|

गोरखा : गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा कानुन मन्त्री रामशरण बस्नेतले सरकार संविधान र नियम कानुनमा व्यवस्था भएअनुसार नै अघि बढ्ने बताएका छन्।

आइतबार भएको प्रदेश सभाको आठौँ बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

‘यो अल्पमतको सरकार हो। हाम्लाई पनि थाहा छ यो सरकारले ३० दिनभित्र लिनुपर्छ। ३० दिन अगाडि नै आगामी २७ गतेभित्र विश्वासको मत लिने कुरामा कोही दुविधामा पर्नु पर्दैन स्पष्टताका साथ हामी समय अवधिभित्र यो काम गर्नेछौँ’, उनले भने।

बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल नगरे बजेट ल्याउन नसकिने उनले बताए। अहिले सहमतिमा जान सबैलाई उनले आग्रह पनि गरे।

मन्त्री बस्नेतले भने, ‘यो सरकारले बजेट ल्याउन पाउने कि नपाउने ? अधिवेशन सुरु गर्न पाउने कि नपाउने ? हामीले कानुनमा नियममा नियमावलीमा भनेका छैनौँ? लेखेका छैनौँ ? अहिले कसैले नगर भन्दा रोकिने कुरा हुन्छ ? हुँदैन। हाम्रो सहमतिका बीचमा यी कुरा अगाडि बढ्दै जाऊँ।’

गण्डकी सरकार कानुन अनुसार नै बढ्ने प्रस्ट्याउँदै उनले केपी ओलीसँग जसरी पृथ्वीसुब्बा गुरुङसँग डराउनुपर्ने स्थिति नभएको बताए। 

‘जुन दिन विश्वासको मत लिने समय आउँछ, हामीले विश्वासको मत लिए हामी बस्छौँ। हैन, अर्कै सरकार बन्ने स्थिति रहेछ, अर्कै सरकार बन्छ, नसक्ने स्थिति रहेछ भने नियम कानुन, संविधानले जे व्यवस्था गरेको छ, त्यसरी नै सरकार अगाडि बढ्छ। केपी ओलीसँग एकदम जसरी डराएर जुन अवस्था सिर्जिरहेको छ, यहाँ पृथ्वीसुब्बा गुरुङसँग त्यसरी डराइहाल्नुपर्ने, आत्तिहाल्नुपर्ने छैन,’ उनले भने। 

थपे, 'प्रदेश सभा बाँच्छ कि बाँच्दैन, कसैले मार्छ कि भन्ने चिन्ता साथीहरूसँग हुन सक्छ। संसद छल्ने भाग्ने सरकार अन्त अन्त भाग्यो भनिराख्नुभएको छ। हामी अविश्वासको प्रस्ताव हामीले फेस नगरी नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्दा भाग्या हुन्छ? 

सबै राजनीतिक दल मिलेर गए जनताको पक्षमा धेरै महत्वपूर्ण काम गर्न सकिने उनको भनाइ थियो। त्यसैले उनले सहकार्यका लागि आग्रह गरे। 

‘देशको विकास र समृद्धिका लागि काम गर्नुपर्छ भनेर धेरै साथीले भन्नुभयो। तर, म भन्छु ईर्ष्याले बन्छ ? डाहाले बन्छ ? प्रतिशोधको राजनीतिले बन्छ ? बन्दैन। त्यो हामीबीचको सहकार्यले बन्छ। त्यो सहकार्य गर्न नेकपा एमाले तयार छ। देशको विकास र रुपान्तरण गर्ने हो भने यो अहिलेको आवश्यकता छ’, उनले भने।

प्रतिपक्षमा बस्दा सरकारको विरोध गर्नैपर्छ भन्ने परिपाटी त्याग्नुपर्नेमा उनले जोड दिए।

‘संविधानअनुरुप नचल्नेहरू, संविधानको हुर्मत लियो भन्नेहरूले के बुझ्न जरुरी छ भने अब हामी गणतन्त्रमा लोकतन्त्रमा संविधान कानुन नीति विधीअनुसार नै चल्दै जाने हो। आफूअनुकूल हुँदा ठिक भन्ने प्रतिकूल हुँदा बेठिक भन्ने ? सत्तामा हुँदा बसुन्जेल राम्रो, बाहिर निस्कँदा नराम्रो ? अब यसरी नै हामीले भन्न थाल्यौँ भने के हुन्छ ?’, उनले प्रश्न गरे।

प्रदेशको विकास र समृद्धिका लागि सरकार जोकोहीसँग हातेमालो गर्न तयार हुने उनले बताए। 

‘अहिलेको सरकार होस्, अथवा नेकपा एमालेको सरकार होस्।  यहाँका आम समस्यालाई, जनताका आम समस्यालाई छिनालेर एउटा सुखमा हामी पुर्‍याउन  चाहन्छौँ। प्रदेशलाई रुपान्तरण गर्न चाहान्छौँ। समृद्ध प्रदेश बनाउन चाहन्छौँ। एक नम्बरको प्रदेश बनाउन चाहन्छौँ। यसका निम्ति हामी जोकोहीसँग पनि हातेमालो गर्न चाहन्छौँ र साथीहरू पनि तयार  हुनुपर्छ। दोष सरकारलाई मात्रै देखाएर हामी प्रदेश सभामा बस्ने सबै उम्कन सक्दैनौँ। सकारात्मक रुपमा सकारात्मक सल्लाह दिनुस्, सरकार त्यसलाई शतप्रतिशत स्विकारेर  बढ्छ’, उनले भने।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.