|

जाजरकोट : जाजरकोटका चार स्थानीय तहमा अस्पताल बनाउनका लागि संघीय सरकारले बजेट पठाएको बजेटबाट दुई स्थानीय तहले टेन्डर मात्र गरेका छन्। बाँकी दुई स्थानीय तहले टेन्डरसमेत गरेका छैनन्।

छेडागाड, बारेकोटले टेन्डर गरेका छन् भने जुनिचाँदे र नलगाडले टेन्डर नै गरेका छैनन्। नलगाड नगरपालिकाले जग्गा नपाएका कारण टेन्डरमा ढिला भएको छ भने जुनिचाँदेले डिपिआर नै नगरेका कारण यो वर्ष सुरु गर्न सकेको छैन।

त्यस्तै,  भवन निर्माणका लागि बजेट पठाएको भए पनि दरबन्दी विवरण अहिलेसम्म नपठाएको बारेकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए।

बजेट आयो, दरबन्दी आएन

साबिकको स्वास्थ्य संस्थामा रहेका चिकित्सक नपठाउँदा गाउँपालिकाले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाउने काम भएको उनले बताए। त्यस्तै, नलगाड नगरपालिकाले आफैँले नियुक्ति गरेको डाक्टरद्वारा सेवा प्रवाह भइरहेको बताएको छ।

 सरकारी दरबन्दीका डाक्टर स्वास्थ्य संस्थामा नआउँदा आफैँले नियुक्ति गरेको डाक्टरद्वारा सेवा दिइएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। जुनिचाँदे गाउँपालिकाले पनि आफैँले नियुक्ति गरेको डाक्टरद्वारा सेवा प्रवाह गरिरहेको छ। छेडागाड नगरपालिकाले पनि आफैँ करारमा डाक्टर न्यूक्ति गरेको छ। सदरमुकामदेखि बाहिरका सबै पालिकामा रहेका स्वास्थ्य संस्थामा अक्सिजनविहीन अवस्थामा रहेको छ।

सदरमुकाममा रहेको ५० शैय्याको अस्पतालमा समेत अक्सिजन पलान्ट खरिदका लागि बोलपत्र भए पनि सो सामग्री कहिले आउँछ भन्ने कुनै खास समय नभएको बताएको छ। अहिले २५ वटा सिलिण्डरमा बाहिरबाट अक्सिजन भरेर ल्याइ सेवा दिदै आएको अवस्था छ। एचडियु सेवाका लागि २५ वेड राख्नुपर्नेमा ठाउँको अभावमा १५ वटा मात्र राखिएको छ।

सरकारी दरन्दीका डाक्टरले पाइला टेकेनन्

सबै स्थानीय तहमा एमबिबिएस डाक्टरको दरबन्दी भए पनि सरकारी डाक्टरले अहिलेसम्म पाइला टेकेका छैनन्। स्थानीय तहले आफैँले करारमा डाक्टर नियुक्ति गरेर काम चलाएको बताएका छन्। निकै तामझामसहित उद्घाटन गरिएको छेडागाडको अस्पतालमा बोडिङ सञ्चालन गरिएको छ। नलगाड, बारेकोटमा भने सुविधायुक्त भवनमा सेवा प्रवाह भइरहेको छ।

भेन्टिलेटर छ, चलाउने जनशक्ति छैन

जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा प्रयोगमा आउन सकेको छैन। वर्ष दिनदेखि थन्‍क्याएर राखिएको अस्पताल प्रशासनले बताएको छ। कर्णाली प्रदेश सरकारले दक्ष जनशक्तिको दरबन्दी पठाएपछि मात्र भेन्टिलेटर प्रयोगमा आउने बताएको छ।

निषेधाज्ञाको मिति २ जेठसम्म थप

वैशाख २५ गते निषेधाज्ञाको समय सकिन लाग्दा फेरि मिति थपिएको छ। कोरोना संक्रमितको संख्या २६९ पुगेसँगै फेरि जेठ २ गते सम्मा निषधाज्ञाको मिति थप गरिएको हो। यसैबीच कोरोना संक्रमित एकजनाको मृत्यु भइसकेको छ।

त्यसैगरी, जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका सातवटै पालिका, अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरी बलले यस अघि नै निर्माण गरेका क्वारिन्टिन र आइशोलेसन बेडहरुलाई अक्सिजन सहितको सुरक्षित र व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुको साथै जिल्लामा संक्रमितहरुको बृद्धिदरलाई मध्यनजर गरी थप क्वारिन्टिन र आइशोलेसनको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.