सरकारको ध्यान सुरक्षाभन्दा भत्तामा केन्द्रित

|

सुर्खेत : कर्णाली प्रदेश सरकारले कुनै नयाँ कामको लागि विभिन्न योजना बनाई निर्देशन दिए पनि व्यवहारमा कार्यान्वयन भने हुने सकेका छैनन्। तीन महीनाअघि मात्रै राउटे समुदायका तीन जना मुखिया भोक लाग्यो राहत चाहियो भन्दै मुख्यमन्त्री कार्यालय आए।

उनीहरू तीनै जनाले मुख्यमन्त्रीसँगै भेट गरेर खानाको व्यावस्थासँगै बास बस्नको लागि टहरा बनाउन पालको समस्या भएको भएको भन्दै पूरा गरिदिन माग गरे।

राउटे मुखियाको गुनासा सुनिसकेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनीहरूको समस्या तत्काल नै समाधान हुने आश्‍वासनसमेत दिए।

शाहीले राउटेहरूको परिवारमा धेरै मदिरा सेवन हुने भएकाले र राउटेको ज्यान गएको र मदिरा न्यूनीकरणसँगै अन्य सुरक्षाको लागि प्रहरी टोली खटाउने भन्दै कर्णालीका डिआइजी वसन्तकुमार पन्तलाई निर्देशन दिए।

मुख्यमन्त्री शाहीले डिआइजी पन्तलाई फोन गर्दै ‘राउटे बस्तीमा बाहिरका नागरिकलाई प्रवेश गर्न नदिन र बाहिरको मदिरा सेवनमा रोक लागाउनका साथै उनीहरूले आफैँ बनाएको रक्सी मात्रै सेवन गर्नको लागि निगरानी राख्न प्रहरीसमेत परिचालन गर्नुहोस्’ भन्दै निर्देशन दिएका थिए।

उक्त निर्देशन दिएको चार महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसक्नुको गतिलो उदारहण हो राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार। आइतबार एक भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो।

​जंगलका फिरन्ते जीवन बिताउँदै आएका नेपालकै लोपउन्मुख जात राउटे हाल गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा अस्थायी टहार बनाए बसेका राउटे समुदायका दुई युवती दुर्व्यवहारमा परेकी हुन्।

गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुनले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाइ भिडियो बनाएर सामाजिक सन्जालमा आफैँ पोष्ट गरेका थिए। 

भिडियोमा होटल सञ्चालक पुनले राउटे युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ। सामाजिक सन्जालमा भिडियो भाइरल भएसँगै चौतर्फी दबाब बढेपछि प्रहरीले तीनजनालाई शनिबारै पक्राउ गरिसकेको छ।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरूलाई दबाबमा पारेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत कुरा हो,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौं।’

दुर्व्यवहार बढ्दै

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरू माथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ। उनीहरूलाई जबरजस्ती फोटो, भिडियो खिच्न लगाउने र अनावश्यक सनसनीपूर्ण हेडलाइन राखेर पैसा कमाउने ध्याउन्नमा युट्युबरहरू छन्।

पछिल्लो समयमा टिकटक बनाउनेदेखि ‘रमाइलो’ गर्ने बहानामा अन्य समुदायका युवाहरू राउटे बस्तीमा प्रवेश गर्ने क्रम बढेको छ।

यौन दुर्व्यवहार आरोपमा तीन युवा पक्राउ

त्यस्तै, सुर्खेत प्रहरीले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीनजना युवालाई पक्राउ गरेको छ।

गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक बिनोद पुन पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले उनीहरूलाई पक्राउ गरी भेरीगंगा नगरपालिका इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको बताए।

 उपरीक्षक घर्तीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट दीपक मल्लको कमाण्डमा अनुसन्धान टोली खटिएको र थप अनुसन्धान समेत भइरहेको बताए।

उनीहरूलाई अनुसन्धानको परिणामअनुसार मात्रै कारबाही अगाडि बढाइने घर्तीको भनाइ छ।

सरकारको ध्यान सुरक्षाभन्दा भत्तामा केन्द्रित

यता, सरकारको ध्यान सुरक्षाभन्दा भत्तातिर मात्रै केन्द्रित हुने गरेका छ। राउटेलाई दुःख सुख पर्दा सहयोग गर्नेदेखि सहयोग जुटाउनेसम्मको काम गर्दै आइरहेका राउटे अभियन्ता नगेन्द्र उपाध्याय सरकारकै लापरबाहीका कारण दुर्व्यवहारका घटना भइरहेको बताए।

‘सरकारले सबै ध्यान भत्तामै केन्द्रित गरेको पाइयो। उनीहरूको स्वास्थ्य तथा सुरक्षामा ध्यान नदिएका कारण समस्या आएको हो,’ उनी भन्छन्, ‘कम्तीमा मुख्यमन्त्रीको निर्देशनपछि प्रहरीले सुरक्षा दिन सकेको भए यस्तो अवस्था आउँदैनथ्यो।’

उनले सरकारले राउटे उत्थान प्रतिष्ठान बनाउने भने पनि त्यो कागजमा नै सीमित रहेको बताए। ‘मुख्यमन्त्री शाही र सरकारका अन्य मन्त्रीहरूले प्रतिष्ठान गठन गर्ने, उनीहरूको सुरक्षामा ध्यान दिने, उनीहरूलाई राम्रो पाल दिने, स्वास्थ्यकर्मी खटाउने जस्ता आश्वासन बाँडेका छन्,’ उपाध्याय भन्छन्, ‘तर पूरा भएका छैनन्। भत्ता बढाएर मात्रै राउटे समूदायको संरक्षण गर्न सकिँदैन।’ नेपालमा राउटेको जनसंख्या एकसय ३८ छ।

प्रतिव्यक्ति ६ हजार भत्ता

उनले भत्ताभन्दा पनि उनीहरूको अधिकार, बाह्य व्यक्ति प्रवेश निषेध, राहत वितरण एकद्वार नीतिबाट गर्नुपर्ने जस्ता सुझाव सरकारलाई दिइएको भए पनि नटेरेको बताए। राउटे समुदायले आगामी आर्थिक वर्षबाट प्रतिव्यक्ति ६ हजार पाउनेछन्। चालु आर्थिक वर्षमा उनीहरूले संघीय सरकारबाट तीन हजार र प्रदेशबाट दुई हजार गरी पाँच हजार पाइरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.