लिए केही नहुने बताए। 

उनले भने, ‘सरकार काम चलाउन रे? कसरी हुन्छ? समर्थन आफू गर्ने? समर्थन फिर्ता लिन नसक्ने? अर्को पार्टीसँग मिलेर सरकार बनाएर एजेण्डा ल्याउन नसक्ने? कसरी काम चलाउ भयो? त्यस्तो लाग्छ भने समर्थन फिर्ता लिनुहोस् त्यसपछि एउटा लयमा जान्छ। राजनीतिको मैदान खुला छ।’

पार्टीभित्रको विवादको क्रममा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ। ओलीले संसदमा विश्वासको मत लिनुपर्ने अवस्था आएमा दिने/नदिने भन्ने विषयमा अहिल्यै भन्न नसक्ने असन्तुष्ट पक्षका नेताहरुले बताउँदै आएका छन्। 

कांग्रेसको एकलौटी निर्णय मान्य छैन

सत्ता सहकार्यको विषयमा कांग्रेसले एकलौटी गरेको नेता राजेन्द्र महतो बताउँछन्। 

‘हामीलाई सल्लाह गरेको छैन। उसको नेतृत्वमा सरकार बनाउछु भने बनाओस् हामीले रोकेको छैन। सहमतिमा उम्मेदवार बनाएपछि पो सहयोग हुन्छ। एकलौटी निर्णयलाई मान्नुपर्छ भन्ने छैन नी’ संसद बैठकपछि बाहिरिने क्रममा उनले भने। गठबन्धन सरकार बनाउने विषयमा सामूहिक निर्णय हुनुपर्ने उनको मत छ। 

‘हामीले हाम्रो एजेण्डाहरुलाई हेरेर निर्णय गछौँ। एमाले, कांग्रेस र माओवादी छलफल गरिरहेको छौँ। कतैबाट प्रस्ताव आएमा कसको नेतृत्वमा जाने, वा आफ्नो नेतृत्वमा जाने भन्ने विषयमा छलफल गछौँ’, उनले भने, ‘कांग्रेसले जस्तो आफ्नो क्षमताले मात्रै सरकार नबन्ने अवस्थामा सहयोगी दलसँग छलफल गरेर निर्णय गछौँ।’ 

सरकारसँग आफ्नो मागलाई लिएर छलफल भइरहेको बताए। आफ्नो एजेण्डाहरुलाई जुन पक्षले पूरा गर्छ उसैलाई सहयोग गर्नसक्ने उनको धारणा छ। परिस्थिति आकलन गरेर आफूहरुले पनि नेतृत्वको दाबी गर्नसक्ने संकेत गरे। 

'वैकल्पिक सरकार दिनुपर्छ'

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको हुनाले हटाएर वैकल्पिक सरकार दिनुपर्ने कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू बताउँछन्। ‘ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो। तर, उहाँहरुले अझै पनि दिनुपर्छ भन्ने हो’, उनले भने, ‘असंवैधानिक कदमविरुद्ध लागेको सबै दलहरुले सामूहिक छलफल गरेर अविश्वासको प्रस्ताव ल्याउन पहल गछौँ। अनिर्णयमा बस्न नहुने भएकाले कांग्रेसले सुरु गरेको छ। अब माओवादी र जसपाले पनि निर्णय गर्नुपर्छ।’ 

वैकल्पिक सरकार निर्माण गरेर संसदलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.