|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब २५ किलोमिटरको यात्रापछि पश्चिममा पर्ने बराहताल गाउँपालिकास्थित हुर्केका पुगिन्छ। त्यहाँ स्थानीय महिलाहरु कर्णाली राजमार्ग किनारमा मकै बेचिरहेको देखिन्छ।

जेठको प्रचण्ड गर्मी, सडक छेउमै रहेका रुखहरुको छहारी। मध्य दिउँसोको टण्टलापुर घाममा तप्प–तप्प पसिना चुहाउँदै मकै पोल्दै बेच्न बसेका छन् महिलाहरु। सुर्खेतमा गत वैशाख १४ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण दर पनि घटेको छैन।

तर, हुर्केका महिलाहरु भने कर्णाली राजमार्गको छेउमै बसेर मकै, काँक्रा, आरुबखडा, केरालगायत वस्तु बेचिरहेका छन्। उनीहरुलाई न कोरानाको डर न त निशेधाज्ञाको त्रास नै। चिन्ता छ त केवल भोकको।

परिवारको पेट पाल्न र घरखर्च चलाउन सिजनअनुसारका वस्तु, तरकारी बेच्नु आफ्नो पेशा नै यहाँका महिलाहरु बताउँछन्। यसरी दिनभर काम नगरे घर खर्च चलाउन गाह्रो हुने उनीहरुको भनाइ छ।

‘सुर्खेतमा निषेधाज्ञा छ। कोरोना माहामारीले पनि सताएको छ भन्ने थाहा छ। तर, घरमै बसेर खर्च चल्दैन,’ खगिसरा महताराले भनिन्, ‘केही वर्ष यता म यहीं सडकमै बसेर मकै पोल्दै बेच्दै आएकी छुँ। यहीबाट उठेको पैसाले परिवारको खर्च चल्छ। त्यसैले रोगभन्दा भोक पहिलो ठान्छुँ।’ 

खगिसराले मकै बचेर दैनिक तीन हजार रुपैयाँसम्मको कारोबार गर्छिन्। प्रायः घरकै काममा व्यस्त रहेने उनी सिजनका बेला मकै, काँक्रा, आरुबखडा र केरा बेचेर आम्दानी गर्छिन्। सोही रकमबाट उनी घरखर्च तथा छोराछोरीको पढाइ खर्च कटाएर केही रकम बचतसमेत गर्दै आएको उनले बताइन्।

कोेरोनाको त्रास भए पनि उनीहरु पैदल तथा सवारीसाधनमा हिँड्नलाई समान बेच्छन्। महामारीका बेला आफ्ना कुलदेवतालाई सम्झिएर बस्ने गरेको उनीहरुले बताए। ‘हाम्रो परिवार तथा स्थानीय गाउँलेहरुले मटियार (कुलदेवता)को विश्वास लिएर काम गरिरहेकी छौँ,’ खगिसराले भनिन्, ‘गत साल पनि कोरोना महामारीका बेला पनि कुखुरा चढाएर मटियारलाई खुसी पा¥यौं। त्यसैले कोरोनाको त्रास भए पनि देवता सम्झिएर जोखिममा मकै पोल्दै बेच्दै यो पेशा गरिरहेका छौँ।’

कर्णाली राजमार्गको यात्रा गर्नेहरु हुर्के हुँदै सुर्खेत पश्चिमसहित कर्णालीका अन्य जिल्ला र सुदूरपश्चिमको अछाम प्रवेश गर्छन्। अध्ययन, रोजगारी, व्यापार, व्यवसाय तथा अन्य प्रयोजनका लागि सुर्खेत, नेपालगञ्ज र भारत पुगेका सयौं नागरिकहरु दैनिक यही बाटो हुँदै गृह जिल्ला फर्किन्छन्। निशेधाज्ञाका कारण अन्य व्यापार व्यवसायसँगै होटलहरु बन्द छन्। बाटोमा यात्रुलाई भोक लागेको ठाउँमा सजिलै खान पाउने स्थिति छैन। त्यसकाराण पनि हुर्के पुगेपछि जो सुकैले त्यहाँका महिलाले सडक किनारमा बेच्न राखेका मकै किनेर खाने गर्दछन्। तरकारी तथा फलफुल किनेर लैजान्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.