|

इलाम : आज नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकप छनौटको पुर्व तयारी स्वरुप इराकले नेपाललाई मैत्रीपूर्ण खेलको लागि आतिथ्यता प्रदान गरेको हो। खेल नेपाली समयअनुसार १०:१५ बजे बसरा अन्तर्राष्ट्रिय रंगशालमा बन्द ढोकाका बीचमा हुनेछ।

हेड टु हेड नतिजा

नेपालको लागि इराक नौलो प्रतिद्वन्द्वी हैन। पछिल्लो पटक २० वर्षअघि यी दुई टोली आमने-सामने भएका थिए। जापान–दक्षिण कोरिया विश्वकपको लागि सन् २००१ मा भएको छनोटमा अन्तिम पटक यी दुई टोली आमने सामने भएका थिए। पहिलो खेल ९–१ को नतिजामा नेपाल हारेको थियो। इराकको राजधानी बगदादस्थित अल साहब रंगशालामा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले एक मात्र सान्त्वना गोल गरेका थिए।

४–० ले पछि परेको अवस्थामा निराजनले २५ औ मिनेटमा इराकविरुद्ध पहिलो ऐतिहासिक गोल गरेका थिए। तत्कालीन समयमा काठमाण्डौस्थित दशरथ रंगशालामा खेल आयोजनाको योजना भए पनि नेपाल आयोजनाबाट पछि हटेपछि एएफसीले कजाकस्तानको अल्माटीमा खेल आयोजना गर्ने तय गरेको थियो। इराकको विरोधपछि पहिलो खेल बगदादमा खेलाइएको थियो। सोही वर्ष कजाखस्तानमा भएको दोस्रो लेगमा नेपालले ४–२ को साँघुरो हार बेहोरेको थियो।

३–० ले पछि परेको अवस्थामा खेलको ३७ औ मिनेटमा हरि खड्काले इराकविरुद्ध पहिलो गोल गरे। ५ हजार दर्शकमाझ भएको खेलमा ६३ औ मिनेटमा निराजन रायमाझीले दोस्रो गोल गर्दै अग्रता कम बनाएका थिए।

 त्यसभन्दा अगाडि नेपालले इराकसँग १९८२ मा एसियन गेममा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा पनि नेपाली टोली ३–० ले पराजित भएको थियो। सो प्रतियोगितामा कुवेतलाई हराउँदै इराकले स्वर्ण पदक नै प्राप्त गरेको थियो। २ दशकपछिको प्रतिस्पर्धामा नेपाली फुटबल टिमलाई प्रमाणित गर्ने अवसर छ।

यदपि, वरीयताक्रमलाई हेर्ने हो भने नेपाली टिम इराकभन्दा १०३ वरियताले पछि छ। नेपाल १७१ मा रहँदा इराक  ६८ औ स्थानमा छ। विश्वकप छनौटकै तयारीमा रहेको इराकले कोरोना कहरका बीचसमेत यस वर्ष पाँचौँ मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन लागेको हो।

यसअघि उसले ४ वटा मैत्रीपूर्ण खेलमा २ जित र २ बराबरी नतिजा निकालेको छ। नेपाल समेत यस वर्ष चौथो खेल खेल्दै छ। गत मार्चमा घरेलु मैदानमा थ्री नेशन्स कप आयोजना गर्दै उपाधिसमेत जितेको छ।

नयाँ प्रशिक्षक अल्मुताइरीका लागि अग्निपरिक्षा

इराक विरुद्धको खेल नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका लागि अग्निपरिक्षा हुनेछ। नेपालको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त बखत उनले नेपाली फुटबल टिममा धेरै सम्भावना रहेकाले त्यसलाई निखार्न सफल हुनेमा विश्वास लिएका थिए। उनले नेपाली फुटबलको डिफेन्सिभ रणनितिलाई परिवर्तन गर्दै अघि बढ्ने समेत बताएका थिए। ३–४–३ फर्मेसेनमा ब्युटिफुल–अट्याकिङ फुटबल  नेपाली टिममा स्थापना गर्ने उनले बताएका थिए।

३ वर्षयताका नेपालका सबै उमेर समूहका खेलाडीको प्रदर्शन रिर्पोट आफूसँग भएको दाबी गरेका प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेल विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोली छनोटमा समेत क्रान्ति ल्याएका छन्। प्रो–लाइसेन्स होल्डर कुवेती प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएका डिफेन्डर रन्जित धिमाल, स्ट्राइकर भरत खवास लगायत केही खेलाडीहरुलाई बाहिर राख्दै ६ जना नयाँ अनुहारलाई पहिलो पटक नेपाली टिममा अवसर दिए।

उनले अप्रिलमा भएको थ्री नेसन्स कप विजेता नेपाली टोलीबाट १३ खेलाडी परिवर्तन गरेका छन्। थ्री नेसन्स कप जित्दाका १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके। प्रशिक्षक अलमुताइरीले खेलको नतिजाको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउँदै आएका छन्।

उनले आफ्नो योजनाअनुसार खेलाडीले मैदानमा प्रतिस्पर्धा गर्ने भएकाले खेलाडीको प्रदर्शनमा प्रश्न नउठाउनसमेत खेलअघि नै बताएका छन्। उनले इराक विरुद्धको खेल नतिजाको लागि भन्दा अनुभवका लागि उपयोगी हुने बताए।

‘मलाई आशा छ यो हाम्रो युवा टिमको लागि अनुभव बटुल्ने अवसर हुनेछ। नतिजा खोज्नुको सट्टा आफैँले आफूलाई मूल्यांकन गर्ने र भविष्यमा यसमा सुधार गर्ने प्रयास हो।’ राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बूले समेत इराक विरुद्ध तयार रहेको बताए।

‘इराकविरुद्धको खेल नेपालको लागि ठुलो अवसर हो। कुवेतमा हुने विश्वकप क्वालिफायरको लागि राम्रो अनुभव हामीसंग हुनेछ। राम्रो तयारी र अभ्यास गरेका छौ।’ चेम्जोङले भने

इराक मैत्रीपूर्ण खेलपछि विश्वकप छनोट

इराकसँग खेलेपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेलका लागि नेपाल कुवेत प्रस्थान गर्नेछ। जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ।

नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ। समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन। अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ।

नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ। विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.