|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश–१ लाई ४० रनले हराएर सुदूरपश्चिमले दोस्रो जित निकालेको हो।

सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रुविना क्षत्रीले २७, अप्सरी बेगमले २२, संगीता राईले १३, निग्मा तामाङले १० रनको योगदान दिए।

प्रदेश–१ लाई सस्तैमा समेट्ने क्रममा स्पिनर लक्ष्मी साउँदले घातक बलिङ गरिन्। उनले ३ दशमलव ५ ओभरमा १९ रन दिएर र ४ विकेट लिइन्। उनले १९ औं ओभरको तेस्रो, चौंथो र पाँचौँ बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरिन्।

जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने उनी पहिलो बलर हुन्। 

यस्तै, कविता कुँवर र २ कविता जोशीले २–२ तथा सुनिता लोहारले १ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय २९ रन बनाएको थियो।

उसका लागि विन्दु रावलले अर्धशतकीय पारी खेलिन्। ५८ बलमा चार चौकासहित उनले ५२ रनको योगदान दिइन्। यस्तै, रेवती धामीले ३० र कविता जोशीले २१ रन बनाउँदा डली भट्ट ८ रनमा नटआउट रहिन्।

बलिङमा सबनम राईले २ र ज्योति दनुवारले १ विकेट लिइन्।

यो जितसँगै सुदूरपश्चिमले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स–११ लाई हराएको  थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो।

यता, प्रदेश–१ को यो दोस्रो हार हो।  पहिलो खेलमा एपिएफसँग पराजित भएको प्रदेश–१ दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो। प्रदेश–१ ले ३ खेलमा २ अंक जोडेको छ।

चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टिम सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार‚ उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार रुपैयाँ पाउने छन्। हरेक खेलको प्लेयर अफ द म्याचले तीन हजार रुपैयाँ पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.