|

गोरखा : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्युदर बढे पनि परीक्षण गर्न आनाकानी गरेका बारपाकी स्वास्थ्यकर्मीको टोलीसिहत मन्त्री र सांसद पुगेपछि परीक्षण गर्न तयार भएका छन्।

शुक्रबार बिहान पोखराबाट गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा कानुन मन्त्री रामशरण बस्नेतको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पुगेको थियो।

'कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको मृत्युदर बढ्यो तर स्थानीयले परीक्षण गर्न मानेनन् भन्ने थाहाखबरमा समाचार आएपछि प्रदेश सरकारको तर्फबाट मेरो नेतृत्वमा आज स्वास्थ्यकर्मीको टोली यहाँ आइपुग्यौँ। अहिले परीक्षण भइरहेको छ’, मन्त्री बस्नेतले भने।

विशेषज्ञसहित टोली आउने कुरा स्थानीयलाई गाउँपालिकाले जानकारी गराएकाले पनि परीक्षण गर्न आउनेको संख्या बढेको उनी तर्क गर्छन्।

‘मैले हिजो नै विशेषज्ञसहितको टोली आउँदै छन् भनेर गाउँमा सबैलाई खबर गर्न पालिकालाई भनेको थिएँ। सबैतिर सर्कुलर भएको रहेछ। हामी आएर परीक्षण गर्न नमान्ने स्थानीयहरुलाई परीक्षण गर्नुपर्छ। कोरोना लागेको रहेछ भने पनि डराउनु पर्दैन, तपाईंहरुको उपचार सरकारले गर्छ भनेर सम्झाएपछि परीक्षण गर्न तयार हुनुभयो’, उनले भने।

प्रदेश सरकार जनताको स्वास्थ्यमा अत्यन्तै गम्भीर रहेको बताउँदै उनले कोरोनाबाट जनतालाई बचाउन आवश्यक रणनीति तयार पारी काम गरिरहेको बताए। 

मन्त्री बस्नेतको नेतृत्वमा गएको टिममा प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा, चार जना चिकित्सक, तीन जना ल्याब टेक्निसियन, नर्सहरु, मनोसामाजिक परामर्शदाता र एक जना जनस्वास्थ्य अधिकृत छन्। 

स्वास्थ्यकर्मीको टिम केही दिन बारपाकमा बसेर कोरोना तथा अन्य रोगको पनि परीक्षण तथा उपचार गर्नेछन्।

‘स्वास्थ्यकर्मीको टोली केही दिन त्यही बस्नेछ। आवश्यकता अनुसार र गर्नुपर्ने सबैको कोेरोना तथा अन्य रोगहरुको पनि परीक्षण गरी आवश्यक उपचार गर्नेछौँ। त्यहाँ उपचारमा समस्या आए गोरखा अस्पताल त्यहाँ पनि समस्या आए पोखरा लैजाने गरी तयारी गरिरहेका छौँ’, प्रदेश स्वास्थ्य निर्देशक शर्माले भने।

प्रदेशबाट गएको टोलीले हिमालय माविको प्रांगणमा, गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले पुरानो स्वास्थ्य चौकीमा र स्वास्थ्य कार्यालय तथा गोरखा अस्पतालको टीमले लाकुरीबोटमा शिविर खडा गरी कोरोना परीक्षण र स्वास्थ्य उपचार शुरु गरेका गाउँपालिका प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए।

‘परीक्षण भइरहेको छ। आज र भोलि साविकको बारपाक गाविसमा पर्ने हालको प्रभावित क्षेत्रका दुई वटा वडामा परीक्षण सक्ने लक्ष्यका साथ टिक खटिरहनुभएको छ’, उनले भने।

१२ सय घरधुरी रहेको यस बारपाक गाउँमा करिब साढे पाँच हजार जनसङ्ख्या छ। बारपाकका करिब ७५ प्रतिशत घरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी रहेको स्थानीय बताउँछन्।

तर,  तीन चरणमा एक सय १४ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये करिब ५३ प्रतिशत अर्थात ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपाली काँग्रेसका गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, जनता समाजवादी पार्टीकी धनमाया लामा पनि बारपाकमा स्वास्थ्य सामाग्री लिएर पुगेका छन्।

दुबै सांसद छुट्टाछुट्टै टिम बनाएर शुक्रबार बिहान बारपाकको अjस्था अjलोकन गर्न तथा आjश्यक स्वास्थ्य सामग्री लिएर बारपाक पुगेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.