|

इलाम : जरादेखि लहरासम्म बिक्रीबाट आम्दानी हुने भएपछि इस्कुस खेतीमा इलामका किसानको आकर्षण बढ्दै गएको छ। मौसमी तरकारीको रुपमा रहेको इस्कुसको फलसँगै मुन्टा र जरासमेत बिक्री हुन्छ।

नगदे बालीको रुपमा जेठदेखि मंसिरसम्म आम्दानी लिन सकिने इस्कुस सिजनको सुरुमा प्रति मन (४० केजी) को १ हजार छ सयमा बिक्री भए राम्रो मानिन्छ। भारतसंग सिमाना जोडिएको इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकाको अधिकाँश किसानको बारीमा इस्कुसको मचान लगाएको देख्न सकिन्छ।

सुर्योदय नगरपालिकाको वडा नम्बर–९ गैरीगाउँ इस्कुस खेतीकै लागि परिचित छ। उक्त वडाको हरेक घरका कृषकले कम्तीमा ३ रोपनीदेखि ५० रोपनी भन्दा बढी जमिनमा इस्कुसको व्यावसायिक खेती गर्दै आएका छन्।

निश्चित मूल्य नहुँदा चिन्तित

यातायातको पनि सहज  सुविधा भएको उक्त वडामा उत्पादन भएको इस्कुस खरिदका लागि स्थानीय एवं झापाका व्यापारीहरु घर–घरमा आउने गरेको कृषक तुलसी पराजुली बताउँछन्। पछिल्लो समय भारतका बजारमा बजारमा समेत इस्कुसको माग बढेपछि धान मकै खेती हुने जग्गामा इस्कुस रोप्न थालेको पराजुलीको भनाइ छ।

पछिल्लो समय अर्गानिक ढंगबाट व्यावसायिक इस्कुस खेतीमा लागेका उक्त क्षेत्रका कृषकहरुको मुख्य गुनासो भने निश्चित मूल्य नहुनु हो।​चियाखेतीलाई पनि सँगसँगै अँगालेका उक्त क्षेत्रका कृषकहरुको आर्थिक जीवन विषेशत इस्कुसले नै उकासेको छ।

मेची राजमार्ग आसपास र सडक यातायात पुगेका अधिकांश क्षेत्रमा इस्कुस खेती बर्सेनि थपिँदै आएको छ। पशुपालनमा समेत अग्रणी इलाममा इस्कुसको पातसमेत उत्तिकै उपयोगी बनेको छ। पशुलाई खोलेको लागि इस्कुसको पात र लहरा पोसिलो हुने भएपछि कृषकहरुले खेर फाल्दैनन्। ५० रोपनीभन्दा धेरै जमिनमा इस्कुस लगाउनेको संख्या इलाममा उल्लेख्य छ। इस्कुसकै कमाईले किसानरुले घरजग्गा समेत जोडेका छन्।

मकै छोडेर इस्कुस खेती

इस्कुसको रोपण फागुन हुन्छ। एक पटक रोपेपछि अर्को वर्ष पनि सोही ठाउँबाट इस्कुसको बोट पलाउँछ। जरा, फल, मुन्टाको बिक्रीबाट राम्रो आम्दानी हुने भएकाले मकैखेती छोडेर इस्कुस खेती गरेको सूर्योदय नगरपालिका ९ की कृषक रुपा सुवेदी बताउँछिन्।

‘जरा खनेपछि एक पटक मल लगाउने र गाड्ने गरेपछि बर्षभरिलाई नियमित आम्दानीको स्रोत बन्छ। जरा र फलको अम्दानी त छँदैछ नियमित मुन्टा टिप्दा मात्रै पनि घर खर्च चलाउन पुग्छ।’ उनले भनिन्  ‘इस्कुसको लहरा पनि गाईवस्तुको खोलेमा प्रयोग हुने भएकाले जरादेखि लहरासम्म खेर जाँदैन।’

इस्कुसको हरियो मुन्टा, फल र जरा (तरुल) तीनवटै उत्पादन तरकारीमा प्रयोग हुन्छ। इस्कुसको फलको सिजनमा बजारका अधिकांश खाजा पसलमा म:म बनाउन प्रयोग गरिन्छ। अहिले लकडाउनको समयमा समेत व्यपारीहरु गाउँगाउँ पुगेर इस्कुसका मुन्टा खरिद गर्दै आएको सुवेदीले बताइन्।

लहरा फैलिएर फल दिने इस्कुसका लागि हजारौँ घना बासको प्रयोग गरी माच बनाउने गरिन्छ। जेठ पन्ध्रदेखि मंसिरसम्म फल दिने इस्कुसको त्यसपछि जरा खनिन्छ। जरा प्रतिकिलो सय रुपैयाँसम्म बिक्री हुन्छ भने मुन्टा प्रतिमुठा २० देखि ५० रुपैयाँमा बिक्री हुन्छ।

इस्कुसका फूलहरुमा प्रशस्त गुलियो रस पाइने हुँदा मौरी चरणको लागि पनि उपयुक्त बाली मानिन्छ। इलाममा इस्कुस खेतीका लागि न्यानो र ओसिलो हावापानी भएकाले रोगकिरा खासै लाग्दैन। इस्कुसखेतीबाट एक किसानले २ लाखदेखि २० लाखसम्म वार्षिक आम्दानी गर्दै आएका छन्। यसरी पूर्वी इलामको किसानले इस्कुस बेचेर महिनामा नै लाखौं कमाउछन्। बजारसमेत खोजी गर्नु पदैन। इलाममा २८ प्रकारको इस्कुस पाइने गरेको कृषि विज्ञ बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.