पुराना छाड्दै नयाँको साथ लिने रणनीति

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक बिहीबार(आज) मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। 

नेपालको संविधान धारा ७६ को उपधारा ९ अनुसार २५ जनाको मन्त्रिपरिषद रहने व्यवस्था भएअनुरुप बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री थपेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।

एमाले र माओवादी मिलेर बनेको साविक नेकपाको एकता भंग भएपछि अल्पमतमा रहेको प्रधानमन्त्रीले जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थनका साथ मन्त्रिपरिषदलाई बिस्तार गरेर यही जेठको २१ गते १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

बिहीबार ओलीले गृह मन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चारमा पूर्वमाओवादी नेतृ नैनकला थापा, कृषिमा ज्यावालाकुमारी साह, वनमा नारदमुनि राना, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडि मन्त्री र वन राज्यमन्त्रीमा आशा कुमारी विक र विना विभागीय मन्त्रीमा मोहन बाँनिया नियुक्त गरेका छन्।

गृहमा खगराज 

प्रधानमन्त्री ओलीले निकै महत्वपूर्ण र शक्तिशाली गृह मन्त्रालयमा कास्कीका खगराज अधिकारीलाई जिम्मेवारी सुम्पेका छन्। अधिकारी कास्की-१ बाट चुनाव जितेर आएका  हुन्।

यसअघि उनले एमाले र कांग्रेसको आलोपालो सरकारको सहमति भएको बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका थिए। सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा ओलीले उनलाई सरकारमा प्रवेश गराएका थिए।

अखिल पाचौंको विद्यार्थी राजनीतिबाट आएका अधिकारीले २०५१ सालको उप-निर्वाचनमा तारानाथ रानाभाट र पछि यज्ञबहादुर थापालाई पराजित गरी सांसद भएका हुन्। त्यसो त गृह मन्त्रालयमा प्रधानमन्त्री ओलीको विश्वासपात्रका रुपमा चर्चित युवा नेता भक्तपुरका सांसद् महेश बस्नेतको पनि चर्चा थियो।

सञ्चारमा थापा

नेकपाको एकता भंग भएपछि एमाले प्रवेश गरेको पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। उनी माओवादी द्वन्द्वकालमा नेतृत्वदायी भूमिकामा थिइन्।उनले महिला आयोगको अध्यक्षको रुपमा पनि काम गरिसकेकी छन्।

 श्रीमती नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन्। सर्वोच्च अदालतले बादलसहित माओवादी छाडेको नेतालाई मन्त्रीको रुपमा काम  नगर्न आदेश दिएपछि बादलकी श्रीमतीलाई अघि सारिएको प्रस्ट बुझिन्छ। 

माधव छाडेको पहाडी 

नेकपा एमालेभित्र विवाद चर्कंदो छ। ओली र नेता माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिब टर्दै गइरहेको छ। तर, ओलीले माधव समूह छाडेर आएका गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

सिन्धुलीबाट चुनाव जितेको सांसद् पहाडी एमाले नेता योगेश भट्टराईको नजिकका मान्छिन्। पार्टी विभाजनको विन्दुमा रहेका बेलामा नेता भट्टराई तटस्थ रहेर पार्टी एकताको पक्षमा लागिरहेका छन्। उनी निरन्तर बालुवाटार संवादमा जोडिरहेका छन्। यसअघि एमाले महासचिव ईश्वर पोखरेलसँग नेता भट्टराई र पहाडीले भेटवार्ता गरेका थिए। 

महन्थको लिस्टमा नअटेका यादव पनि

पूर्वराजपा समूहबाट महन्थ ठाकुरकोे लिस्टमा नपरेका राजकिशोर यादवलाई पनि उद्योग मन्त्रीका रुपमा ओली सरकारमा प्रवेश पाएका छन्। उनीसँग यसअघि सञ्चार मन्त्रालय सम्हालेको अनुभव छ।

