|

गोरखा : बुधबार राति तीन जनासहित गोरखाको बारपाक गाउँमा जेठ महिनायता १५ जनाको मृत्यु भयो। मृतक मध्ये १२ जनाको कोरोना परीक्षण नै गरिएको छैन। बाँकी तीन जनामा भने कोरोना पोजेटिभ देखिएको गाउँपालिका कार्यालयले जनाएको छ।

कोरोना परीक्षण नभई मर्नेहरूमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङ बताउँछन्।

उनले थाहाखबरसँग भने, ‘मृतक अधिकांश बृद्धबृद्धाहरु छन्। मर्नेहरूमा रुघा, खोकी, ज्वारो आएको र स्वासप्रस्वासमा समस्या देखिएको आफन्तहरु बताउँछन्। तर, परीक्षण भएको छैन। परीक्षण नै नभई कोरोना भन्न  मिलेन।’

गएराति मात्रै एक महिला र दुई पुरुषको मृत्यु भयो। अघिल्लो बुधबार पनि एकैदिन तीन जनाको मृत्यु भएको थियो।  दुईजनाको गाउँमै मृत्यु भएको थियो भने एकजना उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको हो।

शंकास्पद मृत्यु भएता पनि स्थानीयहरुले मृतकको आफ्नै परम्परा अनुसार दाहसंस्कार गर्ने गरेका छन्। वडाध्यक्ष भन्छन्,  ‘कोरोना परीक्षण नै नगरेकाले मृतकका आफन्तहरुले स्थानीय परम्पराअनुसार आफन्तहरुले अन्त्येष्टि गर्ने गरेका छन्। पहिलेपहिले जस्तो धेरै मान्छे त हुँदैनन् तर मृतकका आफन्तहरु भने सबै जम्मा भएर दाहसंस्कार गर्ने गर्छन्।’

१२ सय घरधुरी रहेको यस बारपाक गाउँमा करिब साढे पाँच हजार जनसङ्ख्या छ। यस गाउँमा हालसम्म दुुई पटक गरी ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा पोजेटिभ र २५ जनाको पिसिआर गर्दा १६ जनाको पोजेटिभ रिपोर्ट आएको छ। त्यसपछि यहाँ कोरोना परीक्षण नै भएको छैन।  

परीक्षण गर्नै मान्दैनन् स्थानीय 

बारपाकमा हालसम्म तीन चरणमा एक सय १४ जनामा कोरोना परीक्षण गर्दा ६० जनामा पोजेटिभ देखिएको छ। यो भनेको संक्रमण दर करिब ५३ प्रतिशत हो।
झण्डै साढे पाँच हजार जनसङ्ख्या रहेको गाउँमा दिनप्रतिदिन कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनेहरूको मृत्यु दर बढिरहेको छ।

तर, स्थानीयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आनाकानी गर्ने गर्छन्। यहाँ मानिसहरु दैनिक मेलापात, घाँस दाउरा गरिरहन्छन्। आफन्तकोमा आउजाउ गर्ने, मृतकको दाहसंस्कारमा जाने, खेतीपातीका लागि समय दिईरहेका छन्।

गाउँपालिकाले कोरोना परीक्षणका लागि दुई पटकसम्म स्वास्थ्यकर्मीको टोली पठाए पनि स्थानीयहरु परीक्षण गर्न नमानेको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट बताउँछन्। उनी भन्छन्, ‘त्यहाँका मानिसहरुमा अन्धविश्वास छ। स्थानीयहरु कोरोना परीक्षण गर्नै मान्नुहुन्न। हामीसँग जनशक्ति पनि कम छन्। दिनप्रतिदिन मृत्युदर बढिरहेको छ। अबस्था चिन्ताजनक छ।’

गाउँपालिका एक्लैले त्यहाँको स्थिती नियन्त्रण गर्न नसक्ने गाउँपालिकाका अध्यक्ष भट्टको भनाइ छ।

‘हामीले त्यहाँ परीक्षणको दायरा बढाउन कोसिस् गरिरहेका छौँ। तर, स्थानीयहरु मान्नुहुन्न। जिल्लाको डिसिसिएमसी, प्रदेश, संघ जहाँ सक्छु पहुँच भएजति ठाउँमा भनिरहेको छु। भोलीसम्म प्रदेशबाट स्वास्थकर्मीको टोली आउने भन्ने कुुरा छ। हामी पनि तयारी अबस्थामा छौँ।’

सिडिओ भन्छन् : ‘भोलिसम्ममा स्वास्थ्यकर्मीको टोली पठाउँछौँ’

कोरोना रोकथाम तथा व्यवस्थापन समिती (डिसिसिएमसी) का संयोजक तथा प्रजिअ शालिग्राम शर्मा पौडेलले भोलिसम्म स्वास्थ्यकर्मीको टोली वारपाक पठाउने गरी तयारी गरिरहेको बताए।

‘त्यहाँ हामीले पहिला पनि परीक्षणका लागि टोली पठाएका थियौँ तर स्थानीयहरु परीक्षण गर्न नै मान्नुभएन। हामीले अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि, दलीय प्रतिनिधिसँग कोर्डिनेसन गरेका छौँ, उहाँहरुले परीक्षणका लागि स्थानीयहरुलाई कन्भिन्स गर्नुहुनेछ भन्ने आशा गरेका छौँ’, उनले भने, ‘भोली प्रदेश सरकारले पनि स्वास्थ्यकर्मीको टोली पठाउने भनेको छ। मैले पनि जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयसहितको टोली गठन गर्दै छु। उहाँहरुलाई सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई भनेको छु। भोली स्वास्थ्यकर्मीको टोली त्यहाँ पुग्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.