राम नवमीमा राम मन्दिर स्थापना गरिने

|

चितवन : प्रधानमन्त्री निवास बालुवाटारमा बनाएर राखिएको राम–सीताको मूर्ति रथ यात्रासहित चितवनको माडी अयोध्यापुरीमा ल्याउने तयारी भएको छ। बैशाख ८ गते राम नवमीको दिन अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्नका लागि बालुवाटारमा बनाएर राखिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याउन लागिएको हो।

२०७७ असार २९ गते प्रधानमन्त्री केपी ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया सुरु भएको हो। ओलीको निर्देशनमा तीन महिना अगाडि नै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो। 

मूर्ति ल्याएर राम मन्दिर स्थापना गर्ने विषयमा बिहिबार सरोकारवालाहरु बीच छलफल भएको छ। मूर्तिलाई बैशाख ७ गते पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित रथमा राखेर माडीतर्फ ल्याइने बागमती प्रदेशका सांसद विजय सुवेदीले बताए।

‘सम्माननिय प्रधानमन्त्रीबाट कलश र बग्गी सहितको शोभायात्राको प्रारम्भ हुने छ’, उनले भने, ‘त्यो दिन देवघाटमा आएर बस्ने र भोलिपल्ट मूर्ति पुजन गरेर फेरि माडीतर्फ लाग्ने कार्यक्रम छ।’ 

चार वटा मूर्तिलाई चार वटा रथमा राखेर भद्रकालिसम्म एक हजार ८ कलश र बग्गीसहित रथ शोभायात्रा निस्कने सुवेदीले बताए। त्यसपछि नागढुंगासम्म बग्गी र सयौँ गाडीको लस्करसहित रथयात्रा आउने छ। त्यहाँबाट साना गाडीहरुसहितको रथयात्रा सोहि दिन बेलुका करिब ५ बजेतिर देवघाट आइपुग्ने उनले बताए।

देवघाट क्षेत्र विकास समितिले श्रद्धालुहरुलाई खान र बस्नको व्यवस्था गर्ने छ। त्यसको व्यवस्थापनका लागि एक दर्जन उप-समितिहरु गठन भएको छ।  भोलिपल्ट बैशाख ८ गते बिहान ८ बजे देवघाटको वेणी संगमको जलले मूर्तिलाई अभिषेक गराई स्वस्ति वाचनसहित विशेष पूजा गरी पुनः रथयात्रा सुरु हुने छ। भरतपुर महानगरपालिका–२९ को दासढुंगा हुँदै आँपटारी–नारायणगढ–चौविसकोठी भएर रथयात्रा माडीतर्फ लाग्ने सुवेदीले बताए।

रथ यात्राको क्रममा ट्राफिक व्यवस्थापन र सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालय चितवनले गर्ने उनले बताए। माडी प्रवेश गरेपछि कलश सहितको रथयात्रा माडी नगरपालिका–९ अयोध्यापुरीको प्रस्तावित राम मन्दिर निर्माणस्थल कृष्णनगर पुग्ने छ। कृष्णनगरमा अहिले अस्थायी राममन्दिर निर्माण हुँदै छ। 

मूर्तिलाई सोहि मन्दिरमा स्थापना गरिने कार्यक्रम छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मूर्तिलाई स्वागत गर्ने प्रदेश सांसद सुवेदीले बताए। मूर्तिलाई अहिले अस्थायी राम मन्दिरमा लगेर राखिने छ। 

अयोध्याधामको गुरुयोजनाअनुसार राममन्दिर निर्माण भएपछि मूर्तिलाई स्थानान्तरण गरी प्राण प्रतिष्ठा गरिने उनले बताए। बैशाख ६ गतेसम्म अस्थायी मन्दिर र सत्तल निर्माण भइसक्ने भनाइ छ।

अयोध्या धामको गुरुयोजना निर्माण

अयोध्यापुरीमा निर्माण गर्न लागिएको अयोध्या धामको गुरुयोजना तयार गरिएको छ। अयोध्या धाम निर्माण गर्न माडी नगरपालिकाले कृष्ण नगरस्थित रिउ खोलाको छेउमा करिब एक सय बिघा जग्गा प्रस्ताव गरेको छ। सय बिघामध्ये १९ बिघामा मूख्य मन्दिर सहित अयोध्या धाम क्षेत्र, साढे ४ बिघामा जटायु पार्क र अन्य स्थानमा गुरुकुल, गौशाला, धर्मशाला लगायतका संरचनाहरु निर्माण हुने छन्।

सय बिघा जग्गा मन्दिरको नाममा दर्ता गर्ने प्रकृया सुरु भएको छ। अयोध्या धाम निर्माणका लागि नगरपालिकाले पूर्व सांसद तीर्थ भुसालको संयोजकत्वमा अयोध्या धाम व्यवस्थापन समिति बनाएको छ। बैशाख ८ गते माडीमा हुने शोभा यात्रा व्यवस्थापनको सबै कामहरु समितिले गर्ने अयोध्या धाम व्यवस्थापन समिति, प्रचार प्रसार उपसमिति संयोजक श्रीप्रसाद दवाडीले बताए। करिब १२ सय जना श्रद्धालुहरुलाई खानाको व्यवस्था गरिएको उनले बताए। 

आगामी २२ महिनाभित्र राममन्दिर निर्माण गरिसक्ने प्रधानमन्त्रीले आश्वासन दिएको उनले बताए। ‘लगभग २२ महिनामा मुख्य मन्दिर निर्माण गर्ने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ’, उनले भने, ‘राममन्दिर निर्माण हुने भएपछि स्थानीय जनता धेरै खुसी भएका छन्।’

माडीमा सोमेश्वरगढी, बाल्मीकि आश्रम, परशुराम कुण्ड, बैकुण्ठ धाम लगायत थुप्रै धार्मिक स्थलहरु रहेका छन्। अयोध्यापुरीमा नै रामको जन्मिएको भन्ने कुरालाई पुष्टि गर्ने खालका तामाका भाँडा, सिक्का, इटा लगायतका पुरातात्विक वस्तुहरु फेला परेको उनी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.