यसअघि जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री पर्दा समेत सरकारमा समावेश नभएका यादवले सरकारमा प्रवेश पाएका हुन्। राजपामा रहँदा सिरहा-४ बाट यादवले चुनाव जितेका थिए। यादवले मधेश जनाधिकार फोरमबाट पहिलोपटक संविधान सभाको चुनाव जितेका थिए। 

एक दर्जन मन्त्री प्रदेश २ का

दुई तिहाई सहित कम्युनिष्ट सरकारको प्रधानमन्त्री बनेको ओली सरकारमा सीमित संख्यामा चुनाव जितेका एक दर्जन मधेशकेन्द्रित दलका नेताहरु सहभागी छन्। पार्टीभित्र एकपछि अर्को गर्दै अरुलाई पेल्दै अघि बढ्ने ओली प्रवृत्तिले ओली अहिले अल्पमतमा रहेको उनकै दलका नेता र विपक्षीहरुले बताउँदै आएका छन्।

पार्टी भित्रैबाट नेता नेपाल समूहले विपक्षी मोर्चाबाट नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर दौडिरहेका छन्। 

हालको जसपा पहिलेको राजपा समूहका उपप्रधानसहित शहरी विकास मन्त्रालयको रुपमा राजेन्द्र महतोले सरकारमा प्रवेश गरेका छन्। नेता महतोसहित एमालेका उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठबाहेक जसपाका शिक्षामन्त्री शरतसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, उद्योगमन्त्री राजकिशोर यादव, भूमि व्यवस्थामन्त्री लक्ष्मणलाल कर्ण, श्रम तथा रोजगार मन्त्री विमलप्रसाद श्रीवास्तव, पर्यटनमन्त्री उमाशंकर अरगरिया, महिला तथा बालबालिका मन्त्री चन्दा चौधरी, युवा तथा खेलकुद एकवाल मियाँलगायत दुई राज्यमन्त्री समेत प्रदेश २ का छन्। 

चार जना मात्रै निरन्तर, साथ दिनेलाई मन्त्री

प्रधानमन्त्री ओलीले एमालेका चार मन्त्रीलाई मात्रै निरन्तरता दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलसहित ४ जनालाई निरन्तता दिएका हुन्। अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन्। यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठलाई मात्रै निरन्तरता दिए। 

ओलीले उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका महासेठ २०७४ मा भौतिक पूर्वाधार मन्त्री बनेका थिए। तर, ओलीले २०७६ मा महासेठलाई हटाएर नेम्वाङलाई ल्याएका थिए। उनलाई अझै निरन्तरता दिइएको छ। ओलीले नेता नेपाल समूह छाडेपछि गत पुसमै महासेठकी श्रीमती जुली महतोलाई मन्त्री बनाएका थिए।

समानुपातिक सांसद श्रीमती महतोलाई ओलीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिएका थिए। तर, ५ महिनापछि पदमुक्त भएकी छन्।  महासेठ दम्पती गैह्रआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा ना चलेका धनाढ्य उपेन्द्र महतोका बहिनी-ज्वाइँ हुन्। 

यस्तै, नेता नेपाल समूह छाडेर आफूलाई साथ दिएका शेरबहादुर तामाङलाई यसअघि नै स्वास्थ्य मन्त्री बनाइसकिएको छ। उनी यसअघि नेपाल समूहमा रहेका बेला विवादास्पद अभिव्यक्ति दिँदा कानुन मन्त्रीबाट हटाइएका थिए। 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा आफूलाई साथ दिएका शेरबहादुरलाई पार्टीको केन्द्रीय कार्यालयको कार्यालय सचिवको समेत जिम्मेवारी दिएका थिए। 
शेरबहादुरसँगै गुट फेरेकी उनकी श्रीमती उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्री भइसकेकी छन्।

तामाङ सिन्धुपाल्चोक-२ बाट निर्वाचित सांसद् हुन् भने उषाकला प्रदेश १ समानुपातिक सांसद् हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.