|

इलाम : इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो अन्तरले पराजित बनेको छ। गोलरक्षक र डिफेन्सबीचको तालमेलको अभाव देखिएको खेलमा नेपाल ६–२ ले पराजित बनेको हो। नेपालले व्यहोरेको अधिकांश गोलमा डिफेन्स र गोलरक्षक किरण चेम्जोङबीचको समन्वय अभाव देखिन्थ्यो।

पहिलो हाफको ३८ मिनेटसम्म अग्रता बनाएको नेपाली टिम त्यसपछिको अवधिमा भने घरेलु टोली सामु निरिह देखिएको थियो। पहिलो हाफको ८ मिनेटमा तीन गोल खान पुगेपछि नेपाली टिमको लय खस्कदै गएको थियो। खेलमा सुरुवाती अग्रता इराकले लिएको थियो। नेपाली डिफेन्डरले फाउल गरेपछि सातौँ मिनेटमा पाएको अवसरमा कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरेका थिए। उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो। तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो।

इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो। खेलको ३० औ मिनेटमा मनिष डाँगीले नेपाललाई अग्रता दिलाएका थिए। सन्तोष तामाङको चलाखी पूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै मनिषले डेब्यु गोल गरेका हुन्। गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरे। मनिषले गोल गरेसँगै इराक विरुद्ध २० बर्षपछि गोल गर्ने खेलाडी समेत बनेका छन्।

यसअघि सन् २००१ मा निराजन रायमाझीले २ र हरि खड्काले १ गोल गरेका थिए। ३९ औ मिनेटमा इराकले खेल बराबरीमा ल्यायो। दुर्गाम स्माइलको कर्नर प्रहारलाई मोहम्मद अव्दुल्जाराले पेनाल्टी एरियाबाट हेडर गोल गरेका थिए। त्यसको एक मिनेट नबित्दै नेपाली डिफेन्डर रोहित चन्दको गल्तीको फाइदा उठाउँदै आयमेन हुसेनले अग्रता दिलाए।

रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा हुसेनले सहज अवसर पाएका थिए। इन्ज्युरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे। विंगबाट आएको क्रसलाई उनले गरेको हेडर गोलरक्षक किरणको हातमा लाग्दै गोल भएको थियो। पहिलो हाफमा ४–२ ले पछि परेको नेपाल दोश्रो हाफमा नेपाली टिम अझ निरीह देखिन्थ्यो।

अधिकाँश समय बल नेपालको डिवक्स आसपासको क्षेत्रमा रहयो। यद्यपी इराकको प्रहारलाई कप्तान समेत रहेका गोलरक्षक किरणले निस्तेज पारिरहे। ६८ औं मिनेटमा सुमन अर्यालको ब्याक पासको फाइदा उठाउँदै सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका मोहम्मद अलि अलसम्मारीले वान भर्सेस वान गोल गर्दै इराकको अग्रता ५–२ बनाए। खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

इराकसँग खेलेपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेलका लागि नेपाल कुवेत प्रस्थान गर्नेछ। जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ। नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ। समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन। अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ। नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ। विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.