कोरोना संक्रमित डिस्चार्जसँगै अस्पतालका बेड पनि खाली

|

सुर्खेत : कर्णाली प्रदेशको सुविधा समपन्न अस्पतालको रुपमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना संक्रमितको चाप दिनप्रतिदिन कम हुँदै गएको छ।

कोरोनाको दोस्रो भेरियन्ट फैलिएसँगै उक्त अस्पतालमा एकै दिन करिब १० प्रतिशतले ज्यान गुमाउनुपरेको थियो। तर यो समय अघिपछि पनि अस्पतालमा प्रायः दुई प्रतिशतले कोरोना संक्रमितहरूले ज्यान गुमाएका छन्।

प्रदेशकै ठूलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्ला मात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ। कर्णालीका अन्य जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि यही अस्पतालको मुख ताक्नुपर्ने अवस्थासमेत भएको हो।

कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका बिरामीलाई कर्णालीमा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) र प्रदेश अस्पतालमा संक्रमित आउने गर्दछन्।

तर (शिक्षण अस्पताल) र अन्य जिल्लामा रहेका अस्पतालले उपचार गर्न सक्ने अवस्था नहुँदा बिरामीको चाप प्रदेश अस्पतालमा धेरै हुने गरेको थियो। अन्य जिल्लाका अस्पतालमा अक्सिजन अभावका कारण जिल्ला अस्पतालले गम्भीर समस्या भएका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको हो।

केही जिल्लामा अक्सिजन उत्पादन गर्ने उद्देश्यले खरिद गरिएका सामग्री आवश्यक जनशक्ति अभावमा थन्किएका छन्। पहुँचवाला र आर्थिक अवस्था सम्पन्न भएकाले समयमै हवाई उडान या आवश्यक साधन चाँजोपाँचो गरेर उपचार गराउन सक्ने भए पनि सामान्य नागरिकले त्यो क्षमता राख्दैनन्।

प्रदेशमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै दुई सय ५१ जनाले ज्यान गुमाइसकेको अवस्था छ। कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्युदर धेरै छ। जसमध्ये प्रदेश अस्पतालमा मात्र वैशाख यता (दोस्रो लहर सुरु भएपछि) १०० भन्दा बढी जनाले ज्यान गुमाएको अस्पताल स्रोतले जनाएको छ।

‘पहिलो लहरमा दीर्घ रोगीहरूमा कोरोना संक्रमण हुनेबित्तिकै मृत्यु हुन्छ भनिन्थ्यो, तर अहिले त्यस्तो अवस्था छैन,’ प्रदेश अस्पतालका फिजिसियन तथा कोरोना फोकलपर्सन डा.केएन पौडेलले भने, ‘अहिले ३० देखि ५० वर्ष उमेर समूहका व्यक्तिमा मृत्युदर बढी देखिएको छ। दीर्घरोगीहरू मात्र खतरामा छन् भन्ने अवस्था अहिले छैन।’

पौडेलका अनुसार अधिकांश जटिल खालका बिरामी अक्सिजनको मात्रा शरीरमा कम भइसकेपछि मात्र अस्पतालमा आउने गरेको देखिन्छ। ‘कोरोना हैन भन्ने मानसिकता बोकेर मेडिकलमा जाने, सामान्य उपचार गर्ने, अत्यन्तै  सिकिस्त हुने गरी अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गर्नुहुन्छ,’ उनले भने, ‘अस्पतालमा आएर कोरोना परीक्षण र रिपोर्ट आउने समयसम्म बिरामीमा झन् अक्सिजनको मात्रा घटिसकेको हुन्छ।’ त्यसपछि चाहेर पनि बिरामीलाई बचाउन सक्ने अवस्था नरहने उनले बताए। त्यसैले पनि अहिले मृत्युदर बढेको उनको भनाइ छ।

त्यस्तै केही समय अघिसम्म प्रदेश अस्पतालले कोरोना संक्रमितको बिरामीको चापलाई थेग्न नसकेर अस्पतालले नयाँ बिरामीको भर्ना नलिने भन्दै सूचना जारी गरेको थियो।

तर हाल कोरोना संक्रमितको डिस्चार्ज हुने संख्यामा वृद्धि भए सँगै बेड खाली भएका छन्। भने स्वास्थकर्मीलाई राहतसमेत मिलेको छ।

प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न नसकेको भन्दै संघअन्तर्गत लैजाने प्रयास पनि भए। यद्यपि, प्रदेश सरकारले पछि चन्दा उठाएर भए पनि अस्पताल आफैले सञ्चालन गर्ने भन्दै दाबी गरेको छ।

अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट सञ्चालन र नेपालगञ्जबाट दैनिक एक सय अक्सिजन सिलिन्डर आपूर्ति गर्दा  पनि अक्सिजन खोसाखोस हुने अवस्था थियो। तर, ६/७ दिन यता बिरामीको चाप घटेसँगै अस्पतालमा केही सहज अवस्था देखिएको अस्पताल अस्पतालले जनाएको छ।

प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डा. पौडेलका अनुसार हाल अस्पतालमा ६/७ दिनयता ५ वटा जति बेड खाली भएका छन। भने दैनिक अस्पतालमा आउने संक्रमितको संख्यामा पनि कमी आएको पौडेल बताउँछन्।

केही समय अघिसम्म दैनिक ८ देखि १० जनासम्म जटिल समस्याका बिरामी आउने गरेको उनको भनाइ छ। अहिले दैनिक ३ देखि ४ जनासम्म मात्रै अस्पतालमा कोरोना बिरामी भर्ना हुने गरेका छन्।

नेपालगञ्ज लगायतमा कोरोना संक्रमित घटेपछि अक्सिजन आपूर्तिमा पनि सहज भएको उनले बताए। ‘पहिला नेपालगञ्जमा समेत खपत धेरै हुने गर्दा यहाँको आपूर्तिमा समस्या हुन्थ्यो,’ पौडेलले भने, ‘अहिले त्यता पनि संक्रमितको संख्या घटेपछि अक्सिजन चाहिने बिरामीको संख्या पनि घटेको छ र ग्यास आपूर्तिमा सहज भएको छ।’

अस्पताल स्रोतका अनुसार पछिल्लो समय सुगम क्षेत्रको तुलनामा दुर्गम क्षेत्रबाट बढी संख्यामा बिरामीहरू आउने क्रम बढेको छ। अहिले गाउँगाउँमा कोरोना संक्रमण पुगेको अवस्था छ भने वीरेन्द्रनगरमा संक्रमणको दर केही घटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.