|

कैलाली : भारतबाट शुरू भएको कोरोना महामारीले नेपालमा पनि भयावह रूप लिन थालेको छ। सुदूरपश्चिमको स्थिति भयावह बनिसकेको छ।

प्रदेशमा कोरोना संक्रमणदर तीव्र छ। तर, यहाँका स्थानीय तहहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुनै तयारी गर्न सकेका छैनन्।

सुदूरपश्चिममा समुदाय स्तरमै कोरोना फैलिसकेको स्वास्थ्यकर्मीहरू बताउँछन्। अर्कातर्फ, स्थानीय तहले स्वाब परीक्षण तथा एन्टिजेन परीक्षण समेत बन्द गरेका छन्। केही स्थानीय तहले बजेट अभाव भएकाले महामारी नियन्त्रण तथा रोकथाम तयारीका काम नै अघि जानकारी दिएका छन्।

कैलालीमा संक्रमित संख्या दिनहुँ बढिरहेको छ। जिल्लाको टीकापुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रकृया अघि बढाउन सकेको छैन।

अहिले नगरपालिकामा कोरोना परीक्षण गर्ने कामसमेत बन्द रहेको छ। नगरपालिकामा २७ जना कोरोना संक्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ।

भारतबाट गत फागुनदेखि चैत मसान्तसम्म फर्किएका करीब १५० जनामा संक्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए।

‘नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन, नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रकृया अगाडि बढ्न नसकेको हो,’ उनले भने, ‘आज-भोलिसम्म बैठक बस्छ। बैठक निर्णय अनुसार हामी कामलाई अगाडि बढाउने छौँ।’

नगरपालिकामा कोरोना परीक्षण नहुँदा शंकास्पद बिरामी नेपालगञ्ज र धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्यांक जानकारी गराउने गरेको भएपनि नेपालगञ्जको तथ्यांक नआउने गरेको उनले जानकारी दिए।

‘हामीसँग ३८ शय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा छ, त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ,’ उनले भने, ‘स्थिति अहिलेकोभन्दा पनि नराम्रो हुने संकेत देखा पर्दै गएको छ, हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन।’

यस्तै, भजनी नगरपालिकाले पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कुनै काम अगाडि बढाउन सकेको छैन। नगरपालिकासँग कोभिडको शीर्षकमा बजेट छैन।

भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ। नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन्। त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिए। नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताइन्।

जानकी गाउँपालिकामा पनि अवस्था उस्तै रहेको छ। गाउँपालिकाले तयारीको प्रकृया अगाडि बढाएको भने पनि तयारी भइनसकेको पाइएको छ। कोरोनाका शंकास्पद बिरामीको गाउँपालिकामा सहजै परीक्षण हुन सकेको छैन।

‘आकस्मिकरुपमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ। पहिलेको जस्तो परीक्षण शुरु गरिसकेको अवस्था छैन,’ गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, 'आइसोलेशन तयारी अवस्थामा राखेका छौँ, किट अभाव छ, टीकापुर अस्पतालसँग समन्वय भइरहेको छ।’

उनले कोरोना शीर्षकमा बजेट भएका कारण काम गर्न समस्या नभएको बताउँदै सबै संयन्त्रलाई तयारी अवस्थामा बस्न निर्देशन भइसकेको जानकारी दिए। गाउँपालिकामा अहिले सक्रिय संक्रमित भने छैन।

टीकापुर अस्पतालले तयारी अन्तिम चरणमा पुगेको बताएको छ। अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले आइसोलेशन वार्ड तयार भइरहेको जनाउँदै अन्य तयारी भइरहेको जानकारी दिए। कोरोनाको लक्षण देखिएका संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेशन तयार पार्न लागेको हो।

सीमा नाकाबाट लुकीछिपी सोझै घर, गाउँमा जोखिम

भारतमा महामारीले पुनः डरलाग्दो रूप लिएपछि नेपालीहरू फर्किन थालेका छन्। तर, सीमा नाका हुँदै लुकीछिपी सोझै घर फर्किन थालेपछि जोखिम बढेको छ। कोरोना पोजेटिभ देखिएका पनि सिधै घर पुग्ने गरेका छन्।

दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता कर्ण विष्टले भारतबाट फर्किने नेपालीहरू अवैध बाटो हुँदै प्रवेश गर्दा गाउँ नै जोखिममा परेको बताए। सम्बन्धित निकायले सीमानाका व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

यस्तै, सुदूर पहाडका अन्य जिल्लाहरूमा पनि संक्रमणको जोखिम बढेको छ। तर, तयारी गरेको भने खासै देखिएको छैन।

स्थानीय तह प्रदेश र संघीय सरकारको निर्देशनको पर्खाइमा

स्थानीय तह अहिले प्रदेश र संघीय सरकारको निर्देशनको पर्खाइमा छन्‌।

संघीय सरकारले केही निर्देशन दिएको भए पनि यसको कार्यान्वयनमा स्थानीय तह पछाडि देखिएको छ।

कैलाली जिल्लालाई कोरोनाको उच्च जोखिम जिल्लाका रुपमा घोषणा गरिसकेको भए पनि स्थानीय तहको ढिलासुस्तीमा कारण स्थिति नियन्त्रणभन्दा बाहिर जाने जोखिम पनि बढ्दै गएको छ।

अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ छैन

सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ संक्रमण दर तीव्र भएपछि अस्पतालहरू संक्रमितले भरिएका छन्।

कोभिड-१९ का गम्भीर प्रकृतिका बिरामीको उपचार सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा मात्रै भइरहेकोमा दुवै अस्पताल संक्रमितले भरिएका हुन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार अस्पतालमा अहिले ५४ जना संक्रमितको उपचार भइरहेको छ।

‘तीन जनाको भेन्टिलेटर र ११ जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘२५ जनाको अक्सिजन दिएर उपचार भइरहेको छ भने मध्यम कडा खालका १५ जना संक्रमितलाई मोडरेटमा राखिएको छ।’

गम्भीर प्रकृतिका बिरामी थपिएमा अब अस्पतालभित्र राख्न ठाउँ नभएको उनको भनाइ छ। ‘हामीले कोरोना पुष्टि भएर अवस्था गम्भीर भएका बिरामीलाई मात्र भर्ना गर्छौं,’ उनले भने, ‘सामान्य लक्षण भएका बिरामीलाई घरमै पठाइरहेका छौँ। अब गम्भीर प्रकृतिका कोभिड संक्रमितलाई अस्पतालमा राख्ने ठाउँ छैन।’ सेती अस्पताल ५५ शय्या क्षमताको हो।

महाकाली अस्पताल पनि गम्भीर प्रकृतिका कोरोना संक्रमितले भरिएको छ। अस्पतालमा ४८ जना संक्रमितको उपचार भइरहेको बताउँदै सूचना अधिकारी नारद भट्टले भने, ‘६ जनाको आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। १५ जनालाई अक्सिजन सहायतामा राखिएको छ।’

अस्पतालकै १७ जना स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण देखिएपछि जनशक्तिको समेत चरम अभाव सिर्जना भएको उनले बताए।

स्थानीय तहका आइसोलेसन बन्द, अस्पतालमा बिरामीको चाप

विगतमा स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन बन्द गरिएपछि प्रदेशका दुई ठूलो अस्पतालमा बिरामीको चाप बढेको हो। प्रदेशमा सबैभन्दा बढी संक्रमण दर बढेको धनगढीमा भने उपमहानगरपालिकाले आइसोलेसन सञ्चालन गरेको छ।

त्यहाँ पनि ६४ जना संक्रमितलाई राखिएको वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले जानकारी दिए। यस्तै सेती र महाकाली अस्पतालबाहेक अन्य ७ पहाडी जिल्लाका अस्पतालमा पनि गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि उपकरण जडान गरिएको छ।

तर, दक्ष जनशक्ति नहुँदा सबै उपकरण प्रयोगमा ल्याउन नसकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यता, प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थान र दक्ष जनशक्ति व्यवस्थापनमा जुटेको जनाएको छ।

कलेजलाई आइसोलेसन बनाउने तयारी

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने प्रयास गरिएको बताए।

बन्द अवस्थामा रहेका उपकरण सञ्चालन गर्नका लागि छोटो समयको तालिम दिएर स्वास्थ्यकर्मी परिचालन गर्ने पनि तयारी भइरहेको उनले जानकारी दिएका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.