|

काठमाडौं : प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा उक्त सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये एक हजार ३० वटा गाडी र एक हजार ६ सय ९० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।

साथै नयाँ भेरिएन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने तीन सय १५ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। साथै ३ हजार ३ सय २४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.