|

पोखरा : प्रतिपक्ष दलहरूले​ गण्डकी प्रदेश सभामा विशेष अधिवेशन माग गरेका छन्। 

मुख्यमन्त्रीले रातारात चालु अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित दलले विशेष अधिवेशन बोलाउनुपर्ने माग राखेका हुन्।   

बिहीबार १ः३५ मा सरकारविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्ताव पेस भएको थियो। त्यसपछि प्रतिपक्षी दलहरू विशेष अधिवेशन आह्वानको माग राख्दै प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न कार्यालय पुगेका थिए। तर, कार्यालयमा प्रदेश प्रमुख नभेटिएपछि कार्यालयका सचिवलाई उक्त निवेदन दिएर प्रतिपक्षका नेताहरू फर्किए। 

२८ सांसदले हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस, मुख्यमन्त्रीमा कृष्णचन्द्र प्रस्तावित

बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन्। 

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन्। अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ। उनी कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुन्। कांग्रेस सांसदमध्ये सबैभन्दा पाका सांसद उनी हुन्। पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ। 

विशेष अधिवेशन माग भएको १५ दिनभित्र संसद बस्नुपर्ने, तर छैन ऐन

संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने हुन्छ। हालसम्म नेपालको संसदमा चलिआएको अभ्यासअनुसार विशेष अधिवेशन भएको १५ दिनभित्र संसद् बस्नुपर्ने हुन्छ। तर, लिखितअनुसार भने संविधानका कुनै धारामा पनि यति दिनभित्र संसद बोलाउनुपर्ने भन्ने उल्लेख छैन।

अन्तिमसम्म गर्ला त राजमोले अविश्वास पक्षमा मतदान?

मुख्यमन्त्री गुरुङ नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता गरेर अविश्वास प्रस्ताव आए त्यसलाई समर्थन गर्ने जनाएको राष्ट्रिय जनमोर्चा बिहान बोलाइएको चार दलीय बैठकमा पनि सहभागी भएनन्। 

राजमोको अनुपस्थितिपछि कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव आजै पेस गर्ने निर्णय गरे। निर्णयपछि अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर सुरु भयो। तर, हस्ताक्षर गरेर प्रस्ताव सांसद सचिवालयमा पेस गर्दासम्म संसदमा राजमोका सांसद देखिएनन्। 

यता सत्तापक्ष नेकपा एमालेले पनि राजमोलाई आफ्नो पक्षमा समर्थन कायमै राख्न फकाउने प्रयत्न थालेको छ। अर्को अधिवेशन नहुँदासम्म राजनीतिक माहोल परिवर्तन हुने सम्भावना पनि देखिन्छ।

यी हुन्, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने २८ सांसद

कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन्। गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.